लेखनाथ, जेठ ६ गते । साहित्यकार एवं राजनीतिज्ञ मोहनविक्रम सिंहलाई २०८२ सालको ‘गोकुल वाङ्मय’ पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गमले सञ्चालन गर्ने यो पुरस्कारको राशि ४० हजार रुपियाँ रहेको छ ।
यही जेठ ९ गते शनिबार ९७ औँ गोकुल जयन्तीका अवसरमा पोखरामा हुने विशेष समारोहमा पुरस्कार प्रदान गरिने जानकारी संस्थाका सचिव नारायण मरासिनीले दिनुभयो । विसं १९९२ मा प्युठानको ओखरबोटमा जन्मिनुभएका सिंहका कविता, काव्य, समालोचना र आख्यानका गरी एक दर्जन कृति प्रकाशित छन् । समाजवादी यथार्थवाद धारामा साधना गर्ने स्रष्टालाई प्रोत्साहन गर्न २०५२ सालदेखि यो पुरस्कार प्रदान गर्न थालिएको हो ।
सङ्गमका कार्यसमिति सदस्य शोभाकान्त गौडेलको संयोजकत्वमा गठित डा. कृष्णराज अधिकारी र डा. यदुनन्दन उपाध्याय सदस्य रहेको तीन सदस्यीय समितिले गरेको सिफारिसबमोजिम सिंहलाई पुरस्कृत गर्न लागिएको हो । सिंह छ दशकदेखि प्रगतिवादी साहित्यमा क्रियाशील हुनुहुन्छ ।