गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ६ गते । सङ्ग्रहालयको दिगो विकास, संरक्षणका लागि स्थानीय समुदायसँगको सहकार्य र विपत् पर्दा सम्पदाको संरक्षण÷व्यवस्थापन गर्न सङ्ग्रहालयकर्मीलाई तालिम दिनुपर्ने आवश्यकता औँल्याइएको छ । हनुमाढोका दरबार सङ्ग्रहालयले इन्टरनेसनल काउन्सिल अफ म्युजियमसँगको सहकार्यमा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी सङ्ग्रहालयकर्मीले आफ्ना अनुभव सुनाउँदै सो कुरा बताएका हुन् ।
इन्टरनेसनल काउन्सिल अफ म्युजियम नेपालका सदस्य डा. पशुपति न्यौपानेले विश्वभर नै मानिस जात, धर्म, वर्ग, क्षेत्र, आर्थिक, सामाजिकलगायत विविध कारणले बाँडिरहेको, विभेद भइरहेको अवस्थामा सङ्ग्रहालयले सबैलाई एकै सूत्रमा बाँध्न प्रेरणा दिने भएकाले सङ्ग्रहालयको महìव अनन्तकालसम्म जारी रहने विचार व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख काजीमान प्याकुरेलले हनुमानढोका दरबार सङ्ग्रहालयमा विनाशकारी भूकम्पबाट क्षति पुगेका संरचनाबाट सम्पदा निकालेर संरक्षण गर्न स्थानीय अभियन्ताको सहयोगले सम्भव भएको बताउनुभयो ।
उहाँले हनुमानढोका दरबार र त्यस क्षेत्रवरपरका धार्मिक मठमन्दिरदेखि काष्ठमण्डपलगायतका संरचना १५ औँ शताब्दीदेखि खुला सङ्ग्रहालयका रूपमा चर्चित भएको स्मरण गर्दै २०३३ सालदेखि सञ्चालनमा रहेका हनुमानढोका दरबार सङ्ग्रहालयमा अझै प्रदर्शनीमा राख्न बाँकी धेरै सम्पदा भण्डारमा थन्किएर रहेको बताउनुभयो ।
राष्ट्रिय सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले विनाशकारी भूकम्प, जेनजी आन्दोलन हुँदा पनि स्थानीयको सहयोगले सङ्ग्रहालयका मूर्त÷अमूर्त सम्पदा जोगाउन सहयोग मिलेको बताउँदै कोरोना महामारीपछि राष्ट्रिय सङ्ग्रहालयले ‘भर्चुअल टुर’ को व्यवस्थापन गरेको बताउनुभयो । प्राकृतिक विज्ञान सङ्ग्रहालयका प्रमुख विमला शाक्यले अन्य सङ्ग्रहालयभन्दा भिन्न वनस्पति र प्राणीको अवशेषलगायतका सामग्रीको सङ्कलन, प्रदर्शन गरिने प्राकृतिक विज्ञान सङ्ग्रहालयको छुट्टै महìव रहेको बताउनुभयो । उहाँले यस सङ्ग्रहालयमा दक्ष जनशक्तिको अभाव हुने चुनौती पनि रहेको बताउनुभयो । थारू सङ्ग्रहालय दाङका व्यवस्थापक शान्ता चौधरीले समुदायसँग सहकार्य गरेर व्यवस्थापन गरिएको यस सङ्ग्रहालयले नेपालका सबै जिल्लामा रहेका थारू समुदायको मौलिक कला, परम्परा, संस्कृतिमा प्रयोग गरिने सामग्री, नृत्य, खानाका परिकारलगायत विविध मौलिक पक्षको जगेर्ना गर्न सफल भएको बताउनुभयो ।
त्यसै गरी अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले हिमालका कारण पनि नेपाललाई विश्वलाई चिनेको र पर्वतारोहणमा प्रयोग हुने सामग्री, कीर्तिमानी हिमाल आरोहीको जीवनीलगायत पर्वतारोहण क्षेत्रको समग्र जानकारी पस्कने सङ्ग्रहालयले आन्तरिक बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको बताउनुभयो । सो अवसरमा तारागाउँ नेक्स्टका निर्देशक रोशन मिश्रले जेनजी आन्दोलनमा हायात होटेलमा आगजनी गर्दा सो होटेलको चौथो तलामा रहेको तारागाउँ नेक्स्ट म्युजियममा राखिएका सम्पदा खराब अवस्थामा पुगेको जानकारी दिनुभयो । उहाँले सम्पदा, संस्कृतिको जगेर्ना गर्ने स्थानको सुरक्षाका लागि राज्यले राम्रो एकीकृत नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।