• ६ जेठ २०८३, बुधबार

प्रसारण लाइन अन्तिम चरणमा

blog

प्रसारण लाइन अन्तर्गत दाङको झिङ्नीमा गाडिएका विद्युत् टावर । तस्बिर : लीलाधर वली

घोराही समाचारदाता 

घोराही, जेठ ६ गते । दाङको घोराही–माडीचौर १३२ केभी प्रसारण लाइन आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । रोल्पालगायतका पहाडी जिल्लामा विद्युत् विस्तारसँगै त्यस क्षेत्रमा उत्पादन हुन थालेको विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी निर्माण सुरु भएको प्रसारण लाइनको करिब ८० प्रतिशत काम पूरा भएको हो । 

घोराही–माडीचौर १३२ केभी प्रसारण लाइन अन्तर्गत दाङको घोराही उपमहानगरपालिका–३, झिङ्नीदेखि रोल्पाको सुनील स्मृति गाउँपालिका–२ स्थित खुग्रीसम्मको करिब ३८ किलोमिटर लामो प्रसारण लाइन अन्तर्गत सबस्टेसनसँगै विद्युत् टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रसारण लाइन अन्तर्गत गाड्नुपर्ने १२१ वटा विद्युत् टावरमध्ये १०१ वटा टावर निर्माण गरेर तार तान्ने काम भइरहेको घोराही–माडीचौर १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख बमबहादुर बुढाथोकीले जानकारी दिनुभएको छ ।  

उहाँका अनुसार बाँकी टावर निर्माण पनि छिट्टै अघि बढ्ने छ । “जङ्गल क्षेत्रबाहेकको ठाउँमा प्रसारण लाइन अन्तर्गत विद्युत् टावर निर्माण गरेर तार तान्ने काम भइरहेको छ,” आयोजना प्रमुख बुढाथोकीले भन्नुभयो, “आयोजना अन्तर्गत घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिका अन्तर्गतको जङ्गल क्षेत्रमा देखिएको समस्या समाधान गरेर विद्युत् टावर निर्माणसँगै तार तान्ने काम अघि बढ्ने तयारीमा छौँ, त्यसका लागि पुनः वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयार गरेर मन्त्रालय पठाएका छौँ ।” जङ्गल क्षेत्रमा विद्युत् टावर निर्माणका लागि रुख काट्नुपर्ने भएका कारण केही ढिलाइ भएको हो । 

नेपाल सरकारको ४० प्रतिशत र एसियाली विकास बैङ्कको ६० प्रतिशत गरेर करिब एक अर्ब ५० करोड रुपियाँको लगानीमा निर्माण भइरहेको प्रसारण लाइन अन्तर्गत रोल्पाको सुनील स्मृति गाउँपालिका–२ स्थित खुग्रीमा सबस्टेसन निर्माण भइरहेको छ । सबस्टेसन निर्माणसँगै स्टाफ क्वाटर, गार्ड हाउस, कन्ट्रोल बिल्डिङलगायतका भौतिक पूर्वाधार निर्माण भइरहेको आयोजनाले जनाएको छ ।  

आव २०८३/८४ मा काम सम्पन्न गर्ने गरी घोराही–माडीचौर १३२ केभी प्रसारण लाइनको काम आव २०७८/७९ मा सुरु भएको थियो । आयोजना निर्माण सम्पन्न भएपछि रोल्पा, रुकुमलगायतका ग्रामीण ठाउँमा विद्युत् विस्तारसँगै रोल्पा, रुकुममा उत्पादन हुन थालेको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्यसहित निर्माण धमाधम भइरहेको छ । 

जग्गा प्राप्तिका कारण निर्माण सुरु हुन ढिलाइ भए पनि पछिल्लो समय धमाधम काम भइरहेको आयोजना प्रमुख बुढाथोकीको भनाइ छ । उहाँका अनुसार नेपाल विद्युत् प्राधिकरणले अहिले घोराही–माडीचौर आयोजना अन्तर्गत निर्माण गरिरहेको छ भने रोल्पाको माडीचौर हुँदै रुकुमपश्चिमको बाँफीकोट जोड्ने गरी सर्भेको काम पनि गरिरहेको छ ।