• १२ साउन २०८१, शनिबार

कास्कीका पाँच सहकारीका बचतकर्ताको तीन अर्ब जोखिममा

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, पुस ११ गते । कास्कीका पाँच सहकारीमा समस्याग्रस्त भएपछि बचतकर्ताको करिब तीन अर्ब रकम जोखिममा परेको छ । ती सहकारीमा बचतकर्ताको दुई अर्ब त्रियासी करोड सैँतिस लाख एकहत्तर हजार जोखिममा परेको हो । 

यी सहकारीका सञ्चालक विरुद्ध तीन जार छ सय बचतकर्ताले प्रहरीमा उजुरी गरेका छ । शिव शिखर बहुउद्देश्यीय सहकारी, इमेज बचत तथा ऋण सहकारी, सूर्य दर्शन बचत तथा ऋण सहकारी, बलिदानी बचत तथा ऋण सहकारी संस्था र मित्र मिलन बचत तथा ऋण सहकारीका बचतकर्ता र सेयर सदस्यले कर्मचारी र सञ्चालकहरूले ठगेको भन्दै उजुरी दिएका हुन् । 

शिव शिखरका कर्मचारी र सञ्चालक गरी ११ जनाविरुद्ध एक हजार एक सय ३९ जनाले उजुरी दर्ता गराएका छन् । इमेजका १५ जनाविरुद्ध पाँच सय २४ जनाले, सूर्य दर्शनका १९ जनाविरुद्ध एक हजार ३४ जनाले, बलिदानीका १५ जनाविरुद्ध एक सय ९८ जनाले र मित्र मिलनका ३२ जनाविरुद्ध ७ सय १४ जनाले उजुरी दिएका हुन् । 

यसरी उजुरी परेकाहरूलाई पक्राउ पुर्जी जारी भएको छ भने पक्राउ पुर्जी जारी भएकाहरू धेरैजसो फरार छन् । शिव शिखरका पूर्व अध्यक्ष केदारनाथ शर्मा, व्यवस्थापक लीलानाथ गौतम, सदस्य अमिसराज भण्डारी र अर्का सदस्य पुष्कर मल्ल पुर्पक्षका लागि कारागार चलान हुँदा बाँकी अभियुक्त भने फरार छन् । 

सूर्य दर्शन बचत तथा ऋण सहकारीका १९ जनालाई पक्राउ पुर्जी जारी भएको छ । कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामा रहँदा बाँकी सबै फरार छन् । यस्तै, इमेज बचत तथा ऋण सहकारीका सञ्चालक र कर्मचारी गरी १५ जनालाई पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये अध्यक्ष चित्रबहादुर भण्डारी, सदस्य विमला गुरुङ, लेखा समिति संयोजक शक्ति किसान, लेखा समिति सदस्यहरू भूमि भण्डारी, निशा कार्की र विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ परेकामध्ये दुई जना पुर्पक्षका लागि थुनामा जाँदा चार जना धरौटीमा रिहा भएका छन् । बाँकी नौ जना भने फरार छन् । 

बलिदानी बचत तथा ऋण सहकारी संस्थाका १५ जना विरुद्ध पक्राउ पुर्जी जारी भएकोमा अध्यक्ष अजय श्रेष्ठ, उपाध्यक्ष राजन लम्साल, कोषाध्यक्ष सुवर्णमान नकर्मी, सदस्य डिल्लीराम सिग्देल र लेखा समिति सदस्य सचिना थापालाई प्रहरीले पक्राउ परेको थियो । तीमध्ये तीन जना पुर्पक्षका लागि थुनामा र दुई जना धरौटीमा छुटेका छन् । बाँकी १० जना फरार छन् ।

मित्र मिलन बचत तथा ऋण सहकारीको ठगी अभियोगमा ३२ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तीमध्ये अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धि सागर पौडेललाई प्रहरीले पक्रेको छ ।

बाँकी २७ जना फरार छन् । पक्राउ परेकामाथि अनुसन्धान र फरारहरूको खोजी भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो । मित्र मिलन ठगीमा फरार हुनेमा पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्ष दीपक सुवेदीसम्म हुनुहुन्छ ।