• १३ साउन २०८१, आइतबार

सुनकोशी–मरिण डाइभर्सन

मधेशका किसान उत्साहित

blog

सरकारले मधेश प्रदेशका पाँच जिल्लामा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यसहित अगाडि बढाएको सुनकोशी–मरिण डाइभर्सनबाट सिँचाइ सुविधा पाउनेमा यहाँका किसान आशावादी देखिएका छन् । 

सुनकोशीको पानी मरिण खोलामा झारेर सर्लाहीको बागमतीस्थित नदीमा ल्याउने सरकारको महत्वाकाङ्क्षी बहुउद्देश्यीय आयोजनाप्रति यहाँका किसान उत्साहित देखिएका हुन् । सिँचाइको समस्या रहेको सर्लाही, रौतहट, बारा, महोत्तरी र धनुषा जिल्लामा सुनकोशीबाट मरिण खोला हुँदै बागमतीमा ल्याएर झारिने पानी किसानको खेतखेतमा पुर्‍याउने लक्ष्य छ । 

अन्नको भण्डार रूपमा चिनिने यी जिल्लामा सिँचाइको अत्यधिक समस्या छ । सरकारले अगाडि बढाएको यो आयोजना सफल भए सिँचाइको समस्या समाधान हुने आशा यहाँका किसानमा देखिन्छ । सिन्धुली र रामेछापको सिमाना खुर्कोट आसपासमा बाँध बनाएर पानी डाइभर्सन गरी पहाडमा सुरुङ बनाएर मरिण खोलामा झारेर बागमतीसम्म ल्याउने सरकारको निर्धारित योजना छ । सिँचाइ सुविधा पु¥याउने भनिएको सर्लाही, रौतहट, बारा, महोत्तरी र धनुषाको दक्षिणी क्षेत्रमा डिप बोरिङ, पम्पसेटबाट मुस्किलले सिँचाइ हुने गरे पनि उत्तरी सुक्खा भेगमा सिँचाइको अत्यधिक समस्या छ । 

पाँचै जिल्लाका सुक्खा भेगमा आकासे वर्षा कुरेर खेती लगाउनुपर्ने बाध्यता छ । सुनकोशी–मरिण डाइभर्सन आयोजनामार्फत आफ्नो क्षेत्रसम्म सिँचाइ सुविधा आउने जानकारी पाएका किसान सिँचाइ सुविधा पाउनेमा आशावादी छन् । सर्लाहीको बागमती नगरपालिका–१, मिलन चोकका किसान शिवहरि सुवेदीले तल्लो भेगमा सिँचाइ रहे पनि आफूहरूको चुरे फेदीका सुक्खा क्षेत्रमा सिँचाइको अत्यन्त समस्या रहेको गुनासो गर्नुभयो । “सिँचाइ नहुँदा हाम्रो क्षेत्रमा प्रत्येक बाली लगाउने बेला आकासे वर्षाको भर पर्नु पर्छ,” स्थानीय अगुवा किसान सुवेदीले भन्नुभयो, “सुनकोशी–मरिण डाइभर्सन बनेपछि पाँच जिल्लामा पानी पुग्ने भनिएको छ, हाम्रोतिर पनि पानी आउने आशामा छौँ ।”

सिँचाइ सुविधा नभएकै कारण यहाँका खेतीयोग्य जमिन बाँझै बस्ने गरेका छन् । केही वर्षदेखि आकासे वर्षा कम हुँदा धान, मकै, गहुँलगायतका बालीको उत्पादनमै असर परेको छ । सिँचाइको समस्याले गर्दा यहाँका किसानले सुक्खा सहने बाली लगाउन थालेका छन् । आकासे वर्षा नै कम भएपछि यो वर्ष चाँडो पाक्ने र सुक्खा सहन सक्ने धान लगाएको सर्लाहीको कविलासी नगरपालिका–७, सिर्सियाका किसान हर्षनारायण झाले बताउनुभयो । 

झाको जस्तै सिँचाइको अभावबाट पिल्सिएका किसान सुनकोशी–मरिण डाइभर्सन आयोजनाको नाम आउनासाथ यहाँसम्म सुनकोशीको पानी आउने र खेतबारी पटाउन पाउने आसमा छन् । महोत्तरीको बर्दीबास नगरपालिका–११ का किसान नीरनाथ गेलाल सुनकोशी–मरिण आयोजनामार्फत आफूहरूको ठाउँसम्म प्रशस्त पानी आइपुगे किसानले ठुलो राहत महसुस गर्ने बताउनुभयो । कृषकसमेत रहनुभएका लालबन्दी नगरपालिकाका पूर्वनगर प्रमुख मानबहादुर खड्का सरकारको योजना अनुसार तराईसम्म सुनकोशीको पानी आए वर्तमान कृषि क्षेत्रले काँचुली फेर्ने बताउनुहुन्छ । “कृषि उत्पादनमा वर्षा र सिँचाइले ठुलो प्रभाव पारिरहेको छ,” उहाँले भन्नुभयो, “पानी नभएर पूरै खेती बाली प्रभावित हुन थालेको अवस्थामा सुनकोशीको पानी यहाँ ल्याउन सकेँ किसानको काँचुली फेरिने निश्चित छ ।” 

सिँचाइको माग गर्दै विभिन्न समयमा फरक फरक प्रकृतिका आन्दोलन गर्दै आइरहेका तराईका किसानलाई सरकारले सुनकोशीको पानी उपहार दिन सके कृषि उत्पादनमा राज्यलाई ठुलो टेवा पुग्ने खड्काले विश्वास व्यक्त गर्नुभयो । पानी ल्याउने भनिएको पाँच जिल्लाका किसानले विशेष गरी चुरेफेदी र पूर्वपश्चिम राजमार्ग आसपासमा सिँचाइको अझ बढी समस्या रहेकाले यस क्षेत्रलाई पनि सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सिँचाइ कार्यक्रमले समेटेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।     

Author

जनार्जन खत्री