• २५ वैशाख २०८१, मङ्गलबार

विदेश सम्बन्धमा नवीन आयाम

blog

काठमाडौं, पुस १० गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक प्रधानमन्त्री भएको एक वर्ष पुगेको छ । यस अवधिमा प्रचण्ड नेतृत्वको सरकार दुई छिमेकी देश गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सफल भयो।

कोरोनाबाट थलिएको मुलुकलाई द्विपक्षीय र बहुपक्षीय सहयोग र सद्भाव जुटाउन सरकारको विशेष  रह्यो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमणले नेपालको चर्चा विश्वभर भयो । जलवायु परिवर्तनले हिमालमा देखिएको नकारात्मक प्रभावलाई विश्वमञ्चमा राख्न नेपाल सफल रह्यो । 

यस्तै, महासचिव गुटेरसको लुम्बिनी भ्रमणले नेपालको पर्यटन विकासमा थप टेवा पुग्ने निश्चित छ । नेपालको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन गुटेरसको नेपाल भ्रमण निकै उपयोगी बन्यो । प्रधानमन्त्रीस्तरमा भएका उच्चस्तरीय भ्रमणले नेपालको उपस्थिति हरेक मञ्चमा प्रभावकारी देखियो । द्विपक्षीय सहयोग आदान प्रदान हिसाबले भ्रमण फलदायी रह्यो । 


-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठ १७ गतेदेखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्नुभयो । भ्रमणको अवसरमा सात वटा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोही अवसरमा विभिन्न ६ वटा परियोजनाको उद्घाटन र शिलान्यास सम्पन्न भएका छन् ।

-प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्न २०८० भदौ ३० गते अमेरिका पुग्नु भयो । विश्व शान्ति र स्थायित्व कायम गर्नका लागि नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गर्नुहुँदै उहाँले विश्व समुदायले भोगिरहेको चुनौतीलाई समाधानका लागि नेतृत्वदायी भूमिका खेल्ने उल्लेख गर्नुभयो । संयुक्त राष्ट्रसङ्घको समयानुकूल सुधार तथा सुदृढीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सभालाई असोज ४ गते सम्बोधन गर्नुभयो ।

-अमेरिकाबाटै प्रधानमन्त्री ‘प्रचण्ड’ चीनको भ्रमणमा जानुभयो । असोजको पहिलो साता भएको चीन भ्रमणमा राष्ट्रपति सी चिन फिङसँग द्विपक्षीय भेटवार्ता भयो । सडक, पावर ग्रिड, शिक्षा, विज्ञान तथा नवीनता, कृषि, पशुपन्छी, मत्स्य पालन, हरित तथा न्यून कार्बन, डिजिटल अर्थतन्त्र आदि गरेर १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

-प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न कोप–२८ मा सहभागी हुनुभयो । उहाँले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २०८० मङ्सिर १३ देखि १७ गतेसम्म चलेको कोप–२८ सहभागी भएर सम्बोधन गर्नुभएको हो ।  नेपालले आयोजना गरेको हिमालयसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनबाट नेपाल जस्ता पर्वतीय मुलुकले भोग्नुपरेका समस्यालाई अन्तर्राष्ट्रिय समुदायका सामु प्रस्तुत गर्नुभयो । 

सोही कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरससमेत सहभागी हुनुभई जलवायु परिवर्तनबाट नेपालको हिमाली क्षेत्रमा परेको प्रभाव र त्यसबाट नेपाललगायत अन्य देशको समग्र विकास तथा मानव सभ्यतामाथि गम्भीर चुनौती आइपरेको प्रसङ्ग उठाउनु भएको थियो । उहाँले विश्व समुदायको साझा पहलबाट समाधानको बाटो पहिल्याउनु पर्नेमा जोड दिनुभएको थियो । 


–प्रधानमन्त्री ‘प्रचण्ड’को निमन्त्रणामा २०८० कात्तिक १२ देखि १५ गतेसम्म संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको चारदिने भ्रमण गर्नुभएको हो । सो अवसरमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल भयो । शान्ति प्रक्रिया, जलवायु परिवर्तन र नेपालमा त्यसको असरबारे उहाँले गम्भीर चासो राख्नुभयो । उहाँले लुम्बिनी, पोखरा र अन्नपूर्ण बेस क्याम्पको भ्रमण गर्नुभयो । उहाँले नेपालको संसद्लाई समेत सम्बोधन गर्नुभयो ।

-प्रधानमन्त्री प्रचण्डको पहलमा नेपाल र जनवादी गणतन्त्र चीन बिचको रसुवा–केरूङ्ग, हिल्सा–पुराङ्ग र मुस्ताङको कोरला नाका द्विपक्षीय व्यापारका लागि खुला गरिएको छ । यसले द्विपक्षीय व्यापार अभिवृद्धिमा सहयोग पुग्ने विश्वास छ । 

अक्टोबर ७, २०२३ मा दक्षिण इजरायलको किवुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका नेपालीको शव नेपाल ल्याइएको तथा नेपाल फर्कन इच्छुक इजरायलस्थित नेपालीको उद्धारका गरी नेपाल फर्काइएको छ । 

साथै हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सकुशल स्वदेश फिर्ताका लागि नेपाल सरकारबाट इजरायल, कतारलगायत अन्य देशका माध्यमबाट कूटनीतिक पहल भइरहेको छ । यसैगरी, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्नुभएका वैदेशिक भ्रमणले नेपालले थप लाभ हासिल गरेको छ । उहाँ आफैँ इजरायल पुगेर त्यहाँ अलपत्र परेका नेपाली विद्यार्थी र अन्य नागरिकलाई ल्याउन सफल हुनुभयो ।

यसैबिच सुडानमा विकसित राजनीतिक परिस्थितिका कारण अलपत्र परेका ३१ नेपाली नागरिकलाई सकुशल उद्धार गरिएको छ । कूटनीतिक सम्बन्धलाई सबल र सुदृढ बनाउन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबाट भएका भ्रमणले  नेपालको विदेश नीतिमा नवीन आयाम थपिएको छ । 

गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री:

अडियो : सपना थामी