• १३ असोज २०८१, आइतबार

पर्यटन क्षेत्रमा लगानी गर्न प्रदेश सरकारको आह्वान

blog

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ९ गते । सुदूरपश्‍चिम सरकारले प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेकाले लगानी गर्न आह्वान गरेको छ। काठमाडौंमा सोमबार सुदूरपश्‍चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयक कार्यक्रममा प्रदेश सरकारले सो आव्हान गरेको हो । 

नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका समभापति डा. आरजु राणा देउवाले सुदूरपश्‍चिम प्राकृतिक स्रोत, संस्कृति तथा भेषभुषामा सम्पन्‍न भएको उल्लेख गर्दै भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो । सुदूरपश्‍चिममा पर्यटनको प्रचुर सम्भावना छ, अब लगानीकर्तालाई सुरक्षित महसुस गराउने गरी वातावरण बनाउन प्रदेश सरकारले पहल गर्नुपर्छ, उहाँले भन्नुभयो ।  

सुदूरपश्‍चिमको पर्यटन विकासमा नेपाल पर्यटन बोर्डले पनि पिछडिएको र कम प्रचार भएको क्षेत्रको पर्यटन प्रबर्द्धनमा जोड दिनुपर्ने उहाँको आग्रह छ । दिगो पर्यटन विकासका लागि समुदायमा आधारित पर्यटन विकासलाई जोड दिनुपर्ने उहाँले सुझाव दिनुभयो । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्‍चिममा जन्मिएर देश र विदेशमा विभिन्‍न पद र ओहदामा बसेकाहरुले आफ्नो अनुभव, बौद्धिक, भौतिक, आर्थिक लगानीलाई सुदूरपश्‍चिममा केन्द्रित गर्न आह्वान गर्नुभयो । अब सुदूरपश्‍चिममा सम्भावनाका ढोका खुलिसकेका छन्। हामीसँग ठूलो बजार छ। हामी नीतिगत र कानुनी अड्चन फुकाउने र लगानीको लागि वातावरण निर्माण गर्छौं । तपाईंहरु आएर लगानी गरिदिनुस् उहाँले आग्रह गर्नुभयो । 

त्यसैगरी सुदूरपश्‍चिमका पर्यटनमन्त्री रमेश धामीले संघीय सरकारले सुदूरपश्‍चिममा लगानी गर्नुपर्छ भन्‍ने महसुस गर्न नसकेकोप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्नुभयो । सुदूरपश्‍चिममा लगानी गर्न सरकारी निकाय तयार हुनुपर्छ अनि निजी क्षेत्रलाई आकर्षित गर्न सकिन्छ उहाँले भन्नुभयो,  "हामीले दक्ष जनशक्ति उत्पादनका लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) सुदूरपश्‍चिममा स्थापना गर्नेगरी काम अघि बढाइसकेका छौं। अब लगानीकर्ताले डराउनुपर्ने स्थिति छैन, ढुक्क भएर लगानी गर्नुस्।" 

लगानी बोर्डका सीइओ शुशिल भट्टले सरकारले लगानी सम्मेलन गर्न लागेको उल्लेख गर्दै प्रदेशलाई आफ्ना योजनाहरु प्रस्तुत गर्न आग्रह गर्नुभयो । लगानी बोर्डले प्रदेश सरकारले ल्याएका योजनालाई स्वकेश गराउन सहयोग गर्ने र अन्य परियोजनाहरुमा पनि लगानी गर्न आग्रह गर्नुभयो ।  

त्यसैगरी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले आन्तरिक लगानीलाई मात्र पनि परिचालन गर्न सकेको अवस्थामा सुदूरपश्‍चिमको पर्यटन विकासका लागि धेरै समय नलाग्‍ने बताउनुभयो । 

नेपाल नदी संरक्षक मेघ आलेले कर्णालीको सभ्यतालाई जोगाएर पर्यटन प्रबर्द्धन गर्न आग्रह गर्नुभयो । युरोपियन युनियन व्यापार तथा लगानी कार्यक्रमको सहकार्यमा भएको कार्यक्रममा बोल्दै ईयूको वरिष्ठ अधिकृत मिम हमालले पर्यटन प्रबर्द्धनका लागि ईयूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

त्यसैगरी पर्यटन व्यवसायी दिनेश भण्डारीले सुदूरपश्‍चिममा पर्यटन विकासको सम्भावना र चुनौतीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । यस्तै, सुदूरपश्‍चिम प्रदेश लगानी तथा विकास सम्मेलन पर्यटन उपसमिति संयोजक अमरबहादुर शाहीले पर्यटनको सम्भावना बोकेको सुदूरपश्‍चिममा लगानी गर्न आग्रह गर्नुभयो । कार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देश हिक्मतसिंह ऐरी, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमानिरु शेर्पा, टानका अध्यक्ष निलहरी बास्तोला, र्‍याफ्टिङ एसोसियसन नेपालका अध्यक्ष शिव अधिकारी, नाटाका महासचिव शिवराज पाण्डे, टुटलका सीइओ शिक्षित भट्टलगायत पर्यटन व्यवसायीहरुले सुदूरपश्‍चिमको पर्यटन विकासका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिनुभएको थियो ।