• १३ साउन २०८१, आइतबार

गाउँमा गैँडा पस्न थालेपछि स्थानीय त्रसित

blog

होमराज रानाभाट

कावासोती, पुष ५ गते । पूर्वी नवलपरासीको निकुञ्ज आसपासका ठाउँमा गैँडा पसेर बालीनाली नष्ट गरेको छ । केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका गैँडाले गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकाका धेरै क्षेत्रका मकै बाली, गहुँबाली, तोरी लगायतका अन्नबालीमा पसेर बाली खाने, मकै भाँच्ने गरेकाले यो पटकको बाली नै भित्र्याउन नपाइने चिन्ताले किसानलाई पिरोलेको गैँडाकोट नगरपालिका ६ का किसान प्रकाश भुसालले बताउनुभयो । 

विशेषगरी गैँडा जाडो याममा निकुञ्जबाट बाहिर निस्कने, घाम ताप्ने र यो किसानले हिउँदे बाली लगाउने मौसम पनि भएकाले पनि गैँडा गाउँ पस्ने गरेकोले सतर्कता अपनाउनुपर्ने पिठौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री पौडेलले बताउनुभयो । 

केहीदिन यता गैँडाको आक्रमणमा परि चार जना घाइते भएको र गैँडाले किसानको बाली खाने, सुतेर सखाप पारेको संरक्षणकर्मी तिलक थापाले बताउनुभयो । गैँडाकाट बच्न सबैले घरबाटै बिहानै निस्कन नहुने र सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीले अनुरोध समेत गरेको छ । 

गैँडाले मकै खेतीमा क्षति पुर्‍याउनुका साथै तोरी, फापर, गहुँबालीमा समेत ठुलो मात्रामा क्षति पुर्‍याएको रजहरका स्थानीयले गुनासो गरेका छन् । गैँडाकोटका प्रकाश भुसालले गैँडाकोट नगरपालिकाको ६ मा करिब २० विघा क्षेत्रफलमा किसानले लगाएको मकै बाली गैँडाले नष्ट पारेको बताउनुभयो । 

यस्तै, गैँडालाई लखेट्न तीन वर्षअघि गैँडाकोटमै किसानले विद्युतीय धराप थाप्दा गैँडाको ज्यान गएको थियो । जस् कारण गैँडा मुद्दामा जेल जीवन बिताउन यहाँका किसान बाध्य भएका थिए तर अहिले भने किसान गैँडा पसेपछि टुलुटुलु हेर्ने र घरभित्र बस्नु बाहेक अर्को विकल्प नरहेको गैँडाकोट ७ का वडा सदस्य तारापति त्रिपाठीले बताउनुभयो । 

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीले निकुञ्ज आसपासका स्थानीयलाई सचेतना अपनाउन आग्रह गरेको छ ।