• १३ साउन २०८१, आइतबार

'कृषकसँग पुगे कृषि प्राविधिक'बाट चार हजार किसान लाभान्वित

blog

पालिकाले गरेको कृषकसँग कृषि प्राविधिकपछि कृषक, जनप्रतिनिधि र प्राविधिकहरु ।

राधाकृष्ण डुम्रे

वालिङ, पुस ५ गते । गल्याङ नगरपालिकाका कृषि तथा पशु प्राविधिकहरू घरबारीमै पुगेपछि कृषकहरू उत्साहित भएका छन् । पालिकाले सञ्चालन गरेको ‘कृषकसँग कृषि प्राविधिक कार्यक्रम’ अन्तर्गत कृषकहरूका खेतबारीमा नै प्राविधिकहरू पुगेका हुन् । 

पालिकाले दुई महिनासम्म सञ्चालन गरेको कार्यक्रमबाट चार हजार एक सय ८७ घर परिवारका कृषकहरू लाभान्वित भएका नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । कृषकको माग र आवश्यकताका आधारमा गरिएको कार्यक्रमले निर्वाहमुखीदेखि व्यावसायिक कृषकसम्मलाई फाइदा पुगेको उहाँको भनाइ छ । 

सानो समस्याका कारण आफूहरू विस्थापित नै हुनुपर्ने अवस्थामा पुग्ने गरेको भन्दै गल्याङ ८ का कृषक गोमता गाहाले भन्नुभयो, “हामीहरू सानो समस्याको समाधान गर्न नसक्दा खेती गर्न छोड्ने अवस्थामा पुगेका हुन्छौँ, सानो सल्लाहले कृषि खेतीमा लाग्ने उत्साह थपिन्छ ।” प्राविधिकलाई आफ्नै ठाउँमा पाएपछि आफूहरू खुसी भएको उहाँको भनाइ छ । 

११ वटा वडा रहेको पालिकाका ६१ वटा गाउँ टोलमा प्राविधिकहरू पुगेको नगरपालिकाले जनाएको छ । गाउँगाउँमा रहेका सामान्य कृषकहरूलाई नगरपालिकाको कृषि र पशु शाखाको सेवा सुविधासँग जोडने, नगरपालिकाको कृषि र पशु शाखाबाट प्रदान हुने सेवा सुविधाको पहुँचबाट टाढा रहेका आम कृषकलाई सहयोग गर्ने योजना अनुरूप कार्यक्रम चलाइएको नगरप्रमुख भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ठुला कृषकहरूलाई फाईदैफाईदा, साना कृषकलाई समस्या मात्रै भएको पाएपछि हामीले कार्यक्रम सञ्चालन गरेको थियौँ ।” कृषि कार्यक्रम योजनाहरूमा सीमित व्यक्तिको मात्र पहुँच हुने भएकोले निर्वाहमुखी, विपन्न तथा निम्नवर्गीय कृषक वर्गसम्म पुग्ने र उनीहरूलाई उत्पादनमा जोड्ने प्रयास पालिकाको रहेको प्रमुख भट्टराईको भनाइ छ ।

नगरपालिकाले गरेको कार्यक्रमबाट ६८ प्रतिशत कृषक घरधुरी लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताउनुभयो । उनीहरूले कृषि सम्बन्धी परामर्श, अन्तरक्रिया, विउँविजन, कृषि तथा पशुपालन सम्बन्धी जानकारी पाएको शर्माले बताउनुभयो । कार्यक्रममार्फत ७३.८ प्रतिशत महिला, ४८ प्रतिशत जनजाति तथा ३ प्रतिशत दलित समुदायका कृषकहरू लाभान्वित भएको अधिकृत शर्माले बताउनुभयो ।

गाउँगाउँमा पुगेर पशु सेवा शाखाका प्रमुख सुशील अर्याल, कृषि शाखा प्रमुख शिव ढकाल लगायत कृषि र पशु प्राविधिकहरूले सेवा दिएका पालिकाले जनाएको छ ।