• ३ जेठ २०८२, शनिबार

नमुना संसद् अभ्यास कार्यक्रम

blog

बुटवल समाचारदाता

बुटवल, पुस ५ गते । विद्यार्थीलाई संसद् सञ्चालन प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले बुटवलको नवीन औद्योगिक कदरबहादुर रीता मावि देवीनगरमा नमुना संसद् अभ्यास भएको छ ।

उक्त अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले विद्यालयले युवा तथा विद्यार्थीलाई लक्षित गरी संसद् सञ्चालनका विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरेको नमुना संसद् अभ्यासले विद्यार्थीमा राजनीतिप्रति सकारात्मक धारणा बन्ने बताउनुभयो । संसद् कसरी सञ्चालन हुने रहेछ र त्यसका प्रक्रियाका विषयमा जानकारी लिन सहयोग पुग्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । 

आजका युवा विद्यार्थी भोलिका दिनमा राजनीतिक क्षेत्रमा आवश्यक रहेकाले आफ्नो पठनपाठनलाई असर नगर्ने गरी व्यक्तित्व र नेतृत्व विकास गर्दै विद्यार्थीलाई सामाजिक कार्यमा अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।

विद्यालयका कानुन समूह कक्षा ११ र १२ का विद्यार्थी र नवीन विद्यार्थी क्लबका विद्यार्थीको सक्रिय सहभागितामा दोस्रो नमुना संसद् अभ्यास गरिएको हो । 

कार्यक्रममा सभामुखको भूमिका नयाँ युवा नयाँ सोचका प्रशिक्षक विनोद खत्री, उपसभामुखको भूमिकामा जुना परियार, प्रधानमन्त्रीमा आयुषा नेपाली, गृहमन्त्री वेद प्रकाश कहार, अर्थमन्त्री सन्देश विश्वकर्मा, शिक्षामन्त्री रुक्सा अर्याल र प्रतिपक्ष दलका नेताको भूमिका विनिता पाण्डेयले निर्वाह गर्नुभएको थियो । 

नवीन विद्यार्थी क्लबका अध्यक्ष अमिसन थापाको अध्यक्षतामा समीक्षा कुँवर र कामना लम्सालको सञ्चालनमा सम्पन्न नमुना संसद् अभ्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयको समग्र अवस्थाका बारेमा धारणा राख्नुभएको थियो ।कानुन समूहका इन्चार्ज अधिवक्ता लोकप्रसाद खरेलले नमुना संसद्को समग्र अवस्थाको विश्लेषण गर्नुभएको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका सभापति रामराज पोखरेलले नमुना संसद्मा विद्यार्थीले विवादित मामिलाका कुरामा जोड नदिई कार्यक्रमलाई परिष्कृत गर्न आग्रह गर्नुभयो ।