इमानसिं राना
रामपुर (पाल्पा), पुस ४ गते । स्थानीय उत्पादनको बजारीकरणका लागि निस्दी गाउँपालिकाले कोसेली घर सञ्चालनमा ल्याएको छ । गाउँपालिका भित्र उत्पादन हुने कृषिउपजको प्रवर्धन र बजारीकरणका लागि निस्दी कासेली घर सञ्चालनमा ल्याएको हो ।
गल्धा –५ को समाजिक महिला उद्यमी सहकारी, वडा –२ को जलदेवी सामाजिक महिला उद्यमी सहकारी र वडा ४ को स्वावलम्बन सामाजिक महिला उद्यमी सहकारीसँग सहकार्य गरी गाउँपालिकाले रामपुर –५ बेझाँडमा कोसेली घर स्थापना गरेको हो ।
निस्दीका कृषकका लागि नजिकको बजारको रुपमा रहेको बेझाँडमा सटर भाडामा लिएर बुधबारदेखि कोसेली घर सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । कोसेली घरको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले उत्पादन भएका कृषिउपज बिक्रीको सुनिश्चितता गर्दै अघि बढ्न सके कृषकलाई प्रोत्साहन मिल्ने बताउनुभयो । अर्गानिक वस्तुको प्रवर्धन र बजारीकरणमा कोसेली घरले थप राहत दिने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले उपभोक्ता अर्गानिक वस्तुतर्फ आकर्षित भइरहेको सन्दर्भमा स्थानीय उत्पादनको स्वाद चखाउन तथा पालिकाभित्र उत्पादन हुने कृषिउपजको बजारीकरणमा सहजता प्रदान गर्न कोसेली घर सञ्चालनमा ल्याएको बताउनुभयो ।
उपाध्यक्ष तीरनकुमारी श्रेष्ठले गाउँपालिकाका कृषकका लागि नजिकको बजार रामपुर भएकाले रामपुरमा कोसेली घर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले निस्दीको उत्पादन प्रवर्धनका लागि आगामी दिनमा बुटवलमा पनि कोसेली घर सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
निस्दी कोसेली घर सञ्चालक समितिका संयोजक अममाया मश्राङ्गीले निस्दीको ७ वटै वडामा उत्पादन हुने मौसमी तथा बेमौसमी अर्गानिक तरकारी, गेडागुडी, फलफूल, मह तथा घ्यूलगायतका सामग्री कोसेली घरबाट बिक्री वितरण हुने जानकारी दिनुभयो । गाउँपालिकाले कृषि उत्पादन वृद्धिसँगै उद्यमशिलता प्रवर्धनका आवश्यकताअनुसार तालिम तथा आर्थिक सहयोग गर्दैआएको छ ।