• १३ असोज २०८१, आइतबार

राष्ट्रपति पौडेल बागलुङ आउनुहुँदै

blog

राष्ट्रपति रामचन्द्र पौडेल ।

ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस २ गते ।
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ आउँदै हुनुहुन्छ । यही पुस ११ गतेदेखि सुरु हुन लागेको सातौं बागलुङ महोत्सवको उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङ आउन लाग्नुभएको हो ।

निजी क्षेत्रको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस ११ देखि २१ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धन हुने आशा गरिएको छ ।

महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्न लागिएको संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । ‘‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’’ भन्ने नारा तय गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रपति पौडेल महोत्सवको उद्घाटन गर्न आउनुहुने तय भएपछि महोत्सवलाई भव्य बनाउन उद्योगी व्यवसायी र बजारवासीहरु जुटेको जानकारी उहाँले दिनुभयो ।

महोत्सवले पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनलाई बजारीकरण गरी अर्थतन्त्रलाई चलायमान गराउने आशा गरिएको उहाँले बताउनुभयो ।

महोत्सवमा १२० भन्दा बढी स्टलहरुमार्फत राष्ट्रिय र स्थानीय वस्तु तथा सेवाको प्रदर्शन गरिने उहाँले बताउनुभयो । महोत्सवमार्फत आन्तरिक पर्यटकलाई जिल्लामा भित्र्याएर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य रहेको अध्यक्ष कँडेलले बताउनुभयो ।

महोत्सवका अवसरमा सर्वाधिक राशीको पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य, दोहोरी गीत लगायतका एक दर्जन प्रतियोगिता आयोजना गरिनेछ । महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएका छन् ।