ठाकुरप्रसाद आचार्य
म्याग्दी, पुस १ गते । नेपाली कांग्रेस म्याग्दीको प्रथम जिल्ला सम्मेलन आइतबार बेनीमा सुरु भएको छ । बेनीको मंकाः खलको सभा हलमा सुरु भएको सम्मेलनको उद्घाटन पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले गर्नुभयो ।
सम्मेलनमा महामन्त्री शर्माले वर्तमान राजनीतिक अवस्था, पार्टीको आगामी कार्यक्रम र पार्टीले खेल्नुपर्ने भूमिका बारेमा सम्बोधन गर्नुहुने कार्यक्रम तय गरिएको जिल्ला सभापति खमबहादुर गर्बुजाले बताउनुभयो ।
सम्मेलनमा ४५ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरू सहित अन्य नेता तथा कार्यकर्ताको सहभागिता छ । सम्मेलनले सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समितिले हालसम्म गरेको साङ्गठनिक प्रगति, आर्थिक प्रतिवेदनको विषयमा छलफल गरी पारित गरिने जिल्ला सचिव भरत रकालले बताउनुभयो ।