• २० असोज २०८१, आइतबार

थप सुन्दर बनाइँदै ऐतिहासिक ‘काष्ठमण्डप’

blog

हनुमानढोका परिसरका मन्दिर । फाइल तस्बिर

काठमाडौँ, पुस १ गते । हनुमान ढोकामा रहेको ऐतिहासिक सम्पदा काष्ठमण्डप क्षेत्रलाई थप सुन्दर बनाउने काम भएको छ । हनुमान ढोका दरबार संरक्षण कार्यक्रमअन्तर्गत वडा कार्यालय, शार्दूलजङ्ग गुल्म, स्थानीयवासीको सहभागितामा फलामे स्ट्याण्डमा फूलसहितका गमला राखेर सुन्दर बनाउन थालिएको हो ।  

कार्यक्रमका लागि वडा नम्बर १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा सदस्य, शार्दूलजङ्ग गुल्मका गुल्मपति पूर्ण प्रजापति र स्थानीयवासीको सहभागिता थियो । वडा नम्बर २० का वडाध्यक्ष मानन्धरले भन्नुभयो, “सम्पदा क्षेत्रमा सवारी प्रवेश गरेपछि सामाजिक तथा सांस्कृतिक कार्यक्रममा असर परिरहेको हुन्छ । यो असर रोक्ने अभिप्रायले संरक्षण गर्ने र सुन्दर बनाउने काम थालिएको हो । स्ट्याण्ड राखिएका ठाउँबाट सवारी साधन भित्र प्रवेश नगरुन् भनेर एक अर्कालाई फलामे साङ्लाले बाँधिएको छ ।” 

उहाँका अनुसार परिसरमा १२ फलामे स्ट्याण्डमा ४८ वटा फूलसहितका गमला राखिएका छन् । दरबार संरक्षण कार्यक्रमको सहयोगमा शार्दूलजङ्ग गुल्मले यसको व्यवस्थापन गरेको हो । यो कामलाई वसन्तपुर क्षेत्रभरि विस्तार गर्ने कार्यक्रम रहेको बताइएको छ । यसअघि वसन्तपुर जुद्धसालिक अगाडि कुमारी घरतर्फ र झोछेँ क्षेत्रमा करिब एक सय २० फूलसहितका गमला राखिएको थियो ।  

वि.सं.२०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको पुनः निर्माण सम्पन्न गरी काष्ठमण्डप पुनः निर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ । उक्त सम्पदा सर्वसाधारणका लागि कहिलेदेखि खुल्ने भन्ने विषय भने अझै टुङ्गो लागेको छैन । समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गरिरहेको छ । 

प्रतिवेदन अध्ययन सकेसँगै उक्त सम्पदा सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय यकिन हुने कामपाले जनाएको छ । वि.सं.२०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयवासीको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनः निर्माण समितिको गठन भएको थियो । वि.सं.२०७५ जेठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनः निर्माण खर्च कामपाले व्यहोर्ने निर्णय गरेअनुसार सम्पूर्ण खर्च कामपाले गरेको जनाइएको छ । रासस