• १३ असोज २०८१, आइतबार

'जाऔँ है पोखरा' अभियानका लागि पर्यटन व्यवसायी नेपालगञ्जमा

blog

'जाऔं है पोखरा'को अभियान सहित नेपालगञ्ज पुगेको पोखराका पर्यटन व्यवसायीहरु नेपालगञ्जमा जनप्रतिनिधी र पर्यटन व्यवसायीसँगको छलफलमा ।

गोविन्द शर्मा 

बाँके, पुस १ गते । आन्तरिक पर्यटनको विकास सहित व्यावसायिक सहकार्य र पर्यटन प्रवर्द्धनका लागि पोखराका पर्यटन व्यवसायीहरूको टोली नेपालगन्ज पुगेको छ । होटल सङ्घ पोखरा नेपालको अगुवाइमा जाऊँ है पोखरा अभियान सहितको पर्यटन व्यवसायीहरूको टोली नेपालगन्ज पुगेको हो ।

नेपालगन्ज पुगेको टोलीले आइतबार यहाँका जनप्रतिनिधि तथा पर्यटन व्यवसायीसँग छलफल गरी आन्तरिक पर्यटनको विकासका लागि सहकार्यको प्रस्ताव गरेको छ । छलफल कार्यक्रममा होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा पुग्ने पर्यटकमध्य आन्तरिक पर्यटकको सङ्ख्या करिब ४० प्रतिशत रहेको बताउनुभयो । 

अध्यक्ष सुवेदीले भन्नुभयो, "यो अभियान पोखराका लागि मात्रै नभएर एउटा सहरबाट अर्को सहरमा आन्तरिक पर्यटकको रूपमा जानुपर्छ भन्ने भावनाको विकास गराउनका लागि पनि हो ।"

करिब दुईदशक अघिदेखि सञ्चालनमा आएको जाऊँ है पोखरा अभियानले आन्तरिक पर्यटक भित्राउन सहयोग गरेको अध्यक्ष सुवेदीको भनाइ छ । पोखराको होटल क्षेत्रमा करिब पाँच खर्बको लगानी रहेको, एक हजार २०० होटलमा १५ हजारले रोजगारी पाएको सङ्घले जनाएको छ । 

'जाऊँ है पोखरा' अभियानमा होटल सङ्घ सहित नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद्, नाट्टा, टान लगायतका पर्यटनसङ्घ सम्बद्ध सङ्घ संस्थाको सहकार्य छ । नेपालगञ्जका पर्यटन व्यवसायीहरूले भारतसँग सीमा जोडिएको र बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज भएकाले नेपालगन्ज र पोखराबिच पर्यटन विकासका लागि सहकार्य हुनुपर्ने बताउनुभयो । पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले कर्णाली र सुदूरपश्चिम प्रदेश मात्रै नभएर भारतबाट पर्यटन ल्याउनका लागि पर्यटन व्यवसायीबिच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । 

नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख कमरुद्धिन राईले भारतीय पर्यटन भित्राउनका लागि सीमा क्षेत्रमा उनीहरूका लागि सहज हुने गरी व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । मङ्सिर २९ गते सुरु भएको अभियान अन्तर्गत पुस ४ गतेसम्म भैरहवा, नेपालगन्ज, धनगढी, महेन्द्रनगरमा पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरी प्रचारात्मक कार्यक्रम गरिनेछ ।