• ८ मंसिर २०८१, शनिबार

स्कन्द भेल र गोरा पुरोहित

blog

वेल्स राज्यमा पर्ने स्कन्द भेल लन्डनबाट करिब पाँच घण्टाको यात्रामा सकिन्छ । श्रीलङ्काका तमिल समुदायको बाहुल्यता देखिने यस मन्दिरमा दक्षिण भारतीय र पछिल्लो समय नेपालीको पनि उल्लेख्य उपस्थिति हुन थालेको छ । एकै स्थानमा धेरै देवीदेवताको पूजा गरिने भएकाले यसलाई ‘परमेश्वरहरूको समुदाय’ का रूपमा विकसित गर्दै लगिएको छ ।

त्यति मात्र हैन, आत्मा भएका सबै प्राणी पवित्र हुन्छन् भन्ने दर्शनको आधारमा यहाँ विभिन्न जनावर तथा पन्छीको समेत पालन गरिएको छ । बेलायतमा बस्ने श्रीलङ्काली समुदायको यो महान् कामलाई प्रोत्साहनस्वरूप त्यहाँका तत्कालीन राष्ट्रपति जयबद्र्धनाले उपहार पठाउनुभएको हात्ती ‘भल्ली’ अहिले पनि विशेष महìवका साथ पुजिने गर्दछ । 

यस स्थलको स्थापना गर्ने गुरु श्रीसुब्रमण्यमको जन्म सन् १९२९ मा श्रीलङ्कामा भएको थियो । बुवा श्रीलङ्कामा उच्च श्रेणीका मेडिकल अधिकृत हुनुहुन्थ्यो भने आमा एक आध्यात्मिक चिन्तक भई सबै भगवान्लाई अनुसरण गर्ने धार्मिक व्यक्तित्व हुनुहुन्थ्यो । पारिवारिक वातावरणका कारण उहाँ नौ वर्षको उमेरदेखि नै सनातन धर्मको जगेर्नामा लाग्नुभएको थियो । आफ्नो काम भनेको नै धर्मको प्रचार गर्नु हो भन्ने निर्णयका साथ १८ वर्षको उमेरमा नै उहाँ यात्रामा निस्किनुभयो । मध्य पूर्व र युरोपका प्रायः सबै देश घुमेर लन्डन आइपुगेपछि भने उहाँ रोकिनुभयो । जीवन गुजाराका लागि उहाँले चेल्सीमा फूलको पसल चलाउनुभयो । काम सकिएपछि हरेक दिन भक्तको समूहलाई ध्यान, योग र जप सिकाउनुहुन्थ्यो । उहाँले आफ्नो आश्रमलाई कुनै एक देवताको मात्र नभई सारा भगवान्को बासस्थानका रूपमा वर्णन गर्नुहुन्थ्यो । यहाँ धेरै धर्म छन् तर परमेश्वर एकै हुन् र जहाँ प्रेम हुन्छ त्यहाँ ईश्वर हुन्छ भन्ने उहाँको मुख्य खोजको स्रोत अद्वैत वेदान्तको शिक्षा हो ।

सन् १९६२ मा गुरुजीले एउटा सानो समूहलाई श्रीलङ्काको तीर्थयात्रामा लिएर जानुभयो । बदुल्लाको मुरुगन मन्दिरमा ध्यान गर्दा भगवान् तीन टाउको भएको गोमन सर्पका रूपमा देखा परेको र गुरुलाई आफूले चाहेको कुरा माग्न भनेपछि आफूलाइ कुनै उपहार वा वरदान चाहिएको छैन बरु एउटा चाहना युरोपमा गैरनाफामूलक पूजास्थल स्थापना गर्ने रहेको बताउनुभएको थियो । उहाँ घर पुग्दा कसैले कुरिरहेको र पवित्र भेल (भगवान् सुब्रमण्यमको भाला जस्तो हतियार) उपहार दिन खोजिएको थाहा भएर चकित हुनुभएको थियो । यिनै पवित्र उपहार मन्दिर बनाउने आधार बन्न पुग्यो ।

लन्डनमा ठाउँ सानो भएका कारण ठुलो फराकिलो ठाउँ खोज्ने क्रममा सन् १९७३ मा वेल्सको कामर्थाननजिकै एउटा फार्म हाउस केही भक्तको सहयोगमा खरिद गरिएको थियो । जीर्ण फार्महाउसमा महिनौँको मेहनतपछि भगवान् मुरुगन मन्दिर स्थापना गरिएको थियो । जहाँ केवल छ जना भक्त मात्र बस्न सकिन्थ्यो ।

निरन्तर पूजा पाठ ध्यान गर्ने सहयोगीहरूको सङ्ख्या बढेसँगै नयाँ जमिन जोड्ने र थप मन्दिर तथा सुविधा पनि क्रमिक रूपमा बढ्दै अहिले करिब ३२० एकड जमिनमा फैलिएको छ । कर्मयोग   (निःस्वार्थ सेवाको माध्यमबाट ईश्वरसँग मिलन) र भक्ति योग (पूजाद्वारा ईश्वरसँग मिलन) को अनुशासित जीवन पछ्याउँदै थुप्रै भिक्षु र ननहरू स्थायी रूपमा बसोबास गर्ने, स्वयंसेवा प्रदान गर्ने, भक्तजनको सेवामा दत्तचित्त रहने भएपछि सन् १९८० यसलाई एक परोपकारी ट्रस्टका रूपमा विस्तार गरिएको हो । यो पुरानो मन्दिरलाई पूरा जीर्णोद्धार र विस्तार गरी ठुलो नयाँ मन्दिरको उद्घाटन सन् १९९६ नोभेम्बर ११ मा भएको थियो ।

मुख्य सडक छाडेर केही समयको साँघुरो बाटो छिचोलेपछि स्कन्द भेलको कार पार्किङ देब्रेतिर र मिनिबसका लागि अलि माथि दायाँतिर व्यवस्था गरिएको छ । सार्वजनिक शौचालयहरू एथेष्ट र सफा छन् । मूल पुरोहितसहित सबैले दैनिक धेरै पटक सरसफाइमा समय दिने गरेका छन् । मुख्य गेटबाट भित्र पस्नेबित्तिकै दाहिनेतर्फ गाई गोठपछि भगवान् गणेशको एक ठुलो मूर्ति राखिएको छ । त्यसपछि प्रसाद ग्रहण गर्ने हलसँगै जोडिएको सन् १९९१ मा स्कन्द भेलमा स्थापना गरिएको दोस्रो मन्दिर महाशक्ति मन्दिर छ । 

त्यहाँ ठुलो छ फिटको काली मातासँगै लक्ष्मी, पट्टिनी, सरस्वती, माता मरियमका मूर्तिहरू राखिएका छन् । यो गुरु आफैँ बस्ने गरेका घरको तल्लो तला हो । मुख्य प्रवेशद्वारको देब्रेतिर हस्पिक, सानो पसल अनि पाहुनाहरू बस्ने ससाना घरहरू छन् । अलि माथि भान्सा काटेर उक्लेपछि सन् १९९९ मा स्थापना गरिएको तेस्रो विष्णुको रङनाथ मन्दिर छ । तालको बिचमा भगवान् विष्णुको ठुलो मूर्ति उत्तानो गरी सुताएर राखिएको छ । 

प्राकृतिक झरनासमेत रहेको यस मन्दिरभित्र हनुमान, ब्रह्मा, महालक्ष्मी, शिव, बुद्ध, येशुलगायत शिख, इस्लाम, जुविसका धार्मिक सङ्केतहरू राखिएका छन् । नेपालको बुढानीलकण्ठ जस्तो देखिने रङनाथको पूजा विशेष रूपमा हुने गर्छ । सबै देवी देवतालाई पालै पालो नुहाउने, कपडा फेरिदिने, पूजा अर्चना गर्ने, प्रसाद चढाउने, संस्कृतका श्लोकहरूसहित सबै उपस्थितले भजनकीर्तन गर्ने र शङ्ख घण्टको आवाज र धुप बत्तीको वासनाले एक विशेष अनुभूति हुने गर्दछ । त्यसो त सबै मन्दिरमा फरक फरक ढङ्गले पूरा समय दिएर पूजा गरिन्छ ।

यस मन्दिरको ठिक अगाडि बोटबिरुवा र चट्टानहरूबिच दत्तात्रेयको तीनमुखे मूर्ति प्रतिस्थापन गरिएको छ । श्रीरङनाथ मन्दिरको तल तालको बिचमा माता दुर्गाको मूर्ति छन् । यस क्षेत्रको सबैभन्दा टुप्पामा अवस्थित शक्ति मन्दिर पुग्न आधा घण्टा जति हिँड्नुपर्ने हुन्छ । यहाँ पूजा गर्ने गोरा पुरोहित इन्जिनियर पेसा छाडेर ४८ वर्षदेखि अनवरत रूपमा लागिपरेका छन् । सामानहरू लैजान भने पक्की बाटो नै बनाइएको छ तर भक्तजन भने हिँडेर जानु पर्छ ।

विभिन्न स्थानमा विश्राम गर्न बेन्चहरू राखिएका छन् भने डाँडाभरि विभिन्न प्रकारका पशुपन्छी जनावरहरू देख्न पाइन्छ । ससाना करेसाबारीहरूमा सागपात, फलफूल रोपिएका छन् । वर्षभरि प्रयोग गरिने प्रायःजसो सबै तरकारी त्यहाँ नै उत्पादन गरिन्छ । एक बगैँचाको बिचमा संस्थापक गुरु श्रीसुब्रमण्यमको स्मारक र विश्रामस्थल अनि एउटा ठुलो शालिग्राम राखिएको छ । त्यहाँबाट देखिने वरिपरिका दृश्यहरू मनोरम छन् ।

त्यहाँ जानुभन्दा तीन दिनअघि माछा मासु, पेय पदार्थ सेवन गर्न हुँदैन भनिन्छ । पहिलो पटक हामी जाँदा अघिल्लो दिनसम्म खासै के होला र भन्ने लागेको थियो तर त्यहाँ पुगेर सूचना पढेपछि म बाहिर नै बसेको थिएँ । ठुलो टेलिभिजनको पर्दामा पूजापाठ गरेको हेर्ने व्यवस्था गरिएको छ । 

कम्तीमा चार रातदेखि लामो समयसम्म आश्रममा जो कोही पनि स्वयंसेवकका रूपमा अनुमति लिएर बस्न सक्छन् । यसरी बस्ने भक्तले भने अनिवार्य भनिएका सबै क्रियाकलापमा सहभागी हुनुपर्ने हुन्छ । बिहान ५ बजेदेखि राति पौने १० बजेसम्म विभिन्न विधिले पूजा हुन्छ । यसबिच बिहान ८ बजे नास्ता, दिउँसो २ बजे खाजा र बेलुकी साढे ७ बजेदेखि एक घण्टा रात्रि भोजनका लागि समय छुट्याइएको छ । प्रायः जसो सबै रैथाने गोरा पुजारीहरूको पूजा गर्ने शैली र समय, संस्कृत भाषामा स्पष्टता देख्दा र सुनिँदा पत्याउनसमेत गाह्रो हुने खालको छ । दैनिक नियमित पूजापाठका अलावा गुरुको जन्म दिन (२८–३० अक्टोबर), प्रत्येक धर्मका महत्वपूर्ण पर्वहरू, विशेषतः पूर्णिमाका दिन वर्षभरि विभिन्न उत्सव मनाउने चलन छ । 

अहिले आश्रम स्थापना गरेको ५० वर्ष पुगेको अवसरमा वर्षभरि थप कार्यक्रम सञ्चालन भइरहेका छन् । यही अवसरमा श्रीद्धिसाइबाबाको तथा आश्रमका संरक्षक सन्त फ्रान्सिस अफ एसिसीको सम्मानमा दुई मन्दिर स्थापना गरिएको छ । त्यसै गरी भगवान् मुरुगनका प्रमुख दुई हतियार भेल र नागा पनि प्रतिस्थापन गरिएको छ । बर्सेनि लाखाैँ भक्तालुको आर्थिक तथा भौतिक सहयोग र दानबाट नै आश्रमको सम्पूर्ण खर्च चलिरहेको छ ।  

Author

सुरेन्द्र नेपाल श्रेष्ठ