• ३ जेठ २०८१, बिहिबार

हाम्रो सम्पदा

कृष्णको स्वरूप चितवनको धर्मधाम (फोटो फिचर)

blog

चितवन, मङ्सिर ३० गते । चितवनको भरतपुर–११ जिरौनामा अवस्थित निकै नै आकर्षक र कलात्मक शैलीको धर्मधाम । यो धर्मधाम महन्थ धर्मदास महाराजको नाम राखेर करिब ६ वर्ष अगाडी स्थानीयवासीहरु, विभिन्न सङ्घ संस्थाहरूको जनश्रमदानबाट निर्माण गरिएको भनेर यही धर्मधामका पुजारी बताउनुहुन्छ। करिब १५ कट्ठा क्षेत्रफलमा यो आकर्षक धर्मधाम फैलिएको छ। भविष्यमा थप १० कट्ठा क्षेत्रफल बढाएर धर्मधामलाई अझै विस्तार गरिने योजना समेत रहेको छ। 

धर्मधाम भित्र भागवत रहेको छ, त्यसैलाई कृष्णको स्वरूप मानी भक्तजनहरू पूजा अर्चना गर्दछन्। धर्मधाम भित्र प्रवेश गर्ने प्रवेशद्वार निकै नै ठुलो र सुनौलो रङ्गको आकर्षक रहेको छ। धर्मधामभित्र प्रवेश गर्ने बित्तिकै सुन्दर बगैँचा, दायाँ र बायाँ विभिन्न भगवान्हरूको मूर्ति रहेको छ। दाहिनेतर्फ निकै नै आकर्षक कलात्मक शैलीको विवाह मण्डप छ जहाँ कृष्ण भगवानका तस्बिरहरू झुन्डाइएको छ।

धामको अगाडी अर्थात् बायाँतर्फ निकै नै आकर्षक गोलाकार आकारको महन्थ धर्मदासको मण्डप पनि रहेको छ भने पछाडि मन्दिर समितिको कार्यालय भवन, पुजारी बस्ने घर आदी रहेका छन्। करिब ५ करोडको लगानीमा यो धर्मधामको निर्माण गरिएको भनी पुजारी बताउनु हुन्छ। यस धर्मधामको सौन्दर्ययता देखेर यहाँ मनोरञ्जनात्मक कार्यक्रम, धार्मिक कार्यक्रम, विवाह, व्रतबन्ध आदी हुने गर्दछ।