विश्व समुदायमा नेपालको परिचय के हो र ? नेपाल जस्ता विकासोन्मुख र साना देशहरूको परिचय विश्व समुदायमा सधैँ एकनासको हुन नसक्दो रहेछ । नेपालको स्थायी परिचय भूपरिवेष्टित तथा हिमाली मुलुक हो । प्राकृतिक/जैविक सम्पदाहरू नदी र वनजङ्गलका साथै विश्वको सर्वाेच्च शिखर सगरमाथा, सांस्कृतिक विविधता र बुद्धको जन्मस्थल पनि नेपालका स्थायी परिचय हुन् ।
नेपाल एकीकरणयताको इतिहास हेर्ने हो भने नेपालको अन्तर्राष्ट्रिय समुदायसँगको परिचय एकनासको छैन । यस शताब्दीको सुरुमा जहानियाँ अर्थात् राणा परिवारको निरङ्कुशताबाट मुक्तिका लागि भएको प्रजातान्त्रिक आन्दोलन र परिणामले नेपाल चिनायो । विसं २०१७ साल पुस १ गतेपछिका तीन दशक सक्रिय राजतन्त्र, असंलग्न परराष्ट्र नीति, शान्ति क्षेत्र प्रस्तावका वरिपरि घुम्यो । विसं २०४६ यता बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र, माओवादी जनयुद्ध, राजा वीरेन्द्रको सपरिवारको वंश विनाशको दरबार हत्याकाण्ड, माओवादी जनयुद्ध र शान्ति सम्झौता, विसं २०७२ को महाभूकम्प पनि नेपाललाई चिनाउने आवधिक सन्दर्भ हुन् ।
केही वर्षअघि यो पङ्क्तिकारले नेपाल बाहिर हुर्कंदै गरेका पाँच/सात जना नेपाली बालबालिकालाई नेपाललाई चिनाउने प्रमुख १० तथ्य के हुन् भनेर सोधेको थियो । उनीहरूले बताएका १० वटा नेपालसँग सम्बन्धित तथ्यमा साझा उत्तर थिए – हिन्दु राज्य, राजतन्त्र, सर्वाेच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थल, भूपरिवेष्टित, त्रिकोण आकारको झन्डा, कहिल्यै उपनिवेश नभएको, एकसिङे गैँडाको बासस्थान आदि प्रमुख थिए । यसो त राजतन्त्र र हिन्दु अधिराज्य इतिहासमा थन्किसके ।
भूगोल र संस्कृतिबाहेक नेपालबाहिर चिनिएका नेपाली ‘आइडल’ हुन् – गौतम बुद्ध तर बुद्ध आधुनिक नेपालको इतिहासभन्दा पहिलेका विश्वप्रसिद्ध दार्शनिक भएकाले यो सन्दर्भमा चर्चा गर्नु सान्दर्भिक हुन्न । विश्वका करिब ५१ करोड मानिस (६.६ प्रतिशत) धार्मिक रूपमा अनुयायी रहेका बुद्धको अमेरिकाको ५० राज्यमध्ये २५ भन्दा बढी राज्यमा सय जति बौद्ध गुम्बा ठुलो क्षेत्रफल ओगटेका पार्कका रूपमा छन् ।
अब शीर्षकले खोजेको नेपालको ‘आइकन’ मानिएका आदिकवि भानुभक्त आचार्य तथा साहित्य र राजनीतिक व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको सन्दर्भमा चर्चा गरौँ । नेपाली भाषा साहित्यको सन्दर्भमा आचार्य र कोइराला नेपालबाहिर सर्वाधिक पढिएका र चिनिएका लेखक हुनुहुन्छ । आचार्य नेपाली आदिकविका रूपमा विश्वभरका नेपालीमाझ सम्मानित हुनुहुन्छ । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइराला प्रजातान्त्रिक आन्दोलनका अगुवा र विश्व समुदायमा पनि समाजवादी नेताका रूपमा चिनिनुहुन्छ । कोइरालाको नेपाली साहित्यमा पनि विशिष्ट पहिचान छ ।
नेपालबाहिर सार्वजनिक स्थलहरू स्कुल, पार्क, कलेज, पुस्तकालय, सडक आदिमा सम्बन्धित देशका सरकार वा नागारिकको तर्फबाट सालिक राखिएका नेपाली व्यक्तित्वहरूमा नाम लिने उदाहरण छैनन् । केही समययता आदिकवि आचार्य र राजनीति तथा साहित्यका अग्रज कोइरालाका सालिकहरू नेपालबाहिर पनि प्रेरणादायी व्यक्तिका रूपमा स्थापना गर्ने प्रयास हुन थालेको छ ।
भानुभक्त आचार्य
भानुभक्तको सालिक नेपालबाहिर भारतका विभिन्न राज्यमा, नेपालीभाषी समुदायको बाहुल्यता रहेको बर्मा र रुसमा रहेको छ । प्राध्यापक तथा लेखक जयराज आचार्यका अनुसार दार्जिलिङको चौरस्तामा भानुभक्तको सानो सालिक विसं २००६ (सन् १९४९) मा नेपाली साहित्य सम्मेलनले स्थापना गरेको थियो । त्यसका संस्थापक सू्र्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान (सूधपा) हुनुहुन्छ । सन् १९९० को आसपासमा गोर्खा पार्वत्य परिषद्को आन्दोलनमा यो सलिक तोडफोड भएको थियो तर पुनः जुलाई १९९६ मा यसै स्थानमा ठुलो सालिक बन्यो ।
लेखक ज्ञानेन्द्र विवशका अनुसार दार्जिलिङको चौरस्ता चोकमा प्रतिस्थापित भानुभक्तको नौ फिट अग्लो पूर्णकदको सालिक पश्चिम बङ्गाल कृष्णनगरका मूर्तिकार मृगाङ्क पालले बनाउनुभएको थियो । पूर्वाेतर भारतमा भानुभक्तको सालिक बनाउने कलाकारहरूमा पाल र बिरपाडा डुवर्सका किर्पेन्द्र गुरुङ परिचित छन् ।
भारतमा हरेक वर्ष भानु जयन्ती विशेष उत्सवका रूपमा मनाउने गरिन्छ । तीन दशकयता नेपाली भाषाले भारतमा संवैधानिक मान्यता पाएको अवसरमा भाषा दिवस मनाउन थालिएको छ । यसै क्रममा डुवर्स नेपाली साहित्य समिति र भानुभक्त युवा सङ्घको पहलमा चमर्चीस्थित फरेस्ट बस्ती प्राथमिक विद्यालयमा गत वर्षको २१ अगस्तमा ३० औँ भाषा दिवसको अवसरमा भानुभक्तको पूर्ण कदको सालिक अनावरण गरिएको थियो ।
आदिकवि आचार्यको दुई शताब्दियौँ स्मृति समारोहको सन्दर्भमा सन् २०१४ जुनमा रुसको मस्कोस्थित कालुगा राज्य अन्तर्गत एलोभिरमा रहेको नेपाली घरमा भानुभक्तको सालिक स्थापना गरिएको थियो । अर्धकदको सो सालिक रुसका लागि नेपाली राजदूत रविमोहन सापकोटा, साहित्यकार कृष्ण धरावासी र अमर न्यौपाने तथा मूर्तिकार अलेक्सेइ लियोनोभन्ले संयुक्त रूपमा अनावरण गर्नुभएको थियो ।
नेपालीभाषीको ठुलो जनसङ्ख्या रहेको संयुक्तराज्य अमेरिकामा १० वर्षदेखि भानुभक्तको अर्धकदको सालिक स्थापनाका लागि प्रयास हुँदै आए पनि अहिलेसम्म पूर्णता पाएको छैन । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) को पहलमा भारतको दिल्लीस्थित पहाडगन्जबाट ल्याइएको सो सालिक भानु जयन्तीका अवसरमा समाजका पदाधिकारीहरूले आफ्नो घरबाट लैजाने र फर्काउने गर्दै आएका छन् । सन् २०१३ मा नै पूर्वमन्त्री तथा साहित्यकार मोदनाथ प्रश्रित र अमेरिकाका लागि नेपालका राजदूत डा. शङ्कर शर्माद्वारा अनावरण गरिएको यो सालिक निकट भविष्यमा सार्वजनिक स्थानमा राख्ने योजना छ ।
सन्दर्भ बिपी कोइराला
सन् २०१२ मा बिपी कोइरालाको जन्म शताब्दीका सन्दर्भमा अमेरिकावासी नेपालीको तर्फबाट एक स्मृति ग्रन्थ प्रकाशन गर्ने तयारीका क्रममा पत्रकार तरुण पौडेलले सोसलिस्ट इन्टरनेसनलमार्फत समाजवादी नेताका रूपमा विश्व समुदायमा चिनिएका कोइरालाको सालिक न्युयोर्कको कुनै कलेजमा ‘छ रे’ भनेर सुनाउनुभयो । कोइरालाको सालिक नेपालको पनि केही सीमित स्थानमा मात्र हुँदा सन् १९९० कै आसपासमा अमेरिकामा स्थापित सालिक कहाँ थियो र के भयो थाहा हुन नसक्नु अपत्यारिलो थियो ।
कोइराला जननिर्वाचित प्रधानमन्त्रीका रूपमा अमेरिकामा राष्ट्रसङ्घको महासभामा भाग लिन सन् १९६० र त्यसपछि राजाको बन्दीका रूपमा स्वास्थ्योपचारका लागि आउनुभएको थियो । राष्ट्रसङ्घमा उहाँले उठाउनुभएका मुद्दाहरूले अन्तर्राष्ट्रिय व्यक्तित्वका रूपमा चिनायो ।
कोइरालाको सालिक खोज्दै साहित्यकार हरिराज भट्टराई र यो पङ्क्तिकार न्युयोर्क पुगेका थियौँ । नेपाली संस्कृतिलाई असाध्यै माया गर्ने प्रोफेसर टेड रिकार्डीसमेतको प्रयासमा अमेरिकी विश्वविद्यालयमा स्थापित बिपीको सालिक कसरी दुई दशकदेखि बेखबर छ भन्ने जानकारी प्रोफेसर रिकार्डीबाट पायौँ । यसै क्रममा रिकार्डीको पारिवारिक नाता पहिल्याउँदै भर्जिनिया राज्यको दक्षिणी ग्रामीण भेगमा सन् १९८० को दशकका अमेरिकाका लागि नेपाली राजदूत कार्ल कुन निवास पुग्यौँ ।
सन् १९९० मा न्युयोर्कस्थित लङ आइल्यान्ड कलेजमा स्थापना गरिएको कोइरालाको सालिक वा प्रतिमा बुल्गेरियाका कलाकार मिहैलले बनाउनुभएको थियो । एक/डेढ फिटको गोलाकार धातुको प्लेटमा कोइरालाले चस्मा लगाएको अनुहार कुँदिएको त्यो सालिक अमेरिका भ्रमणका क्रममा लौहपुरुष गणेशमान सिंहले अनावरण गर्नुभएको थियो तर सो कलेज बन्द भएपछि सन् १९९३ मा कोलम्बिया विश्वविद्यालयमा प्राध्यापनरत टेड रिकार्डीलाई जिम्मा दिइएको थियो ।
केही वर्ष कोलम्बिया विश्वविद्यालयमा राखिएको यस सालिकमा प्रधानमन्त्रीका रूपमा सन् १९९३ को राष्ट्रसङ्घीय महासभामा भाग लिन आउनुभएका गिरिजाप्रसाद कोइरालाले माल्यार्पण गर्नुभएको थियो । पत्रकार दिनेशजङ्ग शाहका अनुसार ‘सोसलिस्ट इन्टरनेसनल मुभमेन्ट’ को कार्यक्रममा भाग लिन र उपचारका लागि कोइरालाले अमेरिकामा आउने जाने क्रममा यहाँका कलेजहरूमा प्रवचन दिनुहुन्थ्यो । कलेजको दस्ताबेजमा विश्व समाजवादी अभियानमा दक्षिण एसियाकै एक प्रमुख अभियन्ताका रूपमा उक्त सालिक स्थापना गरिएको उल्लेख छ । पत्रकार चन्द्र किशोरका अनुसार नेपालबाहिर कोइरालाको एउटा सालिक भारतको पटनास्थित रङ्गशालामा भारत सरकारको संरक्षणमा छ ।
प्रोफेसर टेडको अवकाशपछि कोलम्बिया विश्वविद्यालयले भने कोइरालाको सालिक राख्न चाहेन । त्यसपछि त्यो सालिक रिकार्डीको निवास न्युयोर्क, उहाँका आफन्तको वासिङ्टन डिसीको निवास हुँदै राजदूत कुन निवास पु¥याइएको रहेछ । हामीले भेट्दा डेढ दशकदेखि बेखबर सो सालिक अड्याउन प्रयोग गरेको मार्बलको पाता भाँचिएको अवस्थामा थियो । सम्मानपूर्वक बगैँचामा राखिएको त्यो सालिकलाई सार्वजनिक स्थानमा पुनस्र्थापना गरिदिए आफूहरू खुसी हुने राजदूत परिवारले बताउनुभएको थियो । यसलाई नेपाली समाजले उपयुक्त समयमा त्यस स्थानबाट मङ्गलधुनसहित अमेरिकी समाजमा सार्वजनिक गर्न प्रयास गर्ने आश्वासन दिएर हामी फक्र्याैं तर त्यसको केही वर्षपछि विसं २०७४ वैशाखमा नेपाली जनसम्पर्क समिति अमेरिकाको एक समूहले त्यसलाई आफ्नो जिम्मामा लिएर कहाँ राखेको छ ? सार्वजनिक जानकारीमा छैन ।
दशकभन्दा लामो समयदेखि बेखबर कोइरालाको सालिकका बारेमा जानकारी प्राप्त भएपछि अमेरिकी नेपाली समुदायका अगुवा डा. श्याम कार्कीले सार्वजनिक रूपमा भन्नुभएको थियो, “जनसम्पर्क समितिले आफ्नै भवन किन्ने र आफ्नो क्याम्पमा स्थापना गर्ने वा बिपीको नामबाट सडकको नामकरण गर्ने र मूर्ति स्थापना गर्ने अभियान चलाउनु पर्छ । अन्वेषण गर्न इच्छुक जो कोही, कृपया मलाई सम्पर्क गर्नुहोस् ।” अहिले बिपीको यो सालिकका बारेमा डा. कार्की नै बेखबर हुनुहुन्छ । अमेरिकाको टेक्सस राज्यस्थित अर्भिङ सहरका मेयर रिक स्टोफरले शान्तिका दूत गौतम बुद्ध र नेपाली राजनीतिका शिखरपुरुष बिपी कोइरालाको सालिक स्थापनाका लागि पहल गर्ने अश्वासन दिएको समाचार छ÷सात वर्ष प्रकाशित भएको थियो । नेपाली संस्था यती चेम्बर अफ कमर्सको कार्यक्रममा बोल्दै मेयर स्टोफरले नेपाली समुदायको अनुरोध अनुसार सालिक स्थापनाका लागि सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभएको थियो । यसको प्रगतिबारे टेक्ससको नेपाली समुदाय बेखबर छ । टेक्सस निवासी पत्रकार रामचन्द्र भट्ट भन्नुहुन्छ, “नेपालीले आग्रह गरे, मेयरले बोले, कसैले फलो गरेनन्, कुरा सेलायो ।”
अमेरिकामा नेपाली समाजका आदर्श व्यक्तित्वहरूका सालिक स्थापनाका प्रयास प्रशंसनीय हुन् तर यहाँको सार्वजनिक स्थलहरूको प्रयोगको प्रक्रिया र प्रशासनिक तथा जनप्रतिनिधिमूलक स्थानीय निकायहरूको सञ्चालन प्रक्रियाका बारेमा पहुँच र जानकारी नहुँदा नेपाली समुदाय कुइराको काग जस्तै आफ्नै सामुदायिक गतिविधिहरूमा अलमलिएको छ । केही वर्षअघि अमेरिकाका लागि नेपालका राजदूत अर्जुन कार्कीले नेपाली समुदायले औपचारिक रूपमा यस विषयलाई लिएर आए दूतावासले आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताउनुभएको थियो ।
मेरिल्यान्ड राज्य डिस्ट्रिक–८ का डेलिगेट ह्यारी भण्डारी र मेरिल्यान्डस्थित टाउन अफ इन्डियन हेड सिटीका उपमेयर किरण सिटौला अमेरिकामा सार्वजनिक स्थलहरूको प्रयोग, सडकको नाम र सालिक निर्माण आदिका लागि स्थानीय निकाय (काउन्टी) को प्लानिङ कमिसन शाखामार्फत प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुहुन्छ । हालसम्म नेपाली समुदायले यस्तो प्रक्रिया भने सुरु गरेका छैनन् । यसैको परिणाम अमेरिकाको राजधानी आसपासमा नेपाली भाषा र राजनीतिका आदर्श मानिएका यी दुई व्यक्तित्वको सालिक डेढ/दुई दशकदेखि अलपत्र परेका छन् ।