• १३ असोज २०८१, आइतबार

राष्ट्रिय हितमा सन्तुलित परराष्ट्र नीति लागू गर्नुपर्छ : सचिव लम्साल

blog

नवनियुक्त परराष्ट्र सचिव सेवा लम्साल । तस्बिर परराष्ट्र मन्‍त्रालय

काठमाडौं, मङ्सिर २९ गते। नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।  

शुक्रबार परराष्ट्र मन्त्रालय सचिवको पदभार ग्रहण गरेपछि उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो।  उहाँले सरकारले सुम्पेको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।  

उहाँले भन्नुभयो, ‘‘मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगले सरकारले दिएको जिम्मेवारीलाई समर्पित भएर पूरा गर्नेछु। ’’

देशको परराष्ट्र नीतिअनुसार द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई प्राथमिकतामा राखेर छिमेकी मुलुकसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिइने उहाँको भनाइ छ।  

सचिव लम्सालले इजरायलमा हमास समूहको बन्धकमा रहेका विपिन जोशीको सुरक्षित रिहाइका लागि कूटनीतिक प्रयास दोब्बर पार्नेसमेत बताउनुभएको छ।  

नेपालसँग श्रम सम्झौता नभएका मुलुकमा गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा नजान नेपालीलाई अनुरोध गर्दै उहाँले वैदेशिक रोजगारीमा जान चाहनेलाई सरकारले रोजगार अनुमति दिने उल्लेख गर्नुभएको छ। 

उहाँले अनौपचारिक माध्यमबाट ज्यान जोखिममा राखेर वैदेशिक रोजगारीमा नजान सुझाव दिनुभएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव लम्साललाई परराष्ट्र सचिवमा बढुवा गरेको हो।  उहाँले यसअघि पाकिस्तानका लागि राजदूतका रूपमा काम गरिसक्नुभएको छ।  उहाँसँग न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको उपप्रमुख बनेर काम गरेकोसमेत अनुभव छ।