• १३ असोज २०८१, आइतबार

‘दुई कदम’ र ‘जम्प’ प्रदर्शनमा

blog

चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको तस्बिर ।

काठमाडौँ, मङ्सिर २९ गते । आजदेखि दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरु गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ ।

पुराना निर्देशक उदय सुब्बाले निर्देशन गर्नुभएको २३ औँ चलचित्र ‘दुई कदम’ पारिवारिक प्रेमकथामा आधारित चलचित्र भनिएको छ । विशेषतः यसै चलचित्रमार्फत अभिनयको सुरुआत (डेब्यु) गर्नुभएका अभिनेता इओन लिम्बू र अभिनेत्री सिमोन गिरीकै वरपर कथा केन्द्रित छ ।

“चलचित्रमा दुवै नयाँ कलाकारले राम्रो काम गर्नुभएको छ, आउँदो समय उहाँ दुवैका लागि राम्रो हुनेछ”, निर्देशक सुब्बाले भन्नुभयो, “मैले सामाजिक ड्रामा, प्रेमकथा, हास्यलगायतका सम्पूर्ण कुरा यसमा समेटेको छु, अघिल्ला अनुभवले पनि परिपक्व बनाउँदै अगाडि बढिरहेको छु ।”

चलचित्रमा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बूलगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रमा दयाराम घिमिरेले पटकथा लेखन, विक्रम डिसीले छायाँकन, रामजी लामिछाने र कविराज गहतराजले नृत्य निर्देशन, ताराप्रकाश लिम्बू, आशिष अविरल र विकास चौधरीले सङ्गीत सिर्जना, राजु किरातीले द्वन्द्व निर्देशन गर्नुभएको छ ।

आजदेखि नै प्रदर्शन गरिएको चलचित्र ‘जम्प’ लाई बनिरहेको भन्दा भिन्न भनिएको छ । निर्देशक आशुतोषध्वज कार्कीले मनोवैज्ञानिक विधामा आधारित रहेर चलचित्र तयार गरिएको बताउनुभयो । “नियमितरुपमा आइरहेका भन्दा फरक गरौँ भन्ने लगेर नै जम्प तयार भएको हो, यसमा थ्रिल र सस्पेन्स पनि छ”, निर्देशक कार्कीले भन्नुभयो, “सफलताको खोजीमा रहेका एथ्लेटिक्स खेलाडीको जीवनमा आउने उतार चढावमा चलचित्र केन्द्रित छ ।”

यसमा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शङ्कर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रञ्जित, सुदीप भुसाल, इलिस विष्टलगायतका कलाकारले अभिनय गर्नुभएको छ । रासस