अमरराज नहर्की
तनहुँ, मङ्सिर २९ गते । तनहुँमा प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । मङ्सिर २० गते प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको सरुवा भएको र हालसम्म पनि उहाँको स्थानमा कसैलाई नियुक्त नगरिएपछि दैनिक कामकाज समस्या भएको हो ।
मुद्दा फैसला गर्ने र शैक्षिक प्रमाणपत्र सच्याउने जस्ता कार्यहरू प्रभावित भएका छन् । छोरीको शैक्षिक योग्यताको प्रमाणपत्र सच्चाउने सिफारिस लिन आउनु भएकी बन्दीपुर गाउँपालिका–१ नाहालाकी चिजा खड्का प्रमुख जिल्ला अधिकारी नहुँदा फर्कनु परेको बताउनुभयो । खड्काले भन्नुभयो, सिडिओ नै चाहिन्छ कि चाहिँदैन हामीलाई थाहा हुने कुरा भएन, सिडिओ छन् कि छैनन् थाहा भएन गाडी भाडा खर्च भयो, काम नहुँदा दुःख पाइयो ।’’ प्रजिअ नहुँदा हाल सम्पूर्ण जिम्मेवारी सहायक प्रजिअ कमलराज भण्डारीले हेर्दै आउनु भएको छ । आफूलाई कायमुकायम प्रजिअको जिम्मेवारी नदिएकोले काम रोकिएको भण्डारीले जानकारी दिनुभयो । भण्डारीले भन्नुभयो, ‘सानातिना काम त मैले नै हेरेको छु तर मुद्दा मामिला सम्बन्धी काम र शैक्षिक प्रमाणपत्र सच्याउने सिफारिस मिल्दैन, त्यस्ता काम आयो भने रोक्ने गरेका छौँ ।’ स्थानीय प्रशासन ऐन २०२८ अनुसार मुद्दा फैसलाको काम प्रमुख जिल्ला अधिकारीले मात्रै गर्ने अधिकार दिएकोले निमित्त गर्न नमिल्ने भण्डारीले बताउनुभयो ।
जनशक्तिको अभाव भएको र प्रजिअ समेत नहुँदा सेवा प्रभावित भएको निमित्त प्रजिअ भण्डारीले जानकारी दिनुभयो । रिजालको सरुवा भई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गएपछि तनहुँ प्रमुख जिल्ला अधिकारी विहीन बनेको हो ।