• १२ साउन २०८१, शनिबार

संकल्प यात्राले मनोबल बढाएको छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रममा बोल्नुहुँदै । तस्विर : उपमहासचिव प्रदीप ज्ञवाली

गोरखापत्र अनलाइन 

दोलखा, मंसिर २५ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास उच्च भएको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

अध्यक्ष ओलीले यात्राको क्रममा नागरिकले, माया, ममता, स्वागत र आत्मीयपन देखाएको बताउनुभयो । गौरीशंकरको काखमा रहेको कालिञ्चोक भगवती र दोलखा भीमसेनको आशीर्वाद प्राप्त दोलखा धार्मिक र प्राकृतिक हिसाबले सम्पन्न भएको  बताउनुभयो । 

एमालेको यात्राको क्रममा बालबालिका सहभागितालाई लिएर बालबालिकाको प्रयोग गरिएको भनि गरिएको प्रचारको अध्यक्ष ओलीले कार्यक्रममा आलोचना गर्नुभयो । एमालेले सुरु गरेको यो अभियान राष्ट्रिय उत्सवको अभियान भएकाले त्यसमा बालबालिकाले सहभागिता जनाउनु स्वाभाविक भएको बताउनुभयो । एमाले एउटा राष्ट्रिय लक्ष लिएर अघि बढेकाले त्यसमा बालकदेखि वृद्धसम्मको सहभागिता रहेको उहाँको भनाइ छ ।  

अध्यक्ष ओलीले आज देशमा युवालाई अड्याउनै नसक्ने अवस्थामा आएको चर्चा गर्नुहुँदै भन्नुभयो, “अर्काको दरबार देखेर धनी भइँदैन । युवालाई देशमा नै रोकेर आफ्नो घर राम्रो बनाउने वातावरण बनाउनु पर्छ । विभिन्न व्यवसाय सञ्चालन गरेर युवाहरू देश निर्माणको अभियानमा लाग्नु पर्छ ।” 

राजनीतिक पार्टीले अब विकास र सामाजिक सुधारको अभियन्ताको रूपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘सामाजिक सुधारका अभियान हामीले नै चलाउने हो, अरूले चलाउने होइन’ अध्यक्ष ओलीले भन्नुभयो । 

जनताको अभिमतबाट एमालेले सरकार बनाएर देश विकासको अभियान चलाएको भए पनि नेपालको विकास देख्न नचाहने शक्तिले एमाले विरुद्ध षडयन्त्र गरेको उहाँको भनाइ छ । “एकीकृत भइसकेको पार्टी पटक पटक फुटाउने काम भयो, नेपाल कम्युनिष्ट पार्टीलाई अदालतको आवरणमा विखण्डनकारीहरुले फुटाउने काम गरेका हुन्” अध्यक्ष ओलीले चर्चा गर्नुभयो ।  


अध्यक्ष ओलीले अहिले देश आर्थिक रुपले गम्भीर अवस्थामा पुगेको बताउनुभयो । समस्याबाट देशलाई फर्काउन एमालेले संकल्प यात्रा सुरु गरेको उहाँको भनाइ छ । एमालेको लक्ष सरकारमा गइहाल्ने नभइ, देशको अवस्था सुधार गर्नमा रहेको बताउनुभयो । वर्तमान सरकारलाई कसैले ढाल्नु नपर्ने आफै ढल्ने उहाँको दावी छ । 

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुने एमालेले जनाएको छ ।