• २० असोज २०८१, आइतबार

ताजपुरिया संस्कृति जोगाउन आग्रह

blog

ताजपुरिया समुदायको कार्यक्रममा सहभागीहरु ।

गोरखापत्र अनलाइन

मोरङ, मंसिर २५ गते । ताजपुरिया समुदायका अगुवाहरूले आफ्नो संस्कृति र परम्परा संरक्षणका लागि सरकारसँग आग्रह गरेका छन् । संविधानको भावना र मर्मअनुसार आदिवासी जनजातिको कला, संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने भन्दै उहाँहरूले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

ताजपुरिया समाज कल्याण परिषद्को २८ औँ स्थापना दिवसको अवसरमा मोरङको रङ्गेली नगरपालिका –८ दर्बेशा बजारमा आयोजित कार्यक्रममा परिषद्का अध्यक्ष पूर्णलाल ताजपुरियाले समुदायको परम्परागत संस्कृति जोगाउनुपर्ने बताउनुभयो । 

परिषद्का पूर्व अध्यक्ष एवम् आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव नित्यानन्द ताजपुरियाले नटुवा, हुदुरधुरा, ढोलसोनालगायत सांस्कृतिक नाचहरू पछिल्लो समय लोप हुने अवस्थामा पुगेको बताउनुभयो । पूर्वी तराईको झापा र मोरङमा बसोबास गर्दैआएका ताजपुरिया जातिले संविधानले दिएको अधिकारको महसुस गर्न नपाएको उहाँले बताउनुभयो ।  

प्रतिनिधिसभाका सदस्य ऋषिकेश पोखरेलले ताजपुरिया जातिलाई विशेष स्वायत्त क्षेत्र घोषणा गर्न संसद्मा माग गर्ने प्रतिबद्धता जनाउनुभयो । संविधानले दिएको अधिकारबाट संरक्षित क्षेत्र घोषणा गरिए ताजपुरिया समुदाय अघि बढ्न सक्ने बताउँदै सांसद पोखरेलले परिषद्ले लिएको लक्ष्य छिट्टै पूरा हुनेमा विश्वास व्यक्त गर्नुभयो ।  

कार्यक्रममा झापा र मोरङबाट आएका प्रतिनिधिले नटुवा, हुदुरधुरा, ढोलसोना लगायत सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । साथै जातीय पहिचानका परम्परागत र आधुनिक गीतको प्रस्तुति गरिएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार ताजपुरिया जातिको सङ्ख्या २० हजार ९ सय ८९ छ ।