• २३ वैशाख २०८२, मङ्गलबार

मनाङमा पुल र बाटो अलपत्र

blog

यदुप्रसाद भट्ट

मनाङ, मङ्सिर २५ गते । सङ्घ सरकारले ठेक्का लगाएको नासों गाउँपालिका दुध खोलामा मोटरेबल पुल बनाउन २०७२ सालमा निर्माण सम्झौता भए पनि हालसम्म पुल बन्न सकेको छैन । पटक पटक म्याद थप गरी पुल बनाउनका लागि दुई किनारमा पिल्लर ठड्याइएको छ तर त्यसपछि काम अघि बढेको छैन । न खोलामा पुल नै बनेको छ न आयोजनालाई अहिलेसम्म रुग्ण वा समस्याग्रस्त भनेर घोषणा नै गरिएको छ । 

कोरोनापछि बल्ल बल्ल बामे सरेको पर्यटनले गति लिने बेलामा पुल र बाटो नबन्दा पर्यटकले सास्ती बेहोर्नुपरेको छ । सङ्घ सरकारको ठेक्कामा स्थानीय सरकार पनि मौन छ । यही मौनताको सिकारमा परेका छन् पर्यटक ।

मनाङकै अन्य तीन आयोजनालाई भने रुग्ण आयोजनामा सूचीकृत गरिएको छ । हुम्डेदेखि ङावल सडकमा पर्ने पुल निर्माणका लागि गल्वा, क्याराभान जेभीसँग चार करोड ५७ लाख रुपियाँमा सम्झौता भए पनि उक्त पुल बिचैमा अलपत्र छ । बजेटको व्यवस्था भए कार्यान्वयन पूरा हुने अवस्थामा रहेको भनाइ छ । यसको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।

हुम्डेकै मस्र्याङ्दी नदीमाथिको पुलको काम ४० प्रतिशत भयो । चार करोडमा सम्झौता भएको पुलको ४५ प्रतिशत रकम भुक्तानी भइसकेको छ । मृत सञ्जीवनी, खड्काकृष्ण, क्याराभान जेभीले ठेक्का पाएको यो पुल पनि पैसा लिएर ठेकेदार बेपत्ता भएपछि अलपत्रमा परेको छ । चामेदेखि टङ्की मनाङ जोड्ने सडक स्तरोन्नतिका लागि शङ्करमाली लामा जेभीसँग सम्झौता भएको थियो । यसको लागत र सम्झौता तथा सम्पन्न गर्नुपर्ने मितिसमेत प्रदेश सरकारलाई जानकारी छैन । 

मनाङको मेरुदण्डका रूपमा रहेको स्थलमार्ग बेँसीसहर–चामे सडकखण्डमा नौ किलोमिटर सडक पिच गरिएको छ । ट्र्याक खोलिएको २१ वर्षपछि उक्त सडकखण्डको बेँसीसहरदेखि खुदीसम्म नौ किलोमिटर पिच गरिएको डुम्रे–बेँसीसहर–चामे सडक योजनाका सब–इन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो । २०५९ सालमा नेपाली सेनाले ट्र्याक खोलेको सो सडक पिच गरिसक्नुपर्ने समय २०८० असार मसान्तसम्म भए पनि समयमा काम पूरा नभएपछि म्याद थप गरिएको अधिकारीले बताउनुभयो । 

आशिष/अनिश जेभी कन्स्ट्रक्सन प्रालिले सडक पिचका लागि २०७८ साल वैशाख २२ मा ठेक्का पाएको थियो । कुल ५२ करोड ९६ लाख १६ हजार लागत अनुमान गरिएकामा २५ करोड ३२ लाख १३ रुपियाँमा पिच गर्ने सम्झौता भएको थियो । 

बेँसीसहरदेखि ६५ किलोमिटर दुरी रहेको चामेसम्मको सडकमध्ये ३५ किलोमिटर सडक लमजुङमा पर्छ भने मनाङमा ३० किलोमिटर रहेको छ । हाल यस सडकलाई विस्तार गर्दै मनाङको माथिल्लो भेग खाङ्सारसम्म सडक सञ्जाल पु¥याइएको आयोजनाले जनाएको छ । 

ट्र्याक खोलिएको लामो समयसम्म यस सडकखण्डको स्तरोन्नति हुन नसक्दा अन्नपूर्ण पदमार्गमा आउने पर्यटक तथा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । पर्यटकीय क्षेत्रका रूपमा रहेको मनाङमा आउने आन्तरिक तथा बाह्य पर्यटक जोखिमयुक्त स्थलमार्गबाट आवतजावत गर्छन् ।