काठमाडौँ, मङ्सिर २५ गते । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित छ न्यायाधीशको सुनुवाइ मङ्सिर २९ गतेदेखि गर्ने भएको छ । आइतबार उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित न्यायाधीश सुनुवाइको मिति तोकेको हो । यो पटक तीन दिन सुनुवाइका लागि समय तोकिएको छ । सबै प्रस्तावित न्यायाधीशको सुनुवाइ प्रक्रिया सकिएपछि मात्र अनुमोदनसम्बन्धी निर्णय समितिले गर्ने छ ।
समितिले मङ्सिर २९, पुस १ र २ गते सुनुवाइ गर्ने निर्णय गरेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक एवं समिति सदस्य पदम गिरीले जानकारी दिनुभयो । समितिले सिफारिस क्रमअनुसार नै सुनुवाइ अघि बढाउने छ । जस अनुसार समितिले पहिलो दिन सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ गर्ने छ । यस्तै दोस्रो दिन महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाइ गर्ने छ । अन्तिम दिन सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ गर्ने छ । मङ्सिर ४ गते मात्र समितिले सुनुवाइपछिको निर्णय लिने छ ।
समितिले आइतबार उजुरीकर्तासँग छलफल गरेको छ । छमध्ये तीन प्रस्तावित न्यायाधीशको हकमा उजुरी परेका छन् । प्रस्तावित न्यायाधीश सुवेदी, मुसलमान र ढुङ्गानाविरुद्धका उजुरीकर्तासँग समितिले छलफल गरेको हो । प्रस्तावित न्यायाधीश ढुङ्गानाविरुद्ध राजस्व न्यायाधीकरणमा आफैँसँग इजलास सेयर गरेका एक सदस्यले संसदीय सुनुवाइ समितिमा उजुरी गर्नुभएको छ । न्यायाधीकरणमा लेखा सदस्य रहनुभएका पुष्पप्रसाद गुरागाईंले समितिमा उजुरी दिनुभएको हो । राजस्व न्यायाधीकरण ऐन, २०३१ को दफा ९ बमोजिमको कार्यविधि पालना नगरेर राज्यलाई हानि नोक्सानी पु¥याएको आरोप गुरागाईंको छ । उहाँले १५० भन्दा बढी फैसलामा कुनै न कुनै रूपमा कानुनको व्यवस्था उल्लङ्घन भएको जिकिर उजुरीमा गर्नुभएको छ ।
यस्तै प्रस्तावित न्यायाधीश सुवेदीविरुद्ध पनि मुद्दामा भएका आदेशका विषयमा पाँच वटा उजुरी दर्ता भएका छन् । अधिकांश उजुरी आरती साह हत्या प्रकरणमा भएको थुनछेक आदेश उपर रहेका छन् । उच्च अदालत जनकपुरमा सुवेदीसहितको इजलासबाट भएको आदेशले कार्यक्षमतामा र आचारणमा प्रश्न उठाएर उजुरी गरेको छ । साह हत्या प्रकरणमा पतिलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत धनुषाको आदेश उच्चले बदर गरेको थियो ।
गत असोज १८ गते भएको उक्त आदेश प्रमाणको मूल्याङ्कन नगरी बदनियतसाथ भएको उजुरीकर्ताको दाबी छ । उच्चको आदेश मङ्सिर २० गते सर्वोच्च अदालतले बदरसमेत गरिसकेको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले साहका पति मोतीबाबु साहलाई पुर्पक्षका क्रममा थुनामै राख्ने आदेश गरेको छ ।