• १२ साउन २०८१, शनिबार

पुल बन्न नसक्दा आवत–जावतमा समस्या

blog

बौँदीखोलामा बाढीले बगाएको पुलको भग्नावशेष । तस्बिर : होमराज रानाभाट

होमराज रानाभाट

बौँदीकाली, मंसिर २४ गते । पूर्वी नवलपरासीको पहाडी बौँदीकाली गाउँपालिकाको बौँदीखोलाको पक्की पुल बाढीले बगाएको पाँच वर्ष पुग्दा समेत पुल निर्माण हुन नसक्दा स्थानीयलाई आवत–जावतमा समस्या भएको छ ।

पुल अभावमा वर्षा सुरु हुँदा यात्रुलाई ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको स्थानीयको भनाइ छ । पहाडी गाउँपालिका बौँदीकालीको वडा–६ मा रहेको बौँदीखोलाको पक्की पुल पाँच वर्षअघि बाढीले बगाएको थियो । अहिलेसम्म त्यहाँ आवत–जावत गर्ने खोलामा पुल नभएपछि हरेक वर्ष वर्षायाम सुरु हुनासाथ यात्रुलाई सास्ती हुनेगरेको बौँदीकाली गाउँपालिका वडा ६ का वडाध्यक्ष खुमकुमार सारू मगरले बताउनुभयो । 

बौँदीकाली गाउँपालिकाको वडा १ देखि ६ सम्म का स्थानीयको छोटो बाटो यहीभएर तनहुँ, पाल्पा, स्याङ्जासम्म जाने छोटो दूरीको बाटो र बुलिङ्टारबाट जाने बाटो पनि यही छोटो पर्ने भएपछि खोलामा चाँडो पुल बन्न आवश्यक रहेको वडाध्यक्ष सारू मगरले बताउनुभयो । 

स्थानीय समाजसेवी कमानसिंह सुस्लिङ मगरले खोलामा पुल नबन्दा सबैभन्दा बढी समस्यामा स्थानीय परेको बताउनुभयो । पहाडी लाइफलाइनका रूपमा रहेको सो सडकमा पाँच वर्षअघि पुल बने पनि बाढीले बगाएपछि समस्या परेको स्थानीयको भनाइ छ । 

पुल नहुँदा आधा घण्टामा पुग्न सकिने गाउँमा दिनभरि घुमेर जानुपर्ने बाध्यता रहेको बौँदीकाली गाउँपालिका वडा १ का वडाध्यक्ष अनिल थापा मगरले बताउनुभयो । पुल निर्माणका लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाए पनि अहिलेसम्म काम अघि बढ्न नसकेको उहाँको भनाइ छ ।