• २१ असार २०८२, शनिबार

महिला नेतृत्वका क्षेत्रमा भ्रष्टाचार कम

blog

काठमाडौँ, मङ्सिर २४ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाले नेतृत्व लिएका क्षेत्रमा भ्रष्टाचार कम हुने गरेको बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा नेपाल प्रेस युनियन महिला विभागले शनिबार आयोजना गरेको समान सहभागिताका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तर्क्रियामा उहाँले नेतृत्वमा महिलाको पहुँच बढाउन ल्याइएको समानुपातिक व्यवस्थाको सही सदुपयोग हुन नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “जुन वर्ग र समूहको पहुँच पुर्‍याउने उद्देश्यले समानुपातिक व्यवस्था ल्याइएको थियो । ती वर्ग र समूहको पहुँच पुग्न सकिरहेको छैन । शक्तिशालीले नै त्यसको फाइदा लिइरहेका छन्,” उहाँले आफूले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेपछि निकै जोडबल गरेर लैङ्गिक नीति, बालबालिकासम्बन्धी नीति तथा ज्येष्ठ नागरिकसम्बन्धी नीति ल्याएको र ती नीतिले धेरै हदसम्म समस्या समाधान भएको दाबी गर्नुभयो । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले नेपालमा संविधानले प्रदत्त गरेको अधिकार निकै राम्रो भएको र त्यसलाई जोगाउन सबैको पहल हुनुपर्ने बताउनुभयो । उहाँले महिलाका लागि संविधान र कानुनले दिएको अधिकारबारे समाजलाई जानकारी दिनु सञ्चारमाध्यमले भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकार महिलाको वृत्तिविकास र क्षमता अभिवृद्धिका लागि सहयोग गर्न युनियन तयार रहेको बताउनुभयो । युनियनका उपाध्यक्ष सलोजा दाहालले महिलालाई नेतृत्वमा आउन निकै कठिनाइ रहेको बताउनुभयो।

कार्यक्रममा गोरखापत्रका पत्रकार राधा चालिसेले लैङ्गिक समानताका लागि सञ्चारमाध्यमको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै समाचार कक्षमा महिलाको सङ्ख्यात्मक र गुणात्मक वृद्धि गर्न सकेमा महिलाका सवाल अझ प्रखर भएर सञ्चारमाध्यमले उठाउन सक्ने धारणा व्यक्त गर्नुभयो ।