काठमाडौँ, जेठ ४ गते । काठमाडौँ महानगरको हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन भएको चार वर्ष पुग्न लाग्दा पनि टुकुचा खोला (इच्छुमती) को बहाव क्षेत्र र सो खोलामाथि निर्माण गरिएका संरचनाहरू हटाउन सकिएको छैन ।
काठमाडौँ महानगरपालिकाको टोलीले २०७९ भदौ ३० गते गरेको उत्खननको क्रममा जय नेपाल सिनेमा घरको परिसरभित्रै टुकुचा खोला भेटिएको थियो । त्यस बेलादेखि उक्त खोलाको समस्या जस्ताको त्यस्तै छ । महानगरले नक्सा अनुसार लगाएको चिह्नका आधारमा सो सिनेमा घरपरिसरमा डोजर चलाएर १५ फिट खन्दा टुकुचा खोला भेटिएको थियो । महानगरले २०७९ साउन १२ गते सूचना जारी गरी टुकुचाको अतिक्रमण हटाउन आग्रह गरेको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले उत्खनन तथा खोजी कार्य सुरु गरेको थियो । उत्खननका क्रममा जय नेपाल सिनेमाघरदेखि कमलादीसम्मको भागमा सुर्की, चुना र इँटाको प्रयोग गरेर सुरुङ वा डुँड (गुम्बज शैली) बनाएर खोलालाई छोपिएको पाइएको थियो ।
उत्खननपछि टुकुचा खोला र बहाव क्षेत्रको लगत कट्टा गर्न काठमाडौँ महानगरले तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको (२०८० वैशाख २५ गते) तीन वर्ष बितिसक्दा पनि सोबारे अहिलेसम्म आवश्यक कारबाही अगाडि बढ्न सकेको छैन ।
मन्त्रालयमा पत्र भेटिएन
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्रको जग्गाको लगत कट्टा गर्न भनी काठमाडौँ महानगरपालिकाबाट आएको भनिएको पत्रको अभिलेख मन्त्रालयमा नभेटिएको बताउनुभयो । उक्त ठाउँको जमिनको लगत कट्टाको प्रक्रिया अगाडि बढेको छैन । उहाँले सो पत्रबारे आवश्यक कारबाही भए नभएको सम्बन्धमा आफूलाई केही जानकारी नभएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “कुनै पनि क्षेत्रको लगत कट्टाको प्रक्रिया अगाडि बढाउन कहाँदेखि कहाँसम्म, कुन कुन कित्ता र केको आधारमा लगत कट्टा गर्ने भन्ने स्पष्ट रूपमा उल्लेख हुनु पर्छ । पत्रका आधारमा लगत कट्टा त्यत्तिकै हुँदैन । नेपाल सरकारले निर्णय नगरेसम्म नागरिकका नाममा दर्ता भएका कित्ताको लगत कट्टा गर्न मिल्दैन ।”
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्रको जग्गाको लगत कट्टा नभएको जानकारी दिनुभयो । टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्रको अतिक्रमित जग्गा सरकारका नाममा ल्याउने सम्बन्धमा अहिले कुनै कामकारबाही अगाडि नबढाइएको उहाँले बताउनुभयो ।
महानगरको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले लगत कट्टाका लागि सो पत्र मन्त्रालय पठाउनुभएको थियो । उक्त पत्रमा उल्लेख छ, “हात्तीसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्रको जग्गा त्रुटिवश व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्ति विशेषको नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारबाहीका लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ ।”
मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारी/सार्वजनिक जग्गा मानेको छ । सोही ऐनको दफा २४ (२) ले सरकारी÷सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको महानगरको सो पत्रमा उल्लेख छ ।
कुनै पनि भौतिक संरचना निर्माण गर्दा खोला वारि र पारि कम्तीमा छ मिटर छोडेर निर्माण गर्नुपर्ने भए पनि जय नेपाल सिनेमा हल क्षेत्रमा खोलालाई नै छोपेर ठुला ठुला भवनहरू निर्माण गरिएका छन् । हात्तीसार र कमलादी क्षेत्रमा करिब आधा किलोमिटरसम्म टुकुचा खोला नै गायब छ । खोलामाथि नै काठमाडौँ प्लाजालगायत विशाल संरचना निर्माण गरिएका छन् । काठमाडौँ महानगरपालिकाका अनुसार टुकुचामाथि ८५ वटा घर तथा भवन ठड्याइएका छन् ।
पाटन उच्च अदालतले काठमाडौँको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै रहेको ठहर गरेको थियो । फैसलामा भनिएको छ, “टुकुचा (इच्छुमती) खोला र बागमतीको सहायक नदी रहेको र यति लामो बहाव रहेको अवस्थामा यस खोलालाई खोल्सा वा ढल हो भनी विद्वान् कानुन व्यवसायीहरूले लिएको जिकिर मनासिब देखिँदैन ।”
यो खोला काठमाडौँको चुनदेवी (निर्मल निवास पछाडि) बाट सुरु भई सहरको मध्यभाग हुँदै त्रिपुरेश्वरस्थित कालमोचन घाटमा पुगेर बागमतीमा मिसिन्छ । मुख्य सहरभित्र यसको लम्बाइ करिब ५.९ किलोमिटर अनुमान गरिएको छ ।