• १३ फागुन २०८०, आइतबार

नेपाल–अङ्ग्रेज युद्ध बुटवलको लडाइँ

blog

नेपाल र अङ्ग्रेजको सैनिक मुठभेड विसं १८२४ देखि सुरु भएको थियो, जुनबेला क्याप्टेन किनलकले कान्तिपुरका राजा जयप्रकाश मल्लको पक्षमा गोर्खालीविरुद्ध आफ्नो सेना उतार्न खोजेका थिए । काठमाडौँमा आक्रमण गर्न आएका गोर्खालीलाई तिनीहरूबाट बचाउन किनलकले मल्ल राजालाई सघाउन आउँदै थिए । यसमा अङग्रेजको सिन्धुलीमा हार भयो । त्यसको ४८ वर्षपछि आएर सबैभन्दा ठुलो फौजी युद्धमा बदलियो । यसलाई ‘नेपाल–कम्पनी’ युद्ध वा ‘नेपाल–अङ्ग्रेज युद्ध’ भनिन्छ । जसमा नेपालले आफ्नो देशको आधाजसो भूभाग गुमाउन पुग्यो । युद्धमा हारजित विश्वव्यापी सत्य हो । नेपाली सेनाले जिउज्यान लगाएर आफूभन्दा कता हो कता शक्तिशाली शत्रुसँग डिफेन्सिभ/अफेन्सिभ (जाइ कटक नगर्ने झिकी कटक गर्ने) युद्ध लड्यो । अङ्ग्रेजले नेपाललाई पनि उपनिवेश बनाउन चाहन्थे होलान् तर नेपाल विश्व इतिहासमा कहिल्यै कसैको उपनिवेश बनेन । 

संसारका कुनै एउटा युद्धभित्र धेरै लडाइँ लडिएका छन् । त्यस्तै नेपाल–अङ्ग्रेज युद्धभित्र पूर्वमा दार्जिलिङदेखि पश्चिममा सतलजभित्र धेरै लडाइँ लडिए । एउटा युद्धभित्र धेरै लडाइँ लडिँदा कति लडाइँ एकाथरीले र कति लडाइँ अर्काथरीले जितेका हुन्छन्, अनि हारेका हुन्छन् । अन्त्यमा आएको परिणाम नै युद्धको हार जित हो तर त्यो लडाइँमा लडिएका युद्ध कौशलताको भने अवश्य मूल्याङ्कन हुन्छ । तसर्थ हामीले नेपाल–अङ्ग्रेज युद्धभित्र नेपालले धेरै लडाइँ जितेर पनि युद्ध भने हारेको यथार्थलाई स्वीकार गर्नु पर्छ । सुगौली सन्धि त्यसको जीवन्त परिणाम हो । अर्काे कुरा हामीले लडाइँ हार्ने कमान्डर जतिलाई महानायक बनाएका छौँ, किन होला ? नेपाल–अङ्ग्रेज युद्धभित्रका लडाइँ जितेका कमान्डरहरूको नाम निसान छैन । नेपाल–अङ्ग्रेज युद्ध हुनुमा धेरै कारण थिए । तीमध्ये प्रमुख कारण भने ब्रिटिस नेपाली भूमिबाट तिब्बतमा छिर्न चाहन्थ्यो । तिब्बत नेपालको पनि पैसा कमाउने व्यापारिक थलो भएकाले नेपाल कुनै हालतमा बाटो वा अनुमति दिन चाहँदैनथ्यो । सिक्किमको नाथुला पास, खासाबाट पुगिने कुती, रसुवाबाट पुगिने केरुङ र कुमाउबाट पुगिने टिङ्कर, लिपुलेक आदि क्षेत्रमध्ये कुनै न कुनै नाकाबाट अङ्ग्रेजले तिब्बत पुग्न खोजी रहेको अवस्थामा ती सबै इलाका नेपालको प्रत्यक्ष नियन्त्रणमा भइसकेको थियो । तसर्थ नेपाल र अङ्ग्रेजबिच विभिन्न प्रतिकूल अवस्था आउँदै थियो । तीमध्ये तत्कालीन कारण भने बुटवल र कपिलवस्तुको शिवराज (सिउराज) को जमिनको खिचोला परी अन्ततः नेपाल–अङ्ग्रेज युद्धको तत्कालीन कारण बन्यो ।

युद्धको तत्कालीन कारण

नेपालीले अङ्ग्रेजी राज्यको जग्गा मिचेको आरोप अङ्ग्रेजको थियो । यस पटक बुटवल र सिउराज (कपिलवस्तु) को जग्गा विवादले उग्र रूप लियो । खासमा यो स्थानको नाम शिवराज हो । अङ्ग्रेजले सिउराज लेखिदियो । पाल्पाका राजा पृथ्वीपाल सेनको हत्यापछि जनरल भीमसेन थापाका पिता जनरल अमरसिंंह थापालाई पाल्पाको प्रशासक बनाई पठाइयो । नबावको राज्य अङ्ग्रेजले लिएपछि ती जग्गाको स्वामित्व अङ्ग्रेजले लिएर नेपालीलाई कमाइ खान पनि दिन चाहन्नथ्यो । कर अर्थात् तिरो तिरेर खेतीपाती गर्न नेपाल सरकारले अङ्ग्रेजलाई अनुरोध ग¥यो । तैपनि कुरो मिलेन र अङ्ग्रेजले ती जग्गाबाट नेपालीलाई निकाली आफ्नो सुरक्षा ठाना खडा ग¥यो । त्यसपछि उनले ती ठानाका सुरक्षा फौजलाई लखेटी पूर्ववत् कमाई आएको जग्गा फिर्ता गरे । अब अङ्ग्रेजी सैनिक टोली आई नेपाली चौकीहरू भत्काएर, उनीहरूलाई पिटपाट पारी खेदे र बुटवल तथा सिउराजमा पूर्ण अधिकार जमाए । त्यस इलाकामा बलियो सुरक्षा चौकीहरू खडा गरी अङ्ग्रेज हाकिम फर्किए । काठमाडौँ दरबारबाट जनरल भीमसेन थापाले जसरी पनि बुटवल र सिउराजमाथि नेपालीको नियन्त्रण नछाड्ने आदेश अमर सिंहलाई गयो । अमर सिंह ठुलो फौजी दलबल लिएर बुटवल र सिउराज गएर त्यहीँ रहेको अङ्ग्रेजी चौकीमाथि धावा गर्न लगाए । अप्रत्यासित हमलाबाट अङ्ग्रेजी चौकीदारहरूको भागाभाग भयो भने १८ जना मरे तथा छ जना घाइते भए । ती सबै इलाका नेपालीले फेरि पनि कब्जामा लिए । यो अन्तिम घटनापछि अङ्ग्रेजले नेपालीविरुद्ध औपचारिक रूपले युद्ध गर्ने निर्णय ग¥यो । सन् १८१४ (विसं १८७१) नोभेम्बर १ को दिन ब्रिटिस इन्डियन गभर्नर जनरल लर्ड मोइराले नेपालविरुद्ध युद्धको विधिवत् घोषणा गरे र युद्ध सुरु भयो । यसभन्दा धेरै वर्षअघि ब्रिटिसको तर्फबाट नेपालका एक दुई जना कर्मचारी सीमामा ब्रिटिसले मारेको घटना पनि पाइन्छ । यो पूर्वी नेपालमा हो । त्यो विवाद वार्ताबाट सुल्झियो तर यसपालि भने ब्रिटिसका धेरै मान्छे मारिएकाले वार्ताको कुनै पनि पहल नभई एकै पटक युद्धको घोषणा भयो । नेपालको तर्फबाट ब्रिटिस चौकीदारहरू मारिँदा तत्कालको लागि नेपाली भूमिका तल परेको कुरामा हामीले स्विकार्नै पर्छ । 

जित गढीको लडाइँमा अङ्ग्रेज पक्ष 

नेपालविरुद्ध आक्रमण गर्ने योजना अनुसार मेजर जनरल जोन सुलिभान उड तीन बाहिनी अर्थात् एक पृतना सेना लिएर यस क्षेत्रमा लड्ने डिभिजन कमान्डर बनाइए । पूर्व पाल्पाली राजा, उनका परिवार र पूर्वमन्त्रीले उडलाई सघाए । तैपनि उनलाई नितान्त एक्लो ठाउँमा एकदमै गाह्रो जिम्मेवारी दिइएको जस्तो लागेको थियो । किनभने मेजर जनरल मार्ले (मकवानपुर) र मेजर जनरल रोलोे जिलेस्पीको सेना (गढवाल) बाट तत्काल सहयोग आउन सक्ने दुरीभन्दा निकै टाढा थिए । उनी एक्दम लोसे र कमजोर मुटु भएका जर्नेल थिए । सुरुमा क्याप्टेन हेचकोल र लेफ्टिनेन्ट एन्डरसनको नेतृत्वमा १५ नोभेम्बर १८१४ मा फौज अगाडि बढ्यो र मैनारी, लोटन र निचमौल–पाली कब्जा गरेर बलियो बेस बनाउने काम ग¥यो । यो राम्रोसँग अगाडि बढ्यो र मुख्य डिभिजनलाई एड्भान्स (अगाडि बढ्न) गर्न लचिलो र उपयुक्त स्थान प्रदान ग¥यो । यस्तै पृथ्वी पाल सेन (पाल्पा) का पूर्वमन्त्री कनकनिधि तिवारीको राम्रो पथप्रदशर्नमा मेजर जनरल उडले स्युराज गढी र नुवाकोटबाट अगाडि बढेर बुटवलको डिफेन्सलाई बाइपास (छल्ने) गर्ने, सानातिना आक्रमणलाई छिचोल्दै पातलो सुरक्षा घेरातिरको पाटोबाट पाल्पामा आक्रमण गर्ने योजना बनाइएको थियो ।

नेपाली पक्ष 

२१ वर्षे कर्णेल उजिरसिंह थापालाई बुटवल सेक्टर दिएर कुल (अन्दाजी) दुई हजार सेना दिइएको थियो । काजी वीरभन्जन पाण्डे, लेफ्टिनेन्ट अमर अधिकारी, कुम्वेदान कृपासुर थापा, दलखम्ब थापा, शमशेर राना, सर्वेजित थापाहरू सहायक कमान्डहरू थिए । कर्णेल उजिर सिंहले आफ्ना फौजहरूलाई जित गढी, नुवाकोट गढी, काठे गढी, सिउराज गढी, बल्ड्याङ गढी, दाउन्ने गढी, माथा गढीलगायतमा खटाए । उनको रक्षात्मक रणनीति वास्तवमै निकै राम्रो थियो । जसलाई अङ्ग्रेजहरूले पनि प्रशंसा नगरी रहन सकेनन्, अङ्ग्रेज अफिसरहरू चकित परे । कर्णेल उजिर सिंह आफ्नो लक्ष्यमा शतप्रतिशत सफल भए किनभने उनले उपलब्ध जनशक्ति, सामग्री, प्राकृतिक अवस्थिति र युद्धकालीन सम्पूर्ण फाइदा उठाए । उनले थुप्रै नक्कली डिफ्रेन्स पोजिसनहरू बनाए । पाल्पाली राज्यका पूर्वमन्त्री कनकनिधि तिवारी र अरूले पनि सो कुरा चाल पाएनन् । 

कर्णेल उजिर सिंह स्वयं लगभग एक हजार दुई सय फौजसहित नुवाकोट गढीमा थिए । त्यसै गरी काजी वीरभञ्जन पाण्डेलाई हाल जित गढी भएको क्षेत्र तिनाउ खोलानजिकको झाडीभित्र लगभग चार सय फौजसहित खटाइएको थियो र अरू कमान्डहरूलाई काठे गढीसहित अन्यत्र खटाइएको थियो । कर्णेल उजिर सिंहका सिपाहीहरू एकदमै अनुशासित थिए । उनी आफैँ पनि समर्पित कमान्डर थिए । 

युद्ध

यो क्षेत्रमा पनि अङ्ग्रेज सेना सिमानादेखि नै आफ्नो योजना अनुसार अगाडि बढ्न सकेन । मेजर जनरल उड अरू डिभिजनभन्दा दुई हप्ता ढिलो भए । अझै पाँच हप्ता ढिला गर्दा जम्मा उनी सात हप्ता ढिला भए (नेपालमा आक्रमण गर्नुअघि) । उनले एकै पटकमा जित गढी, नुवाकोट गढी र तानसेन बजार कब्जा गर्नुपर्ने थियो । एउटै अपरेसनमा यति धेरै ठाउँमा कब्जा जमाउने उनको उद्देश्य अति महìवाकाङ्क्षी थियो । अङ्ग्रेजहरू २२ पौष १८१७ (जनवरी १८१२) मा हाल जित गढी भएको क्षेत्रबाट अगाडि बढे । यसबेलासम्म नेपाली सेनाले उनीहरूलाई केही नोक्सानी पु¥याएन र किल्लाबाट दुई सय पाइलानजिक पुग्दा पनि कुनै नेपालीको कुनै गतिविधि देखिएन । हाल जित गढी भएको क्षेत्र तिनाउ खोलानजिकका झाडीनजिक पुग्नलाई तिनाउ नदी पार गर्दै गर्दा उनीहरूलाई यही बेलामा नेपालले वायुवेगमा आक्रमण ग¥यो । त्यो धराप अर्थात् एम्बुसमा पारिएको युद्धकला थियो । आमुन्ने सामुन्नेको लडाइँ थिएन । यो एकदमै अप्रत्यासित थियो । थुप्रै दुश्मन त्यही मरे र तिनाउको नदी तिनको रगतले रक्ताम्मे भयो । यहीबेला नुवाकोट गढीतिर बढेका आक्रमणकारीहरू पनि नराम्ररी पराजित भए, धेरै मारिए । तेस्रो पङ्क्तिलाई सिधै तानसेन बजार कब्जा गर्ने जिम्मेवारी दिइएको थियो । यो पनि अगाडि बढ्दै थियो तर नेपाली सेनाले आक्रमण गरेर धेरैलाई मा¥यो, सबै जना आफ्नो पोजिसनबाट पछाडि फर्किए । भिरालो र ढुङ्गैढुङ्गाका डा“डापाखा भएकाले गर्दा शत्रुको आर्टिलरी पनि काम लागेन । आर्टिलरी (तोपखाना) हतियारले सम्म इलाकामा राम्रो मार गर्दछ तर डा“डाकाँडा र पहाडमा यसले राम्रो मार गर्दैन । पाँच अफिसर र १२८ अन्य दर्जाका घाइते भए । नुवाकोट गढीमा ७० नेपालीको ज्यान गयो । शत्रुतिर तीन सयभन्दा बढीको मृत्यु भयो । अङ्ग्रेज र उडको बेइज्जति भयो । उनको योजना असफल भयो । पहिलो हारपछि पनि फेरि पनि अङ्ग्रेजले यो क्षेत्रमा दोस्रो पटक हमला ग¥यो तर दोस्रो पटक पनि हा¥यो । मेजर जनरल उड निःसहाय भए । उनको फौज गोरखपुर फर्कियो । 

ब्रिटिस इन्डियाका गभर्नर जनरलले बिनाकुनै हिचकिचाहट मेजर जनरल उडलाई बर्खास्त गरे । कर्णेल उजिर सिंह र उनी मातहत प्रयोग भएका जित गढी, नुवाकोट गढी, काठे गढी, सिउराज गढी, बल्ड्याङ गढी, दाउन्ने गढी, माथा गढीलगायतले नेपाली फौजको विजयको अमर गौरव इतिहासमा लेखाए । नेपाल–अङ्ग्रेज युद्धमा नेपालले यहाँको लडाइँ तथा मकवानपुर र विजयपुर–झापा क्षेत्रको लडाइँसमेतमा विजय हासिल गरेको थियो । दुर्भाग्यवस महाकालीदेखि सतलजसम्मका सबै लडाइँ हारियो । अनि त्यसपछि सतलज क्षेत्रमा बडाकाजी अमरसिंह थापालाई हराउने कमान्डर कर्नेल डेबिड अक्टरलोनीलाई मुख्य कमान्डर बनाई युद्धको दोस्रो चरणमा अङ्ग्रेजले मकवानपुर दरबार क्षेत्रबाट ठुलो हमला बढायो । एउटा हमला हरिहरपुर गढी मोहोडा र अर्को हमला मकवानपुर दरबार मोहोडाबाट सञ्चालन गरेको अङ्ग्रेजले हरिहरपुर गढीमा नेपालीलाई हराएपछि नेपालले सुगौली सन्धि गर्न राजी भयो । मकवानपुर दरबार क्षेत्रमा लडाइँ भएन ।   

Author

डा. प्रेमसिंह बस्न्यात