• १२ साउन २०८१, शनिबार

रुसी सेनामा नेपाली : स्वदेश फिर्ताको पहल

blog

काठमाडौँ, मङ्सिर २३ गते । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा संलग्न भएका भनिएका नेपाली नागरिकको यकिन तथ्याङ्क सङ्कलन र स्वदेश फिर्ताको पहल भइरहेको बताउनुभएको छ । 

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा उहाँले भर्ना भएकाको सङ्ख्या र स्वदेश फिर्ताका लागि सहजीकरण गर्न कूटनीतिक रूपमा रुसलाई आग्रह गरिएको बताउनुभयो । उहाँले विद्यार्थी तथा भ्रमण प्रवेशाज्ञामा गएर फरक प्रयोजनमा काम गरिरहेको पाइएको बताउनुभएको छ । 

परराष्ट्रमन्त्री साउदले द्वन्द्वका क्रममा दिवङ्गत भएका नेपाली नागरिकका परिवारलाई क्षतिपूर्तिका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रुसमा नेपाली मारिएको बारे दूतावासले कुरा गरेको छ । खास केही सन्धि सम्झौताबाहेक अन्य अवस्थामा नेपाली नागरिकले कुनै पनि देशको सेनामा भर्ना नगर्ने नेपाल सरकारको नीति पनि हो । दिवङ्गतको पक्षमा क्षतिपूर्तिका लागि सम्बन्धित देशमा लेखेका छौँ । भर्ना भएका कति छन् यकिन गर्न र फिर्ताको आग्रह रुसलाई गरिसकेका छौँ ।” 

उहाँले रुस–युक्रेन युद्धका क्रममा पनि दुई नेपाली बन्धक रहेको जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले एक जनाको अवस्थाका बारेमा युक्रेनको दिल्लीस्थित र बर्लिनको नेपाली दूतावासले पनि पुष्टि गरेको बताउनुभयो । उहाँले एक जनाको हकमा परिवारले बन्धक भएको जानकारी दिएको र थप बुझ्ने काम भइरहेको जानकारी दिनुभयो । 

परराष्ट्रमन्त्री साउदले इजरायल हमास युद्धका क्रममा बेपत्ता विपिन जोशीको खोजीबारे कूटनीतिक पहल जारी रहेको बताउनुभयो । उहाँका अनुसार शुक्रबार पनि इजरायलसँग छलफल भएको छ । उहाँले दोहा फोरममा सहभागी हुने क्रममा पनि त्यहाँका उच्च अधिकारीसँग हमाससँग समन्वयका लागि आग्रह गर्ने समितिमा जानकारी दिनुभयो । 

उहाँले पोर्चुगलमा दूतावास खोल्ने सरकारको निर्णय सुझबुझपूर्ण रहेको बताउँदै गत कात्तिक २ गतेको बैठकमा निर्णय भएको र पोर्चुगलले पनि सहमति दिएको जानकारी समितिलाई दिनुभयो । 

उहाँले दूतावास स्थापनाले राहदानी र कन्सुलर सेवामा सहज हुने बताउनुभयो । आर्थिक सङ्कटको अवस्थामा नयाँ दूतावास स्थापना गरेको भन्दै समितिले मन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्रबार परराष्ट्रमन्त्री साउद समितिमा उपस्थित हुनुभएको थियो । 

नेपालको नाम अनुमोदन 

संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । नयाँ दूतावास स्थापनासँगै सरकारले नेपालको नाम राजदूतमा प्रस्ताव गरेको थियो । शुक्रबार सुनुवाइपछि समितिले नाम सर्वसम्मत अनुमोदन गरेको हो । अब उहाँको नियुक्तिका लागि बाटो खुलेको छ । 

सुनुवाइका क्रममा नेपालले दूतावासबाट हुने राहदानी र कन्सुलर सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो । राजनीतिक तथा कूटनीतिक सम्बन्ध स्थापनाका लागि पनि पहल गर्ने उहाँको कार्ययोजना सुनाउनुभयो ।

उहाँले पोर्चुगल–नेपालबिचको परामर्श समितिलाई क्रियाशील बनाउने, संसदीयमैत्री सम्बन्ध र खेल कूटनीतिलाई पनि प्राथमिकतामा राख्ने बताउनुभयो । 

विपिनको रिहाइका लागि छलफल

यसैबिच परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कञ्चनपुरका विपिन जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरूका विषयमा हेर्ने संयोजक गल हर्चसँग छलफल गर्नुभएको छ । उहाँसँग सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यव्रmम अन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीको हालको अवस्था पत्ता लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहाइ गराउने पहल गर्न शुक्रबार हर्चसँग टेलिफोनवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको इजरायलसँगको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने मन्त्री साउदले बताउनुभयो । जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्य जस्तो मानेको र उहाँको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन दिनुभएको जनाइएको छ । 

यसअघि परराष्ट्रमन्त्री साउदले गत मङ्गलबार कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गर्नुभएको थियो ।