• १२ साउन २०८१, शनिबार

बालश्रम उन्मुलनमा साझा प्रयास आवश्यक

blog

धर्बेन्द्र झा 

धनुषा, मङ्सिर २२ गते । नेपाल सरकारले सन् २०२५ सम्ममा बालश्रम उन्मुलन गर्न लिएको लक्ष्य पूरा गर्न सबैको साझा प्रयास आवश्यक भएको सरोकारवाला पक्षको भनाइ छ ।  

सबै बालबालिका पूर्ण समय औपचारिक दिवा स्कुलमा हुनुपर्छ भन्ने मान्यतासाथ आसमान नेपालले मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार आयोजना गरेको बालश्रम अन्त्यका लागि सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा उहाँहरुले त्यस्तो बताउनुभएको हो ।

सहभागिहरुले बाल श्रमका कारण बालबिवाह पनि हुनेगरेकाले तीन तहका सरकारले बालश्रमका कारण पत्ता लगाएर सोहीअनुरुपको कार्यक्रम निर्धारण गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा आसमान नेपालका कार्यक्रम संयोजक दिपेन्द्र तिवारीले बालश्रमको अवस्था बारेमा चर्चा गर्दै नेपालमा ११ लाख बालबालिका बालश्रममा रहेको जसमध्ये दुई लाख जोखिम पूर्ण श्रम गर्न बाध्य भएको बताउनुभयो । 

उहाँले मधेश प्रदेशमा मात्र एक लाख ७२ हजार बालबालिका बालश्रममा लागेको तथ्यांक राष्ट्रिय बाल श्रमको प्रतिवेदनमा उल्लेख गरिएको बताउनुभयो । उहाँले ५ वर्षदेखि १३ वर्ष उम्मेर समुहका एक लाख २७ हजार र १४ वर्षदेखि १७ वर्ष उम्मेर समूहका ४५ हजार बालबालिका बालश्रममा रहेको चर्चा गर्नुभयो । 

उहाँले बालश्रम न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने भन्दै बलश्रम उन्मुलनका लागि भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले मधेश प्रदेशमा प्रदेश सरकारले प्रदेश बाल अधिकारसम्बन्धी ऐन २०७७ ल्याएको भन्दै बालिका अधिकार ऐन आइसकेपछि सहजता हुने बताउनुभयो ।