• १२ साउन २०८१, शनिबार

सिंचाइँ सुविधाले कृषकलाई राहत

blog

डिप ट्युबवेलबाट खेतबारीमा सिंचाइँ गर्दै कावासोती –३ का किसान । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, मङसिर २२ गते । नवलपुरको कावासोती –३ मा डिप ट्युबवेल सिंचाइँ सञ्चालनमा आएसँगै कृषकलाई राहत मिलेको छ । सिंचाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने यस क्षेत्रका कृषक अहिले सिंचाइँ सुविधा पुगेपछि खुसी भएका हुन् । 

गाउँमा डिप ट्युबवेल सिंचाइँ सञ्चालन भएपछि अहिले भने थप सहयोग पुगेको कृषकको भनाइ छ । कावासोती –३ का कृषक पार्वती श्रेष्ठले खेतबारीमा सिंचाइँ हुँदा खुसी लागेको बताउनुभयो । लामो समयसम्म पानी अभावका कारण खेतबारी बाँझो रहेको थियो । उहाँले भन्नुभयो, “खेतबारीमा पानी ल्याउन केरुङ्गे खोलाबाट हरेक वर्ष बाँध बनाएर पानी ल्याउने गरिन्थ्यो । अहिले डिप बोरिङमार्फत सिंचाइँ सेवा सुरुवात भएपछि हामीलाई सहज भएको छ ।”

नदी सिंचाइँ प्रणालीले नछोएका संधै आकाशे पानीको भर पर्नुपर्ने कावासोती –३ मा बोरिङ निर्माण भएपछि बर्खायाममा धान रोपाइँ र हिउँदयाममा फलफूल र हिउँदे खेतीमा सिंचाइँ गर्न सुविधा पुगेको छ । मौषमअनुसारको खेती लगाउन पाउँदा जमिन हराभरा भएको अर्का कृषक जंगबहादुर विकले बताउनुभयो ।

उक्त डिप ट्युबवेल सिंचाइँबाट यहाँका १८१ घरधुरी प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । डिप बोरिङ सञ्चालन भएपछि कावासोती क्षेत्रका कृषि विकासमा सकारात्मक परिणाम आउने विश्वास गरिएको छ । यो डिप बोरिङबाट ४० बिघा जमीन सिञ्चित गरिनेछ ।  

नदीको सिंचाइँ नपुगेका उर्वर जग्गामा डिप बोरिङ निर्माण भएपछि कृषिको उत्पादकत्व बढाउनमा मद्दत पुग्ने कावासोती –३ का शालिकराम कोइरालाले बताउनुभयो । डिप बोरिङ निर्माणको कार्य सम्पन्न भएर किसानका खेतबारीमा सिंचाइँका सुविधा विस्तार भइसकेको छ । 

भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय भैरहवा लुम्बिनी प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा पुरानो कावासोती डिप ट्युबवेल सिंचाइँ समितिद्वारा डिप बोरिङ निर्माण गरिएको हो । यसका लागि कुल लागत ८६ लाख ५८ हजार २०३ रुपियाँ ९९ पैसा रहेको बताइएको छ ।