विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर २२ गते । झापाको दमक –३ मा फेरि जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीयहरु त्रसित भएका छन् । विहीबार राति २ वटा हात्ती बस्तीमा छिरेको र स्थानीय राजुकमार खड्काको घर भत्काएको वडाध्यक्ष नवीन बरालले बताउनुभयो ।
बस्तीमा दिनहुँ हात्तीले उपद्रो मच्चाएर जनधनको क्षति गर्दैआएको र नियन्त्रणका लागि समस्या भएको बरालले जानकारी दिनुभयो । खड्काको घर भत्काएर एक बोरा चोकर खाइदिएको उहाँले बताउनुभयो ।
स्थानीय र प्रहरी चौकी बाघचौरबाट खटिएको प्रहरी टोलीले हात्तीलाई बस्तीबाट हम्सेदुम्से जङ्गलतर्फ धपाएको उहाँले जानकारी दिनुभयो । केही दिनअघि यही भुटानी शरणार्थी शिविरका ७० वर्षीय पदमबहादुर तामाङको हात्तीको आक्रमणमा मृत्यु भएको छ ।
वडाध्यक्ष बरालका अनुसार केही समय यता हात्तीले १० घरपरिवारमा क्षति गरेका छन् । उनीहरुलाई वडा कार्यालयको सिफारिसमा दमक नगरपालिकाद्वारा जनही सात हजारका दरले राहत उपलब्ध गराइएको बरालले बताउनुभयो ।