चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर २२ गते । ताप्लेजुङको उच्च हिमाली भेगमा हिउँ पर्न थालेपछि चिसो ह्वात्तै बढेको छ । बिहीबार साँझपछि सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली भेगमा हिमपात भएपछि चिसो बढेको हो ।
चिसोका कारण हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ । फक्ताङ्लुङ गाउँपालिका –६ घुन्साका स्थानीय पेमा शेर्पाले बस्तीसम्म नै हिउँ नआए पनि बिहीबार साँझदेखि चिसो निकै बढेको बताउनुभयो । बिहीबार दिउँसोदेखि मौसम धुम्मिएको र साँझपछि उच्च हिमाली भेगमा हिउँ परेका कारण बढेको चिसोले घुन्सालगायतका हिमाली बस्तीको जनजीवन प्रभावित बनेको शेर्पाले बताउनुभयो ।
घन्सानजिकको फलेबस्तीका बासिन्दालाई पनि ह्वात्तै बढेको चिसोले सताउन थालेको स्थानीय मिङ्मा शेर्पाले बताउनुभयो । बस्तीसम्म हिउँ नपरे पनि बिहान तुषारो पर्न थालेको र उच्च भेगमा हिउँ परेकाले चिसो बढेको उहाँको भनाइ छ । समुद्र सतहदेखि घुन्साको उचाइ तीन हजार ४७५ मिटर रहेको छ । फलेको उचाइ तीन हजार २३२ मिटर छ ।
यस्तै, फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलामा पनि चिसो निकै सताउन थालेको स्थानीय दावाफुटी शेर्पाले बताउनुभयो । उहाँका अनुसार बस्तीसम्म नै हिउँ नपरे पनि उच्च हिमाली भेगमा हिउँ परेको र बिहीबार दिउँसोदेखि घाम नलागेका कारण चिसो बढेको छ । ओलाङ्चुङगोला तीन हजार २०० मिटरको उचाइमा रहेको पर्यटकीय बस्ती हो ।
स्थानीयका अनुसार करिव तीन हजार ५०० मिटरभन्दा माथिको भेगमा हिमपात भएको छ । यता तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा पनि सामान्य हिउँ परेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीसमेत रहनुभएका फेदी बजारका स्थानीय व्यवसायी राजेन्द्र महतका अनुसार मन्दिर परिसरभन्दा तलसम्म नै हिउँ परेको छ । हिउँ परेका कारण चिसो बढेपछि पाथीभरा दर्शनमा जाने भक्तजनले चिसोको सामना गर्नुपर्ने देखिएको उहाँको भनाइ छ ।
उच्च हिमाली भेगमा हिमपात भएपछि सिङ्गो जिल्लामा चिसो बढेको छ । सदरमुकाम फुङ्लिङ बजारमा समेत चिसो बढेको स्थानीयबासीले बताएका छन् । चिसोका कारण बालबालिका, वृद्धवृद्धा र पशुचौपायामा बढी प्रभाव परेको स्थानीयको भनाइ छ । शुक्रबार अपरान्हपछि सामान्य घाम लागेको छ ।