• १२ साउन २०८१, शनिबार

दान सङ्कलनबाट विद्यालयको पक्की भवन

blog

दान दाताले निर्माण गरेको महेन्द्र माध्यामिक विद्यालयको भवन । तस्विर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर २२ गते । विकासका लागि सरकारी बजेटकाे मात्रै मुख ताक्नुपर्दैन भन्ने उदाहरण बनेका छन् तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका बासिन्दा । यहाँका बासिन्दाले महेन्द्र माध्यामिक विद्यालयलाई दान रकम प्रदान गरेर सुविधासम्पन्न भवन निर्माण गरिदिएका छन् । 

श्रीमद्भागवत धनधान्याचल विराट् नवाह ज्ञानमहायज्ञमा रकम दान गरी सुविधासम्पन्न भवन निर्माण गरेका हुन् । भवन बनाउन दान गर्ने दाताकै नामबाट कक्षा कोठा नामकरण गरिएको विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापाले जानकारी दिनुभयो । दान दाताको सम्मानका लागि तीन लाखभन्दा बढी रकम दान दिनेको नाउँमा कक्षाकोठा नामकरण गर्ने निर्णय भएकोले दाताकै नाउँमा नामकरण गरिएको थापा बताउनुहुन्छ । 

विद्यालय भवनमा कम्प्युटर ल्याब, विज्ञान ल्याब, पुस्तकालय, बालकक्षा, प्रयोगशाला, प्रशासनिक कक्ष, भान्साकोठा, बालमैत्री, खानेपानीसहितको आवश्यक सुविधा रहेको विद्यालयले जनाएको छ । विद्यालयको लागि बलभद्र वाग्ले, हरिभद्र वाग्ले र मणिभद्र वाग्लेले दश लाख रुपियाँ दान गरेको विद्यालयका सहायक प्रधानाध्यापक श्रीकान्त घिमिरेले जानकारी दिनुभयो । सोही ठाउँ घर भई हाल काठमाडौंमा बस्नुहुने मञ्जु वाग्लेले तीन लाख १५ हजार, पुष्पराज खनाल, सीता खनालबाट तीन लाख १२ हजार, उषामाया खनाल, इन्द्रप्रसाद खनाल शिवप्रसाद खनाल र नारायण खनालले तीन लाख ११ हजार एक सय ११ रुपियाँ दान दिनुभएको छ । 

यसैगरी, हरिमाया खनालबाट तीन लाख ११ हजार एक सय ११ रुपियाँ, बद्रीनाथ वाग्ले, सुलोचना वाग्लेले तीन लाख ११ हजार एक सय ११ रुपियाँ, हरिमाया खनालले तीन लाख ११ हजार एक सय ११ रुपियाँ, माधवी खनाल र सुजन खनालले तीन लाख पाँच हजार एक सय एक, विजयराज खनाल र राधादेवी खनालबाट तीन लाख तीन हजार तीन सय ३३ रुपियाँ, सिरुमाया खनालले तीन लाख एक हजार पाँच सय रुपियाँ दान दिनुभएकोले कक्षाकोठा उहाँहरुकै नाममा राखिएको सहायक प्रधानाध्यापक घिमिरेले जानकारी दिनुभयो । घिमिरेले भन्नुभयो, "जीर्ण बनेको भवनमा पठनपाठन गराउन समस्या थियो, हाल सुविधासम्पन्न भूकम्पप्रतिरोधी भवन बनेकोले पठनपाठन गराउन सहजता थपिएको छ ।" भवन निर्माणले भावी दिनमा विद्यालयको शैक्षिक सुधारका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्न ऊर्जा मिलेको उहाँको भनाइ छ । 

पाँच वर्षअघि विद्यालयको भौतिक तथा शैक्षिक प्रगति गर्ने उद्देश्यले महायज्ञ गरिएको विद्यालयले जनाएको छ । महायज्ञमा नगद तथा जग्गा गरी दुई करोड १३ लाख ३४ हजार दान सङ्कलन भएको घिमिरेले जानकारी दिनुभयो ।