• १२ साउन २०८१, शनिबार

सरकारले राष्ट्रियताको पक्षमा काम गर्न सकेन : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्विर : विष्णु रिमालको पेजबाट

गोरखापत्र अनलाइन

कास्की, मंसिर २२ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर ठाडो पारेर काम गर्न नसकेको आरोप लगाउनुभएको छ । 

शुक्रवार पोखरामा आयोजित महाकाली—मेची अभियानअन्तर्गत आयोजित कार्यक्रममा उहाँले सो आरोप लगाउनुभएको हो । 

उहाँले वर्तमान सत्ता गठबन्धन जनताको पक्षमा काम गर्न नसकेपछि एमालेको विरोधमा लागेको टिप्पणी गर्नुभयो । उहाँले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा काम गर्न सक्रिय नरहेको आरोप लगाउनुभयो । देश र जनताको समस्या सङ्कलन गरी आगामी दिनमा समाधान गर्न एमालेले मिसन ८४ सुरु गरेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘एमाले साधारण प्रतिपक्ष होइन । इतिहास रचना गरेर आएको इतिहास बनाएको, इतिहास बनाउन नेतृत्व गरेको, सङ्घर्षका मैदानबाट खारिएर आएको मजबुत पार्टी हो । देशको सबैभन्दा लोकप्रिय पार्टी हो । त्यसकारण यो पार्टीले प्रतिपक्षमा हुँदा पनि देश र जनताको पक्षमा आफ्नो भुमिका खेल्छ ।’ 

अहिलेका तत्कालिक समस्या र तिनको समाधानमा पनि लागिरहेको उहाँले चर्चा गर्नुभयो । “एमाले बाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो । त्यसकारण उनीहरुको काम भनेको एमालेको विरोध गर्नु मात्र हो, खेदो खन्ने मात्र हो” उहाँले थप्नुभयो, “राष्ट्रियताको पक्षमा गठबन्धन दलका नेता शिर निहुराउँछन् । यस अवस्थालाई तोड्न एमालेले मिसन ८४ अघि सारेको छ । यो मिसनले  समृद्ध नेपाल सुखी नेपाली बनाउन र एमालेको एकल बहुमत सरकार बनाउन सहयोग गर्नेछ ।’ अध्यक्ष ओलीले नागरिकको समस्या समाधानका लागि एमालेले सङ्कल्प यात्रा सुरु गरेको दाबी गर्नुभयो ।