• १२ साउन २०८१, शनिबार

काभ्रेको कमाइ ‘कालीकाठको दाना’

blog

केदार तिमल्सिना 

बनेपा, मङ्सिर २१ गते । पछिल्ला केही वर्षदेखि जिल्लाको विभिन्न राष्ट्रिय, सामुदायिक र निजी वनमा खेर गइरहेको ‘कालीकाठको दाना’ आम्दानीको स्रोत बन्न पुगेको छ ।

विशेष गरी पेटका विभिन्न रोगका लागि आयुर्वेदिक औषधीका रूपमा प्रयोग हुने ‘कालीकाठको दाना’ को माग बढेसँगै सरकार, सामुदायिक वन र व्यक्तिका लागि एउटा राम्रो आम्दानीको स्रोत बन्न पुगेको हो । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले पछिल्ला केही वर्षदेखि जिल्लाका विभिन्न स्थानमा रहेका राष्ट्रिय, सामुदायिक र निजी वनमा ‘कालीकाठको दाना’ सङ्कलनको अनुमति लिन जडीबुटी सप्लायर्स, औषधी उद्योग, व्यवसायी तथा किसान आउने गरेको जनाएको छ । 

सहायक वन अधिकृत तथा सूचना अधिकारी गौरव भट्टका अनुसार विगतमा जिल्लामा रहेको पाखनवेद, सुगन्धवाल, सिलटिमुर, मजिठो, लोक्ता, धसिङ्गरेको पात, वन करेलालगायत जडीबुटी सङ्कलन अनुमति माग्ने गरे पनि पछिल्लो केही वर्षदेखि ‘कालीकाठको दाना’ सङ्कलन गर्न अनुमति लिन आउनेको सङ्ख्यासमेत बढेको छ । 

उहाँले पछिल्लो समय विशेष गरी खानीखोला, बेथानचोक र रोसी गाउँपालिकामा कालीकाठको दाना सङ्कलन हुने गरेको जानकारी दिनुभयो । सङ्कलन भएको ‘कालीकाठको दाना’ काठमाडौँ, नेपालगन्ज र भैरहवा लैजाने गरेको बताइन्छ ।

उहाँले कालीकाठको दाना सङ्कलनमार्फत राज्य, सामुदायिक वन र निजी वनका धनीलाई आम्दानी हुँदै आएको बताउनुभयो । लामो समयदेखि जडीबुटी व्यवसाय तथा उत्पादन गर्दै आउनुभएका पनौतीका महेश बन्जाराले पछिल्लो समय ‘कालीकाठको दाना’ को माग धेरै रहेको जानकारी दिनुभयो । 

उहाँले पेटसम्बन्धी विभिन्न रोगका लागि आयुर्वेदिक औषधी उत्पादन गर्न ‘कालीकाठ दाना’ को माग धेरै हुने गरेको र काभ्रेपलाञ्चोक तथा अन्य जिल्लामा उत्पादन हुने ‘कालीकाठको दाना’ को माग नेपालभन्दा धेरै भारतमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालबाट भारतमा बर्सेनि हजारौँ ट्रक ‘कालीकाठको दाना’ जाने गर्दछ । विशेष गरी डाबर र पतञ्जलीले आयुर्वेदिक औषधी उत्पादनका लागि यो दाना लैजाने गरेका छन् ।”

‘कालीकाठको दाना’ को निर्धारित मूल्य नभए पनि औसतमा प्रतिकिलोग्राम पाँच सयदेखि सात सय रुपियाँमा बिव्रmी हुँदै आएको बताइन्छ । उहाँले ‘कालीकाठको दाना’ को माग राम्रो भएकाले नेपालमा यसको व्यावसायिक उत्पादन हुन सकेमा किसानको आर्थिक अवस्था बलियो हुनुको साथै राज्यले समेत करोडौँ राजस्व सङ्कलन गर्न सक्ने बताउनुभयो । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकमा आर्थिक वर्ष २०७९/८० मा जिल्लामा विभिन्न व्यवसायीले १५ हजार ७७० किलोग्राम ‘कालीकाठको दाना’ सङ्कलनका अनुमति माग गरेका थिए । वन कार्यालयले ‘कालीकाठको दाना’ सङ्कलनबापत प्रतिकिलोग्राम सात रुपियाँका दरले एक लाख १० हजार ३९० रुपियाँ राजस्व सङ्कलन गरेको थियो । यो फल नेपालमा समुद्री सतहबाट एक हजार दुई सयदेखि दुई हजार सात सय मिटरको उचाइमा पाइन्छ ।