रमेश पौडेल
पोखरा, मङ्सिर १९ गते । यही पुस ३ र ४ गते सम्पन्न हुन गइरहेको नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलनको तयारी तीव्रताका साथ अगाडि बढेको छ । सम्मेलनको कांग्रेसका पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री एवम् शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ ।
सम्मेलनका लागि विभिन्न राजनीतिक, आर्थिक र साङ्गठनिक प्रतिवेदन पेस हुनेछ । सम्मेलनले नेपाली कांग्रेसको विरासतको संरक्षण गर्ने कुरा नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बताउनुभयो । उहाँले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताको रक्षा गर्दै मुलुकमा शान्ति र सुशासन कायम राख्न सम्मेलनले वर्तमानको समीक्षा गर्दै भावी कार्यदिशालाई अगाडि बढाइ काँग्रेसको नेतृत्वलाई अझै सबल र सक्षम गराउने विश्वास प्रकट गर्नुभएको छ ।
सम्मेलन सम्पन्न गर्नका लागि महामन्त्री किरणबाबु श्रेष्ठको संयोजकत्वमा सङ्गठन प्रतिवेदन तयार समिति, महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयार समिति, कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक परिचालन समिति, सहमहामन्त्री कोपिला रानाभाटको संयोजकत्वमा स्वागत तथा सत्कार समिति लगायत विभिन्न समितिहरू गठन भएका छन् ।
प्रतिवेदन तयारीको काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै महामन्त्री विष्णुप्रसाद लामिछानेले आन्तरिक छलफल समेत गरिने बताउनुभयो । त्यस्तै अन्य समितिहरूमा सदस्य सीता गुरुङको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति र सदस्य अजित क्षेत्रीको संयोजकत्वमा रहेको आवास समितिले काम अगाडि बढाइसकेको जानकारी दिनुभयो ।