तनहुँ समाचारदाता
तनहुँ, मङ्सिर १८ गते । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले बुद्धसिंह मार्गमा पर्ने घुमाउनेको पुल निर्माणको काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
आरम्भ भएको नौ वर्षसम्म पनि पुल निर्माणको काम पूरा नभएकोमा उहाँले आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभयो “बहाना देखाएर काम पन्छाउन वा भाग्न पाइँदैन ।”
तोकिएको कार्य निर्धारित समयमा उत्कृष्ट रूपले सम्पन्न गर्न केही नीतिगत र कानुनी समस्या छन् भने त्यसको समाधानका लागि सरकारसमक्ष पु¥याएर समाधान गर्न आफू तयार रहेको सांसद श्रेष्ठले बताउनुभयो । उक्त पुलको निर्माण कम्पनी मृत सञ्जीवनी कन्स्ट्रक्सनका सञ्चालक सुवास उप्रेतीलाई टेलिफोन गरी सांसद श्रेष्ठले उक्त पुलको निर्माणमा भइरहेको ढिलाइप्रति चासो देखाउँदै यथाशीघ्र पुलको निर्माण सम्पन्न गर्न निर्माण कम्पनीको ध्यानाकर्षण गराउनुभएको थियो ।
पुल निर्माणमा ढिलाइ हुँदा तनहुँ र यस क्षेत्रका जनताले निकै दुःख पाएको भन्दै सांसद श्रेष्ठले अहिले आफू विविध कारणले बाराबाट सांसद निर्वाचित भए पनि तनहुँको विकास निर्माणमा आफ्नो सधैँ चासो रहने बताउनुभयो । पुल निर्माणको क्रममा केही समस्या भए आफूलाई जानकारी गराउन भन्दै सांसद श्रेष्ठले पुल निर्माणका लागि सबै खाले सहजीकरणका लागि आफूले सहयोग गर्ने बताउनुभयो ।
निर्माण कम्पनीका प्रतिनिधि सुभास उप्रेतीले दसैँपछि उक्त पुल निर्माणको काम सुरु भएको भन्दै अब निरन्तर काम गरी जति सक्दो चाँडो काम सक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकालाई जोड्ने घुमाउने घाटमा नौ वर्षअघि पुल निर्माण सुरु गरिएको हो । आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदी पक्की पुल निर्माणको काममा ढिलाइ भए पनि सम्बन्धित निकायले ध्यान दिन नसक्दा लामो समयदेखि अलपत्र परेको छ । नौ वर्षदेखि अलपत्र उक्त पुल निर्माण नहुँदा बुद्धसिंह मार्गबाट यात्रा गर्न असहज हुँदै आएको छ ।
समयमा नै पुल निर्माण पूरा नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वी राजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दुरीको मार्ग सञ्चालन गर्न पाइएको छैन । २०७१ साल असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो तर पुल अहिलेसम्म फाउन्डेसनकै चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । सम्झौता अनुसार काम नभए पनि सडक डिभिजन कार्यालयले निर्माण कम्पनीलाई खुरु खुरु म्याद थप गर्दै आएको छ ।
डिजाइन एन्ड विल्डका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइन अनुसार पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत आठ करोड २६ लाख रुपियाँ हुने बताइएको छ । सडक डिभिजन कार्यालय दमौलीकी प्रमुख सिनियर इन्जिनियर लक्ष्मी केसीले पुल निर्माणका लागि पटक पटक म्याद थप गर्दा पनि पूरा नभएकाले कालो सूचीमा राख्ने तयारी भइरहेको बताउनुभयो ।
अहिले मुग्लिन, आबुँखैरेनी, डुम्रे हुँदै दमौली जाने गरिन्छ । मोटरेबल पुल नहुँदा तनहुँको धरमपानी, प्युघर, सराङघाटलगायतका स्थानीयलाई आउजाउमा समस्या छ । तनहुँको दमौलीबाट घुमाउने घाटसम्म नियमित रूपमा साना बस आउने जाने गरेका छन् तर पुल नहुँदा ती बस नारायणगढ–मुग्लिन सडकखण्डसम्म आउन सक्दैनन् । पुलको निर्माणपछि नारायणगढ आउन पोखरा, बागलुङ, पर्वत, बेनी, स्याङ्जा र दमौलीका बासिन्दाले डुम्रे, आँबुखैरेनी र मुग्लिनसम्मको थप ३० किलोमिटर सडक प्रयोग गर्नु पर्दैन ।