काठमाडौँ, मङ्सिर १७ गते । इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले आफ्नो अग्रता बलियो बनाउँदै लगेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले वल्भ्सलाई २–१ गोलले हरायो ।
घरेलु मैदानमा आर्सनललाई जिताउन बुकायो साका र मार्टिन ओडेगार्डले गोल गर्नुभयो । वल्भ्सका म्याथिअस कुन्हाको गोल सान्त्वना बन्यो । आर्सनलले छैटौँ मिनेटमा साकाको गोलका अग्रता लिएको थियो । त्यसपछि १३औँ मिनेटमा ओडेगार्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो ।
आर्सनलको गोलपछि जोसिएको वल्भ्सका लागि ८६औँ मिनेटमा कुन्हाले गोल गरे पनि टोलीको हार टरेन । जितसँगै आर्सनलले १४ खेलबाट ३३ अङ्क बनाएको छ । पराजित वल्भ्स १५ अङ्कसहित १३औँ स्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी २९ अङ्कसहित दोस्रो स्थानमा छ ।
यस्तै शनिबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडलाई न्युक्यासल युनाइटेडको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा न्युक्यासलले म्यानचेस्टर युनाइटेडलाई १–० गोलले हरायो । न्युक्यासलको जितमा एन्थोनी गोर्डनले ५५औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।
जितसँगै १४ खेलबाट २६ अङ्क बनाएको न्युक्यासल पाँचौँ स्थानमा उक्लिएको छ । पराजित युनाइटेड २४ अङ्कसहित सातौँ स्थानमा छ । एजेन्सी