• १३ असोज २०८१, आइतबार

थकाली भाषा र संस्कार लोप हुने चिन्ता

blog

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विमला गौचन । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, मङ्सिर १७ गते । मुस्ताङको थाकखोला क्षेत्र उद्गमस्थल भएका थकाली समुदायले मुख्य पहिचान थकाली भाषा, संस्कृति तथा संस्कार एवम् सभ्यता लोप हुने चिन्ता व्यक्त गरेका छन् । 

म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा थकाली समुदायका अगुवाले चिन्ता व्यक्त गर्नुभएको हो । पछिल्लो समय आधुनिकतासँगै आगन्तुक भाषाको प्रयोग बढी हुन थालेपछि थकाली भाषा बोल्नेको सङ्ख्या घट्दैगएको र आफ्नो जातीले अनिवार्य गर्नुपर्ने काममा नयाँपुस्ताको चासो कम हुँदैजाँदा भाषा संस्कार लोप हुने हिकी भन्ने चिन्ता व्यक्त गरेका थिए ।

थकाली सेवा समाज नेपाल र थकाली अनुसन्धान केन्द्रको मुख्य आयोजनामा सुरु भएको १५ दिने थकाली जातिको खिमीच्हुव तथा तोरन्ल क्होइ प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले परम्परा, रीतिरिवाज, धर्म, संस्कृति, भाषा र विविधता जोगाउनतर्फ अब ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “थकाली जातिले जन्मदेखि मृत्युसम्मका परम्परागत संस्कृतिको जगेर्नामा युवापुस्ताको सक्रियता र नेतृत्व आवश्यक छ ।” कार्यक्रममा सामाजिक व्यक्तित्व तथा पूर्व राज्यमन्त्री भीमप्रसाद गौचनले हरेक थकालीले आफ्ना धर्म, संस्कृति, भाषालाई अनिवार्य प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । 

थकाली अनुसन्धान केन्द्रका उपाध्यक्ष एवम् तालिमका प्रशिक्षक गोन्द्रमान भट्टचन, अध्यक्ष नरेशकुमार तुलाचनले थकाली समुदायको उत्थान र विकासमा भाषा र संस्कृतिको संरक्षण गर्न थकाली समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । 

प्रशिक्षण कार्यक्रम थकाली सेवा समाज नेपालका अध्यक्ष गजेन्द्र तुलाचनको अध्यक्षतामा भएको थियो । तालिमको अवसरमा अनुसन्धान केन्द्रबाट प्रकाशित थकाली जातिको खिमीच्हुव तथा तोरन्ल क्होई पुस्तक समेत विमोचन गरिएको थियो । 

थकाली जातिमा छोप्ने विवाह, मागी विवाह, प्रेम विवाह रहे पनि खिमीच्हुव गरेमात्र विवाहले मान्यता प्राप्त हुने थकाली युवा नेपालका सचिव दिलीप गौचनले बताउनुभयो । १५ दिनसम्म थकाली जातिको संस्कार, खिमीच्हुव तथा तोरन्ल क्होईमा केन्द्रित भएर तालिम दिइने थकाली सेवा समाज  नेपालले जनाएको छ ।