• १४ फागुन २०८०, सोमबार

स्याङ्जाको आँगनमा सिर्जना उत्सव

blog

काठमाडौँको चक्रपथमा भइरहेको भिड जम्मा र खुला–बन्द जस्ता हल्लाको बेवास्ता गर्दै कलङ्कीमा जम्मा भएर यात्रा थाल्दा बिहानको साढे छ बजिसकेको थियो । वालिङ प्रज्ञा–प्रतिष्ठान, वालिङ नगरपालिका आयोजक रहेको कृति लोकार्पण, विमर्श एवं स्रष्टा सम्मान तथा विशेष काव्य वाचन समारोहमा सहभागिता जनाउन थालेका थियौँ यात्रा । इतिहास र बजेट हेर्ने हो भने राजमार्गको यात्रा सरल र छरितो हुनुपर्ने हो । समयले अघि बढाए पनि मानसिकताले पछि पर्दै आएका हामी समयलाई बिर्सिएर समयमै काम गर्न सक्दैनौँ । हामी पनि अरूले डो¥याएको वा यसो भनौँ अरूले बनाएको राजमार्गमा, अरूले चलाएको वाहनमा यात्रारत थियौँ । चट्ट परेर घरबाट हिँडेका हामी मुकाम पुग्दासम्म झट्ट हेर्दा नचिन्ने अवस्थामा पुगिसकेका थियौँ । हाम्रा राजमार्गले दिएको धुलो नै हाम्रो पहिचान थियो, अरूले हम्मेसी चिन्नै नसक्ने । यात्रामा जतिसुकै सास्ती खेप्नु परे पनि मुकाममा पुगेपछि भने फुरुङ्ग परियो आयोजकहरूको आतिथ्यता र स्वागतले । त्यस दिनको कार्यक्रम यति नै थियो । काठमाडौँबाट सखारै थालेको यात्रा साहित्यकार एवं साहित्यिक पत्रकार श्रीओम श्रेष्ठ, कवि माधव बिडारीसहितको हाम्रो टोली साँझ झमक्क भएपछि वालिङ पुगेको थियो । विराटनगरबाट आउनुभएका अर्का साहित्यकार विवश पोखरेल त्यतिन्जेल स्याङ्जा पुगिसक्नुभएको थियो । यही यात्राको जोखिम र नमिठो अनुभूति भोग्दै धन्न कार्यक्रममा सहभागी हुन आइपुग्नुभएका उहाँले कुनै दिन लेख्नु पनि होला, डरलाग्दो यात्राको कहालिलाग्दो संस्मरण । अतिथिका रूपमा हामी चार जनालाई स्वागत गर्ने मात्र कार्यक्रम रहेछ त्यस दिन । भोलिपल्ट बिहान ११ बजे मात्र औपचारिक कार्यक्रम भएकाले मङ्सिर ९ गतेको बिहानको समय वालिङ घुम्दै बिताइयो । 

साहित्य क्षेत्रमा स्याङ्जाको सक्रियता केही वर्षयतादेखि बढ्दो छ । स्याङ्जामै एकै दिन दुई–दुई वटा राष्ट्रियस्तरका साहित्यिक कार्यक्रम हुँदै थिए । साहित्य लेखनमा पनि उत्तिकै सृजनशील स्याङ्जाको दैलोमा टेक्न पुगेका थियौँ र त देख्न पाइयो चलायमान स्याङ्जा । अनौपचारिक रूपमा साहित्यिक भलाकुसारी, एक अर्काको अनुभव अनुभूति सुन्ने सुनाउने, अवलोकन, कृति आदान प्रदान जस्ता काम भए । औपचारिक कार्यक्रम हुने दिन मङ्सिर ९ गते बिहानको ११ नबज्दै कार्यक्रम स्थालमा स्थानीयहरू, विद्यार्थी, सर्जकको आगमन सुरु भइसकेको थियो । कविता सुन्न र सुनाउन उत्सुक युवा युवतीको सङ्ख्या बढी भएको सो भिडमै मिसिएका थियौँ हामी पनि । मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेस्टुरेन्टको सभाकक्षमा निर्धारित समयभन्दा केही ढिलो प्रतिष्ठानका सदस्य अनन्त अर्यालको सभापतित्वमा समारोह सुरु भएपछि चार घण्टासम्म चार थरी कार्यक्रम भए । कृति विमोचन, पुरस्कार अर्पण, विमर्श र विशेष काव्य वाचन । स्याङ्जामा रहेर साहित्यमा क्रियाशील युवा साहित्यकार मिलन समीरका मिलन समीर र मिलन समीरहरू (कविता सङ्ग्रह) र शम्भु अर्यालको मौन आवाज (निबन्ध सङ्ग्रह) को प्रमुख अतिथि श्रीओम श्रेष्ठ, स्रष्टाका अभिभावकहरूले संयुक्त रूपमा विमोचन गरिएपछि कृतिका बारेमा क्रमशः कुमार राना र अनन्त अर्यालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । 

साहित्यकार शम्भु अर्यालले आफ्ना अग्रजको स्मृतिमा स्थापना गर्नुभएको स्थानेश्वर शर्मा अर्याल स्मृति राष्ट्रिय प्रतिभा पुरस्कारबाट साहित्यकार विवश पोखरेललाई सम्मानित गरिएको थियो । सम्मानित स्रष्टाका बारेमा साहित्यकार मिलन समीरले प्रकाश पार्नुभएको थियो । विवश पोखरेल नेपाली साहित्यमा विशेषतः कथा, कविता लेखनमा निरन्तर कलम चलाउने नाम चलेको स्रष्टा हुनुहुन्छ । विराटनगर बसेर साहित्यिक गतिविधिमा उहाँले देखाएको सक्रियता अनुकरणीय र आरिसलाग्दो पनि छ । यस्ता साधकलाई सम्मान गर्नु प्रशंसनीय कार्य हो । कार्यक्रमको यो चरणको समाप्तिसँगै थालियो विशेष काव्य वाचन । वसन्ती अधिकारी, स्मारिका अर्याल, लक्ष्मी खनाल, कला पाठक, दिलीप तिवारी, उदय अतीत, नारायण विश्वकर्मा आक्रोश, सिजन अर्याल, चण्डिकाप्रसाद भट्टराई, दीपक पराजुली, पारिश्वर न्यौपाने, लक्ष्मी अधिकारी, धु्रवप्रसाद शर्मा पंगेनी, सूर्यप्रसाद डुम्रेका कविता, गजल, मुक्तक सुनिए । त्यसपछि सम्मानित व्यक्तित्व, अतिथि, विशिष्ट अतिथि, प्रमुख अतिथिका मन्तव्य र कवि माधव बिडारीले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाण, निवर्तमान प्रमुख दिलीपप्रताप खाण र आयोजकका तर्फबाट वसन्त खनालले बोल्नुभएको थियो । धन्यवाद ज्ञापन, सभापतिको मन्तव्यसहित औपचारिकता सकिएपछि कार्यक्रमले बिट मा¥यो चार घण्टाको अवधि लिएर । 

त्यसै दिन पनि स्याङ्जामा ज्याग्दीखोला प्रतिष्ठानको कार्यक्रम थियो । प्युठानमा आयोजना भएको नेपाल बाल साहित्य समाजको सम्मेलनका सहभागीहरू पनि पुगेका थिए । यता वालिङमा आयोजित समारोहमा किशोर–किशोरी, युवा–युवतीको सङ्ख्या पनि उल्लेख्यै थियो । विद्यालय पोसाकमा देखा परेका अधिकांशका कविता सुन्नलायक थिए । प्रेम र यौनका कविताभन्दा दर्शन र जीवन जगत्का कुरा तिनका कवितामा सुन्न पाइयो । देश प्रेम र प्रकृतिप्रतिको अनुराग पनि त्यत्तिकै सशक्त रूपमा आएका थिए । पुराना पुस्ताका कविहरूमा भिन्नै उत्साह देखिन्थ्यो । आफ्ना पेसागत अनुभूति, जीवन बाँच्ने क्रममा भोगेका अनुभूति, अनुभव कवितामा अभिव्यक्त भएका थिए । नयाँ पुस्ताका कवि कवयत्रीमा कविताप्रतिको चासो र सिर्र्जनामा प्रशस्त सम्भावना देखिन्थ्यो । कविता पढ्ने र हिँड्ने प्रवृत्ति कमै देखियो । उमेर पुगेका तर साहित्यमा कलम नचलाउनेहरूको कविता सुन्नमै रमेका थिए । आयोजकहरूको विशेष गरी साहित्यकार मिलन समीर र शम्भु अर्यालको क्रियाशीलता बढी देखिन्थ्यो । कविता भन्ने सुनाउने नाममा मञ्चमा उक्लेर दर्शक श्रोताका सामुन्ने हल्का कविता सुनाउनेहरू चाहिँ देखा परेनन्, मन्तव्यको नाममा लम्बेतान भाषण गरेर पट्यार लाग्ने काम पनि वक्ताहरूले गरेनन् । अझ आयोजकहरूले नै अघि सरेर कविता सुनाएको पनि सुनिएन । समयलाई ध्यान दिएर अतिथि, सहभागीहरूको सम्मानमा आयोजकले ध्यान दिएको देखिन्थ्यो । कार्यक्रममा मञ्चमा राख्ने र उपस्थितहरूको नाम पढ्दै जाने काम भने भयो । कार्यव्रmमको अलि खल्लो पक्ष नै यो रह्यो । त्यसो त आयोजकहरूको बाध्यता, उपस्थितहरूको सम्मानमा यसो गरिएको पनि हुनसक्छ । 

स्रोत जुटाउनु, सहभागीहरू भेला पार्नु, कार्यक्रम तय गर्नु, सबैको चित्त बुझाउनु अनि सबै कुराको व्यवस्थापन गर्न खटिनु लरतरो आँटले सकिँदैन । सकिँदो रहेछ भन्ने उदाहरण प्रस्तुत गरेरै छाडे आयोजकहरूले । सहभागीहरूको उत्साह, सर्जकहरूको सिर्जना, सहयोगीहरूको साथ र सहयोग र स्थानीयको स्वागत सत्कारमा थपिएको थियो कार्यक्रम आयोजक वालिङ प्रज्ञा प्रतिष्ठानको प्रयास । कार्यक्रम सकाएर भोलिपल्ट मङ्सिर ११ गते काठमाडौँ फर्कंदा छनोट गरेको माइक्रो बसको यात्रााले थिलथिलो पारेको शरीर र थाकेको मनलाई समेत शान्त पारेको थियो मिर्दी साहित्य महोत्सवले । यात्रा आफैँमा रमाइलो हो तर हामीकहाँ निर्माणको नाममा वर्षौंदेखि राजमार्गको निर्माण क्रम अविरल रहन्छ । यही अलमले प्रवृत्तिले आठ घण्टाको यात्रा तय गर्न १२ घण्टा खर्चेर शरीर थिलथिलो बनाउनु र त्रासमा यात्रा गर्नुको विकल्प छैन । बसको नाममा अटेजति यात्रु कोचेर हुइँकाउनेहरूकै शरण परेर बस्नुको विकल्प के रह्यो र ? र पनि हामी निरन्तर लेखिरहेका छौँ यात्रा संस्मरण । निरन्तर भइरहेका छन् यस्तै सम्मेलन, गोष्ठीहरू । सबै सुस्त र पछि हिँड्ने हो भने चुस्त भएर अघि बढ्ने चाहिँ को नि भने झैँ सर्जकहरूको क्रियाशीलताको अब्बल उदाहरण थियो यसपालिको यात्रा र कार्यक्रम ।  

Author

जयदेव भट्टराई