सिँजा गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार कर्णाली प्रदेशको जुम्ला जिल्लामा पर्छ । यस गाउँपालिका नेपालको राजधानी काठमाडौँबाट ८११.८ किमी पश्चिम र कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतबाट करिब २३०.५ किमी उत्तरतर्फ पर्छ । १५३.२९ वर्ग किमी कुल क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा चन्दननाथ नगरपालिका, पश्चिममा कालीकोट जिल्ला, उत्तरमा कनकासुन्दरी गाउँपालिका र दक्षिणमा हिमा र तातोपानी गाउँपालिका रहेका छन् । जुम्ला जिल्लाको आठ वटा स्थानीय तहमध्ये सिँजा गाउँपालिका पनि एक हो । यो गाउँपालिका साबिकको धापा, नराकोट र शनिगाउँ गाविस समावेश गरी बनाइएको हो । पछिल्लो जनगणना, २०७८ अनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या १२,५५६ रहेको छ ।
स्थानीय खस संस्कृतिको मौलिकता बोकेको यस गाउँपालिका नेपालमा खस भाषाको उद्गम स्थल । सिँजा नेपालका तत्कालीन बाइसी राज्यको शक्तिशाली राज्यको रूपमा परिचित भएकोले यस गाउँपालिकालाई सिँजा गाउँपालिका नामकरण गरिएको हो । यस गाउँपालिकामा मुख्यतयाः ब्राह्मण, क्षेत्री, ठकुरी, जनजाति तथा दलित आदि विभिन्न जातजातिका मानिस बसोबास गर्दै आएका छन् । यो गाउँपालिका मुगुको रारा ताल जाने पथको रूपमा रहेको छ ।
आफ्नै स्थानीय मौलिक परम्परा, संस्कृति, रहनसहन, वेशभुषा र मूल्य मान्यता बोकेको यस गाउँपालिका सामाजिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय धरोहरको रूपमा रहेको छ । यहाँ रहेका स्थानीय वेशभुषामा दौरा सुरुवाल, गुनिउ चोली, पटुकी, कालो काम्लो, ढाका टोपी, बाला, मडअरी, चक्री, तिलहरी, बुलाखी, कल्ली, दुलडी, पोते, दोचा, मोची आदि, कला संस्कृतिमा खस, स्थानीय देउडा, मागल, झुडा, चुट्किला, स्थानीय पयठ, ढाल, साइतर, ठाडीभाखा आदि यहाँका अमूल्य सम्पत्ति हुन् । साथै यत्रतत्र छरिएर रहेका पञ्चदेवल, काठका पुलहरू र त्यहाँ कुँदिएका विभिन्न कलाकृतिले पनि यस क्षेत्रको सभ्यता दर्शाउँछ ।
सिँजा गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक सुन्दरताको साथै पर्यटकीय दृष्टिकोणबाट अति महत्वपूर्ण छ । गाउँपालिकामा रहेका पर्यटकीय स्थानमा रमणीय सिँजा उपत्यका, बारे, केदारनाथ पर्यटकीय क्षेत्र, त्रिदेवल, विन्दासैनी पर्यटकीय क्षेत्र, सिँजा सभ्यता खस सङ्ग्रहालय, पञ्चदेवल आदि रहेका छन् । धार्मिक रूपमा मनाइने रोपाइ जात्रा, चाडपर्वहरूमा कृष्णा अष्टमी, तिज, जनैपूर्णिमा, दसैँ, तिहार, माघे सङ्क्रान्ति पुस पन्ध्र, चैते दसैँ आदि प्रमुख रहेको छ । हिन्दु धर्मालम्बीको उच्च बाहुल्यता रहेको यस क्षेत्रमा नेपाली खस भाषालाई मातृ भाषाको रूपमा मानिन्छ ।
यहाँको मुख्य आम्दानीको स्रोत भनेको प्राङ्गारिक कृषि हो भने सहायक रूपमा जडीबुटी, पशुपालन, फलफूल र ज्याला मजदुरीको रूपमा लिने गरेको पाइन्छ । रोजगारी र जीवन यापनका लागि हिउँदे समयमा भारतमा गई व्यवसाय गर्ने र ज्याला मजदुरी गर्ने गरेको पाइन्छ । स्याउ, ओखर, सिमी, फापर, मकै, मार्सी धान, चिनु, कागुनु तथा विभिन्न तरकारीबाली यहाँका मुख्य कृषि उत्पादन हुन् भने पशुपालनमा भेडाबाख्रा, मौरी, गाई, भैँसी, खरायो, खच्चडपालन आदि रहेका छन् ।
पर्यटनले विकास गर्न नवीन सोच आवश्यक पर्छ । परम्परागत स्रोत र साधन पर्यटनका अपार सम्भावना हुन् । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसायमा पर्यटन फस्टाउँदो व्यवसाय हो । स्वदेशी तथा वैदेशिक पुँजीको लगानीबाट विकासशील देशले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै धार्मिक पर्यटकीय क्षेत्रबाट नयाँ आयाम विस्तार गरेको पाइन्छ र सिँजामा त्यस्तो सम्भावना पूरै छ ।
आआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भूराजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेका छन् । समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूमिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । कर्णालीका निम्ति त रोजगारी सिर्जना अझ महत्वपूर्ण छ ।
नेपालको प्राकृतिक भूधरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषि पछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।
यस क्षेत्रमा तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट आर्थिक, सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्छ ।
भगवान् गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशको रूपमा मात्र विश्वमा परिचित नभई पर्यटन, जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रको रूपमा समेत चिनिन्छ । आर्य तथा मङ्गोल संस्कृतिको सङ्गम स्थल रहेको क्षेत्र हिन्दु तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्राम स्थलको रूपमा रहेको छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायबिच सदियौँदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मेहनती समुदायको साझा फूलवारी हो ।
हाम्रो देश प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचे अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीय स्थल हुँदाहुँदै पनि कर्णालीका सिँजा भने जस्तो पर्यटकीय विकास हुन सकेको छैन । यसमा पर्यटनमा अनेक अवरोध छन् । ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण एवं प्रवर्धन प्रभावकारी नहुनु, पर्यटकीय क्षेत्रको पहिचान एवं सम्भावनाका लागि कुनै योजना नहुनु, व्यवस्थित रूपमा होमस्टेलगायत पर्यटकीय सुविधाको उपलब्धतामा कमी, सुरक्षित पर्यटनप्रति आश्वस्त पार्न नसक्नु एवं व्यवस्थित होटल नहुनु, पर्यटन प्रवर्धनका निम्ति आवश्यक नीतिनियम तथा ज्ञानको अभाव, पर्यटकीय विकासका लागि आवश्यकीय सञ्चार तथा सूचना, बाटो, धारा, पथ प्रदर्शक होटल व्यवसाय, बैङ्क, वित्तीय संस्थाको अभाव र भरभपर्दाे विद्युत् सेवा नहुनु यस गाउँपालिकाको प्रमुख समस्याको रूपमा रहेको छ । पर्यटन विकासमा यी अवरोध नै हुन् ।
सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण सिँजा क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्न सके सिँजा क्षेत्र आकर्षणको केन्द्र बन्न सक्छ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवर्धन जरुरी छ । ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहना अनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्धन गर्नु अहिले समयको मागसमेत हो ।
यस क्षेत्रका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रको समग्र आम्दानीमा कृषि तथा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ ।
सिँजा क्षेत्रमा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य सङ्घ र निजी क्षेत्रको समेत संलग्नतामा आआफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा नयाँ मार्गचित्र कोर्नु जरुरी छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । यसको लागि सङ्घ र प्रदेशको सहकार्यमा स्थानीय सरकारले मुख्य भूमिका खेल्नु आवश्यक छ ।