• १४ फागुन २०८०, सोमबार

टप्पुवासी त्रासदीमा

blog

वर्षा गएसँगै टप्पुवासी सन्तोषले सास फेर्न थाल्छन् । कोसीको सतह घट्दै जादा टप्पुवासीमा हिम्मत पनि बढ्छ तर फेरि अर्काे वर्षायाम आउँछ र कोशीको पानीको सतह बढ्दा बस्तीसँगै पानीमा विलीन हुने हो कि भन्ने त्रासबाट भने उनीहरू कहिल्यै मुक्त हुन सकेका छैनन् । 

यस वर्ष टप्पुवासीका लागि गएका वर्षहरूभन्दा कष्टकर रह्यो । कोशी नदीमा पानीको सतह गएका दशकभन्दा बढी भएपछि टप्पुवासीमा त्रासदी बढ्यो । नदीले गरैया टप्पु क्षेत्रमा तीव्र कटान गरेपछि नदी उकास क्षेत्रमा रहेका आधा दर्जन घर सार्नु परेको थियो । पछिल्ला केही वर्षदेखि त्यहाँ कटान हुन थालेपछि टप्पु क्षेत्र प्रत्येक वर्ष खुम्चिँदै छ । टप्पुसँगै टप्पुवासीको आशा पनि खुम्चँदै छ । टप्पुमै जन्मिएर हुर्किएका ३३ वर्षीय अनिल चन्द्रवंशीलाई बाँकी जीवन त्यही व्यतीत हुन्छ भन्नेमा कुनै निश्चिन्तता छैन । 

चारैतिरबाट कोशी नदी सुसाउँदै बगिरहने ठन्डा हावा पानी र स्वच्छ वातावरण भएकैले सबैको रोजाइमा पथ्र्याे श्रीलङ्का टप्पु । प्रशस्त मात्रामा अन्न उब्जनी हुने भएकाले पूर्वी पहाडी क्षेत्र सोलुखुम्बु, खोटाङ, भोजपुरलगायतका पहाडी क्षेत्रबाट बसाइँ सर्नेहरूको पहिलो रोजाइ नै श्रीलङ्का टप्पु हुने गरेको थियो । पशुपालनका लागि प्रशस्त मात्रामा चरन क्षेत्र भएकाले टप्पुमा सबैको नजर थियो । बलौटे दोमट माटोमा प्रशस्त अन्न उब्जनी हुन्थ्यो । 

चारैतिर कोशी नदी र बिचमा ठुलो क्षेत्रफलमा पैmलिएको हरियो टप्पुमा रहेका टोल र गाउँको बेग्लाबेग्लै नाम थिए । सुन्दर गुन्दर बस्ती, जामपानी, कम्बर टोल, तामाङ टोल, बिर्खे टोल, गराइयालगायतका बस्ती त्यहाँ जमेर रहेका थिए । यहाँ चन्द्रवंशी, राई, लिम्बू, बाहुन, क्षेत्री, मगर, कविरथ, झागड, यादवलगायत जातजातिको बसोवास छ । 

अनुकूल वातावरणका कारण कृषि उपज र पशुपालन असाध्यै राम्रो हुने भएकाले दशकौँदेखि त्यहाँ रहेर जीविका चलाइरहेकाहरूले टप्पुलाई चटक्कै छोड्न सकेका छैनन् । खेती किसानी गरेर बस्नुभएका बद्री राई भन्नुहुन्छ, ‘‘आफू बसेको थातथलो कहाँ छोड्न सकिन्छ र ? कट्ठाको आठ मन मकै उत्पादन हुन्छ, अन्य रैथाने बाली पनि राम्रै उब्जनी हुने गरेको छ । पशुपालनका लागि चरन क्षेत्र छ । कोशीमा आउने बाढी र कटानले पीडा त दिन्छ नि तर छोडेर जान नसकिने रहेछ ।”

२००१ सालमा खड्ग निसान लालमोहरबाट नेपालका ६६ जना भाइ भारदारहरूले आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेपछि श्रीलङ्का टप्पुमा मानिसको बसोवास हुन थालेको हो । त्यतिबेला टप्पु क्षेत्रको क्षेत्रफल हालको भन्दा दुई गुणा ठुलो थियो । चारैतिरबाट कोशी नदी सुसाउँदै बगिरहने भएकाले हावा पानी ठन्डा र वातावरण स्वच्छ थियो । 

२००९ सालमै यस क्षेत्रका केही जग्गाहरू नम्बरीमा दर्ता भइसकेका थिए । जनताले जोतभोग गरेर बसेका थिए । २०१० सालमा शमशेर जङ्गबहादुर राणासहितका ६६ जनाले आफ्नो जग्गाको सिमानासमेत कायम गरेका थिए । त्यतिबेला जोतभोग गरेर बसेका जनता उठाउने प्रयास प्लटवालाहरूले गरेकाले जनता सङ्घर्षमा समेत उत्रनु परेको थियो । २०१२ सालमा सप्तकोशी नदीको पूर्वी तटबन्ध निर्माण हुन थालेसँगै भारतको मालदह, विहार र यूपीबाट हजारौँको सङ्ख्यामा तटबन्धको काम गर्न आएका कामदार पनि त्यहीँ बस्न पुगे । जसबाट सो स्थानमा अन्य जातिको समेत समुदाय बन्न थाल्यो । टप्पुको जनसङ्ख्यासमेत बढ्यो । तत्कालीन अवस्थामा भोक्ताहा पञ्चायत वडा नम्बर ९ महेन्द्रनगर पञ्चायत वडा नम्बर ५ र ६ लगायतका वडाहरू थिए । प्रकाशपुर ४ र ५, महेन्द्रनगर वडा नम्बर ५ र ६ उदयपुरको तपेश्वरी गाविसको वडा नम्बर २ मा रहेको श्रीलङ्का टप्पुमा १२ हजारभन्दा बढीको सङ्ख्यामा मानिस बसोवास गर्दै आएका थिए ।

हाल बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६, ९; बेलकाको २ र ३ वडा टप्पुमा पर्छ । १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइको क्षेत्रफलमा फैलिएको टप्पु सात हजारभन्दा बढीको सङ्ख्यामा मानिसको बसोबास रहेको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष उद्धव पोख्रेलले बाताउनुहुन्छ । 

जोखिममय जीवन 

पाँच वर्षअघिसम्म टप्पुवासीका लागि यातायातको साधन भनेको डुङ्गा मात्र थियो । दैनिक जीविकाका लागि समेत डुङ्गाको प्रयोग अनिवार्य नै थियो । त्यसरी डुङ्गाबाट कोशी वारपार गर्दा समय समयमा हुने डुङ्गा दुर्घटनामा धेरैको ज्यान गएको छ । साना बालबालिकादेखि बुढापाकाहरू घरबाट कतै जानु परे र कुनै आपत्विपत् आइपरे जय कोशी महारानी भनेर कोशीलाई पुकार्छन् । 

२०६३ सालमा जन्ती बोकेको डुङ्गा पल्टँदा १९ जनाले ज्यान गुमाए । त्यती मात्र पनि होइन, समय समयमा आरक्ष क्षेत्रबाट निस्कने जङ्गली जनावर र अवैधानिक रूपमा छाडा छोडिएका र अन्यत्रबाट चरनका लागि ल्याएका चौपायाबाट पनि पीडित छन् टप्पुबासी । वर्षायामभरि कोशीले मच्चाउने वितण्डताबाट त्रसित टप्पुवासीलाई हिउँदमा भने जङ्गली हात्तीको त्रास उत्तिकै रहन्छ । 

कहिले काहीँ अपहरणकारी, हत्यारा, विभिन्न आपराधिक गतिविधिमा संलग्नको आश्रय स्थल पनि बनिदिन्छ यो टप्पु । त्यहाँको सुरक्षाका लागि राज्यले प्रहरी चौकीको स्थापना नगरिदिएको गुनासो टप्पुवासीका छ । 

टप्पुमा दुई वर्षअघि मात्रै बिजुली पुग्यो । त्यसअघि भने प्रकाशपुर, महेन्द्रनगरलगायतका क्षेत्रमा बलेको झिलिमिली हेरेर टप्पुवासीले चित्त बुझाउनुको विकल्प थिएन । सङ्घीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा टप्पुमा बिजुली पुगेपछि केही परिवर्तन आएको छ । कृषि सिँचाइका लागि बिजुली वरदान साबित भएको टप्पुवासीहरू बताउँछन् ।

परबलको राजधानी नामले समेत प्रख्यात यस क्षेत्रमा आजकल परबल लोप भइसकेको छ । टप्पुको जीवनयापन कृषि र पशुपालनमा आश्रित छ । टप्पुमा धान फल्दैन । गहुँ, मकै, कोदो, बदाम, तरकारी, उखु, बेसारको उत्पादन भने लोभलाग्दो हुन्छ ।  

श्रीलङ्का टप्पु सुनसरीको पश्चिमी सिमाना र उदयपुरको पूर्वी सिमाना छुट्याउने सप्तकोशीको भेल र कोशीको सिपेजको बिचमा पर्छ । सप्तकोशी नदीले बेलाबेला धार परिवर्तन गर्दा यहाँ गाउँहरू कटानमा पर्छन् । नदी उकासमा रहेको गाउँहरू विस्थापित हुन पुग्छन् । कोशीको डुबान र कटानमा परी ०२५, ०२६, ०३५, ०३६, ०३९, ०४०, ०४१, ०४३, ०४४ र ०४५ सालमा टप्पुवासीले ठुलै क्षति बेहोर्नु प¥यो । अहिले पनि काटानको उच्च जोखिममा छँदै छ । प्रत्येक वर्ष नदीले कटानको वेग बढ्दो छ । 

२०३५ सालमा तत्कालीन मन्त्री मरिचमान सिंहबाट टप्पुवासीलाई जग्गाको लालपुर्जा वितरण भएको थियो तर हातमा लालपुर्जा भए पनि जग्गामा कोशी बगेको टुलुटुलु हेर्न बाध्य छन् जग्गाधनी । उनीहरूले न उचित राहत पाउँछन् न त क्षतिपूर्ति नै । 

चार महिना सम्पर्कविहीन 

वर्षायामको चार महिना बाँकी दुनियाँसँग टप्पुको सम्पर्क विच्छेद झैँ हुन्छ । हरेक वर्षको जेठदेखि भदौसम्म कसरी कट्ने भन्ने चिन्ताले टप्पुवासीलाई पिरोल्छ । कोशीमा बाढी आउन थालेपछि डुङ्गाको सहाराले पनि साथ छोडिदिन्छ । ती दिनहरूमा टप्पुवासी भगवान्प्रति ठुलो आस्था र भरोसा राख्दछन् । कोही अचानक बिरामी भए टप्पुमै रहेको स्वास्थ्य चौकीमा उपचार गराउनु र भगवान्सँग प्रार्थना गरेर बस्नुको विकल्प रहँदैन । कोशीको काटनले टप्पुको अस्तित्वै राख्ला, नराख्ला भन्ने त्रासदी रहिरहन्छ । छपन्न वर्षीय बद्री राई भन्नुहुन्छ, “पाँच वर्षदेखि कोशीको कटान टप्पुतिरै बढेको छ । राज्यको विभेदकै कारणले गर्दा टप्पुवासी देशमा शरणार्थी भएका छन् ।’’ 

कसरी रहयो टप्पुको नाम ‘श्रीलङ्का’ ?

अढाइ दशक अघिदेखि मात्रै टप्पुलाई श्रीलङ्का टप्पु भन्न थालिएको हो । टप्पुमा बस्नेहरूलाई थाहै नभई श्रीलङ्का टप्पुको नामले चिनिन थाल्यो । उनीहरूबिच नै बेलाबेला खुल्दुलीको विषय बन्छ, आफ्नो ठाउँको नाम कसरी श्रीलङ्का भयो ? 

कोशीको तटबन्धको काम गर्नका लागि श्रीलङ्काबाट पनि मजदुर आएका थिए । त्यहीँबाट पछि टप्पुको नाम श्रीलङ्का रहन गएको भन्ने भनाइ पनि छ । श्रीलङ्का (चारैतिर समुद्रले घेरिएको) देश जस्तै चारैतिर नदीको बिचमा टप्पु रहेकाले ‘श्रीलङ्का’ उपमा दिइएको भन्ने भनाइ पनि छ । 

टप्पुमा विद्यालय 

टप्पुवासी शिक्षामा पनि पछाडि नै परेका छन् । टप्पुमा रहेका कौशिका आधारभूत विद्यालय, बालसेवा प्रावि र जनता निमावि गरी तीन वटा आधारभूत विद्यालय रहेका छन् । मावि तहको एउटै पनि विद्यालय नहुँदा आधारभूत तहको पढाइसँगै धेरै बालबालिकाले पढाइमा विराम लाग्ने गरेको छ । कसैकसैले मात्रै नदीपारिका भागलपुर, प्रकाशपुर, महेन्द्रनगरमा आफन्तकोमा बसेर पढाइलाई निरन्तरता दिन्छन् । एउटा मावि तहको विद्यालय नहुँदा अभाव र गरिबीले पीडित बालबालिका शिक्षाको नैसर्गिक हकबाट वञ्चित हुनु परेको टप्पुका अनिल चन्द्रवंशी बताउनुहुन्छ । 

बाहिरबाट देख्ने र सुन्नेहरूका लागि चारैतिर कोशीले घेरिएको, हराभरा सुन्दर बस्ती देखिए पनि त्यहाँका बासिन्दाको आफ्नै पीडा छ । सास जोगाउन र जीवन धान्नका लागि सङ्घर्षरत टप्पुवासीको पीडामा राज्यले मल्हम लगाउन पर्यटकीय स्थलका रूपमा प्रवर्धन गर्न भने सकिन्छ ।   

Author

बाबुराम कार्की