तनहुँ समाचारदाता
भिमाद (तनहुँ), असार २७ गते । पशुलाई कुपोषणबाट जोगाउन तनहुँको भिमाद नगरपालिकाले मकै र घाँसलाई मेसिनबाट गुन्द्रुक बनाउने ‘साइलेज’ प्रविधिको प्रयोग गरेको छ ।
कुपोषण हटाई किसानलाई पशुधनबाट लाभ दिलाउन उक्त मेसिन प्रयोगमा ल्याइएको नगरपालिकाले जनाएको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्धन कार्यक्रम अन्तर्गत वर्षायाममा पलाएको घाँस भण्डार गर्ने ‘साइलेज’ प्रविधिमा आधारित मेसिन खरिद गरी ल्याइएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो ।
वर्षायाममा धेरै हुने घाँस हिउँदमा प्रयोग गर्न पाउँदा किसानलाई पराल तथा दानामा थोरै खर्च गर्दा हुन्छ । यसो गर्दा लागत कम हुने भएकाले ‘साइलेज’ प्रविधिको उद्योग सञ्चालन गर्ने निर्णय गरिएको भिमाद नगरपालिकाका प्रमुख सुवेदीले बताउनुभयो । सुक्खायाममा घाँस अभाव हुँदा दुध उत्पादन घट्ने, गाईभैँसी दुब्लाउने जस्ता कारणले किसानलाई कम नाफा हुने हुँदा पहिल्यै तयार पारेर राखेको ‘साइलेज’ पशु आहारमा प्रयोग गर्न सकिने भएकाले सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत सहभागितमा ८२ लाख रुपियाँमा मेसिन र २५ लाखको संरचना गरी एक करोड सात लाख रुपियाँको लागतमा उद्योग सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले जानकारी दिनुभयो । सुक्खा मौसममा हरियो घाँस अभाव हुने हुँदा ‘साइलेज’ बनाएर राखियो भने पशु आहारका रूपमा प्रयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
पोषण तत्व कायमै रहने गरी हरियो घाँस सुकाएर राख्ने प्रविधि ‘साइलेज’ हो । यो प्रविधिले घाँस अभाव हुने हिउँदमा हरियो घाँस पशुलाई उपलब्ध गराउन सहयोग पुग्छ । प्लास्टिकमा भण्डारण गरेर हावा नपस्ने गरी राखिएको ‘साइलेज’ हिउँदमा पशुलाई खुवाउन मिल्छ । यो उत्पादन गरिएको एक वर्षसम्म प्रयोग गर्न सकिन्छ । घोगा लागेको दुधिलो मकैको बोट ‘साइलेज’ का लागि उत्तम मानिन्छ भने ‘टियो सेन्टी’ नामक घाँसबाट पनि ‘साइलेज’ बनाउन सकिन्छ । ‘साइलेज’ खुवाएको पशुबाट प्रशस्त दुध उत्पादन, पशु वृद्धि, पोषणयुक्त हुने हुँदा मेसिन पालिकामा ल्याइसकिएको र चाँडै सञ्चालन गर्ने तयारी भइरहेको सूचना अधिकारी टेकावती ढकालले बताउनुभयो ।