• १२ साउन २०८१, शनिबार

महिलाको धैर्यता पुरुषको विद्रोह

blog

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइन्छ । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसाविरुद्धको विभिन्न अभियान सुरु भएको हो भने नेपालमा पनि विसं २०७५ देखि निरन्तर रूपमा मनाउँदै आइएको छ । लैङ्गिकताको आधारमा हुने हिंसाको न्यूनीकरण गर्न र हिंसा मानव विरोधी कार्य हो भन्ने जनचेतना जागृत गर्नु यो अभियानको उद्देश्य हो । महिला या पुरुष दुवैलाई हिंसा स्वीकार्य छैन र महिला भएकै कारण हिंसा भोग्नुपर्ने अमानवीय प्रवृत्तिको निर्मूल गर्न घर, समाज र राष्ट्र नै सचेत हुनुपर्ने देखिन्छ । यो चेतनालाई हाम्रा सन्तहरू, विद्वान् र ऋषिमुनिहरूका धारणा मनन ग¥यौँ भने महिला र पुरुष मिलेर बनेको सुन्दर समाजको परिकल्पना भएको अनुभूति गर्न सकिन्छ । समाजमा देखिएको अपूर्णता, केही अभाव र रोषलाई लिएर महान् दार्शनिक ओशो भन्नुहुन्छ, “महिलामा भएको शान्ति, सद्भाव, धैर्य र मौनता र पुरुषमा भएको विद्रोह, नेतृत्व र साहसी गुणवत्ता एक ऊर्जाको रूपमा समाहित हुन सक्ने हो भने संसार स्वर्ग बन्ने थियो । एक अर्काको सहकार्य र समान दायित्व एवं जिम्मेवारीबाट मात्र विकासको अनुभूति गर्न सकिन्छ । जुलियस सिजर हुन् वा नेपोलियन बोनापार्ट या त सुकरात नै ती सबैको सफलताको पछाडि एक महिला थिइन् ।” ओशो भन्नुहुन्छ, “महिलाको प्रशंसा गरेकै कारण म विवादित गुरु पनि बनेको थिएँ तर मलाई स्वीकार्य छ म सधैँ महिलाको सम्मान र प्रशंसा नै गरिरहन्छु । र एक समझदार पुरुषले महिलाको सधैँ आदर गर्दछ किनकि महिला स्रोत हुन्, सृष्टि हुन् जहाँ पुरुष आफ्नो पनि योगदान दिन सम्भव भएको छ । धन कमाएर, प्रतिष्ठा कमाएर, राष्ट्रपति र प्रधानमन्त्री नै बनेर पनि खुसी हुन नसक्ने पुरुष स्वभाव आफ्ना परिवारको सानोतिनो प्रगति र सफलतामा खुसी हुन सक्ने स्वभाव हो महिला । सायद त्यसैले हो महिला राजनीतिमा आईन् भने पछाडि पार्ने प्रयास पनि हुन्छ । आफ्नो नेतृत्वको स्वभाव प्रस्तुत गर्न चाहन्छ पुरुष स्वभाव ।” 

परस्पर निर्भर महिला 

समय र परिस्थितिसँगै महिलाको कुशलतामा पनि विकास हुनु पर्छ । प्राचीन समयमा जस्तो श्रीमान्सँगै परनिर्भर भएर पनि सहज छैन अहिलेको समय । छोराछोरीको शिक्षा दीक्षा, बढ्दो महँगी र महिला स्वयम्ले पाएको शैक्षिक योग्यताको प्रयोगका लागि पनि श्रीमान् श्रीमती एकआपसमा परस्पर निर्भरतामा जिउनु पर्ने जरुरी देखिन्छ । आत्मनिर्भरताले फेरि द्वेष र प्रतिस्पर्धा निम्त्याउने हुनाले दुवैको सहकार्य भनेकै परस्पर निर्भरता हो । छोरीलाई शिक्षाको अवसर, आर्थिक सशक्तीकरण र आर्थिक रूपमा सशक्त बनाउनका लागि उनीहरूलाई विभिन्न आर्थिक अवसर र पहुँच अनि वित्तीय योजना बनाउन र आर्थिक निर्णय लिन सक्ने बनाउनु नै परस्पर निर्भरतामा बाँच्न सिकाउनु र हौसला दिनु हो । राजनीतिक रूपमै सहभागी भएर पनि सार्वजनिक रूपमा आफ्नो सक्रियता जनाई आफ्नो आवाज र सम्पूर्ण महिलाको आवाज उठाउन सक्ने सक्रिय महिला बन्ने अवसर पाउनु परस्पर निर्भरता र महिला पुरुष दुवैलाई सहज वातावरण बन्ने अभ्यास हो । यही सहकार्य विकसित हुँदै गएमा मात्र स्वास्थ्य र न्यायिक सम्मान प्राप्त गर्न सक्ने समाजको निर्माण हुन्छ । महिलालाई कागज र नीति नियममा छुट्याएको अधिकार मात्र चाहिएको होइन समग्र रूपमा विभिन्न स्वास्थ्य योजनाहरू र न्यायिक प्रक्रियामा उनीहरूले अरूलाई पनि मदत गर्न सकून् यो अवस्था महिला सशक्तीकरणको अवस्था हो । न्यायिक समानता, स्वास्थ्य र सुरक्षा, सामाजिक सद्भाव र आत्मीयता, आत्मसम्मान र परस्पर सहयोग महिला चाहन्छन् र उनीहरू यो पाउन लायक र सक्षम पनि छन् ।

अध्यात्मको अभाव हिंसा 

 हिंसा के हो ? कसैलाई चोट नपु¥याइकन आफूखुसी हुन नसक्नु हिंसा हो । कसले गर्छ महिला माथि हिंसा ? पुरुषले ? के पुरुष प्रवृत्ति भनेको हिंसात्मक प्रवृत्ति हो ? अवश्य होइन होला । आदरभाव, प्रेमपूर्ण भाव, सहनशिलता जस्ता गुण दिएको छ प्रकृतिले महिलालाई यो गुणमाथि पुरुषले कदापि हिंसा गर्न सक्दैन । जब ऊ हिंसामा उत्रिन्छ भने उसले मनुष्यको स्वभावबाट हटेर राक्षसी प्रवृत्ति अपनाएको हुन्छ । कुनै देश, कुनै धर्म, कुनै संस्कृति, कुनै भाषामा छैन महिलालाई अन्याय गर्नु भन्ने । महिलाप्रतिको आदर भाव र प्रेमले नै यो संसारको, मनुष्यको सृष्टि भएको हो । पुरुषको, मनुष्य जातिको उद्गम महिलाबाट भयो । आमा, जननी, मातृत्वबाट भयो । पुरुषले आफ्नो उद्गम बिर्सेपछि के हुन्छ ? उसले बाटो बिराउँछ, विवेक गुमाउँछ अनि प्रेमको साटो हिंसा गर्न तत्पर हुन्छ । महिला, जननी, मातृत्व जसको सृष्टिले जीवन दियो, जीवनमा प्रेम पैदा गरायो, जीवनलाई रूपान्तरण गरायो आमाको रूपबाट, दिदीबहिनी, जीवन सङ्गिनीको रूपबाट । खाली कागज स्वरूपको पुरुषको जीवनमा महिलाको आगमन पछि मात्र कविता कोरिन्छ, पुरुषको जीवनमा प्रेरणा थपिन्छ । यसका लागि बाहिरी शिक्षा र बाहिरी चेतनाले मात्र पुग्दो रहेनछ भन्ने उदाहरण बढ्दै गएका महिला हिंसाका उदाहरणले बताउँछन् । बाहिरबाट मनुष्यको आन्तरिक चेतनामा परिवर्तन आउँदैन । 

जति शैक्षिक स्तर बढ्दै गयो, आधुनिकताले स्थान लिँदै गयो त्यति हिंसाको प्रकृति बढ्दै गइरहेको छ । यी सब घटना पुरुषको घमण्ड र पुरुषको सम्मान जोगाउने नाममा अनि पुरुषप्रधान समाज कायम राख्न खोजिने अमानवीय प्रवृत्तिले मात्र बार बार दोहोरिरहेका छन् । समाजमा घट्ने यस्ता हिंसाका कारण मनुष्यको चेतनामा खोज्नु जरुरी छ, मनुष्यको मनोविज्ञानभित्र खोजिनु जरुरी छ । त्योभित्रको पीडा ठिक पार्न, भित्रको प्रेम जगाउन, भित्रको अहिंसाको स्वभावको बोधका लागि थोरै मात्रामा भए पनि आध्यात्मिक ज्ञानको जरुरी छ । जुन आध्यात्मिक ज्ञान मनुष्यको स्वभाव हो त्यो जन्मँदै मनुष्यले लिएर आएको गुण हो । अध्यात्मले प्रेमको मार्ग मात्र प्रस्तुत गर्छ । आफ्नो स्वभावमा बाच्न सिकाउँछ स्वतःस्फूर्त मनुष्य आफ्नो उद्गम, आफ्नो स्वभावमा फर्कन्छ । भित्री चेतना खुलेको मनुष्य समाजले मात्र अहिंसात्मक क्रान्तिको सुुरुवात गर्न सक्छ जुन तथाकथित कागजी, कानुनी, हिंसाविरुद्धका अभियानभन्दा उच्च गुणको क्रान्ति हुन सक्छ । 

मातृत्व बोध 

मातृवत् परदारेषु यः पश्यति सः एव पंडित

सबै महिलालाई मातृत्वको स्थानमा देख्न सक्ने नै महान हुन् । सोचाइ, व्यवहार र बोध उच्च स्तरको भयो भने समाजमा कुनै पनि प्रतिकूल र हिंसाका घटना हुने छैनन् । चेतनाको स्तरबाट तल झर्ने, सही संस्कार र शिक्षा नपाउनु नै हिंसामा उधृत हुनुको कारण हो । सामाजिक र सांस्कृतिक परम्परामा असमानता, शिक्षा र जागरूकतामा कमी, आर्थिक असमानता, धार्मिक असमानता र न्यायिक निर्णयमा असमानता जस्ता कारणले हिंसालाई प्रश्रय दिने हुँदा सबै पक्षबाट समान संस्कृति नै मातृत्व बोध भएकोले यस्तो सचेतना विकास हुनु जरुरी छ । मातृत्व मातृत्व नै हुन्, न त कमजोर छन्, न त पुरुष समान न त उच्च । मातृत्व अलग छन्, आफ्नै अस्तित्व छ, आफ्नै अस्मिता छ । त्यसैले त विश्व सम्राट बन्ने महìवाकाङ्क्षा बोकेका फ्रेन्च सम्राट नेपोलियन बोनापार्टले आमाहरूलाई आग्रह गरेका थिए, “मलाई असल सन्तान देऊ, म तिमीलाई असल राष्ट्र दिने छु ।”

नारी राष्ट्रस्य अक्शि अस्तिः महिला त राष्ट्रका नेत्र हुन् । 

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।

यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ।

 

 

Author

डा. नम्रता पाण्डे