• १३ साउन २०८१, आइतबार

हाते ट्याक्टरको प्रयोग उच्च

blog

कालीगण्डकी–१ हर्मिचौरको बगैँचामा ट्याक्टरले बारी जोत्दै कृषक । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मङ्सिर १५ गते । पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि खेतबारी जोत्न हाते ट्याक्टरको प्रयोगमा वृद्धि भएको छ । गाउँका युवाहरू विदेश पलायन हुने र गाउँमा वृद्धवृद्धा मात्र हुँदा हाते ट्याक्टरको प्रयोगमा वृद्धि भएको हो । 

गाउँमा गोरु पाल्न समस्या हुँदा समयअनुसार प्रविधिको प्रयोगले खेतबारी जोत्नका लागि सहज भएको गुल्मीका किसानले बताएका छन् । पहिले घरैपिच्छे गोरु पाल्ने र गोरुले जोत्ने गरे पनि हाल गाउँमा गोरु पाल्ने कोही नहुँदा गोरु नै लोप हुँदैगएको कालीगण्डकी गाउँपालिका –१ का युवा मनबहादुर रानाले बताउनुभयो । 

अहिले हाते ट्याक्टरको प्रयोगले गाउँमा खनजोत गर्नेका लागि सहजता भएको र ट्याक्टर नभएको भए खेतीयोग्य जमिन झन् बाँझै रहने स्थिति आउने उहाँको भनाइ छ । 

गाउँमा युवा नहुँदा धेरै खेतीयोग्य जमिन बाँझो हुँदैगएको बताउँदै अर्का किसान नुमकान्त पाण्डेले प्रविधिको विकाससङ्गै ट्याक्टरको प्रयोगले राहत मिलेको बताउनुभयो ।

आफूले चाहेको समयमा ट्याक्टरको प्रयोगमार्फत खेतबारी जोत्न सकिने भएकाले श्रम र समय दुवैको बचत हुनुका साथै कम खर्चिलो भएको उहाँको भनाइ छ । बारीमा फलफूलका बिरुवा हुँदा गोरुले जोत्न पनि नमिल्ने भएकाले ट्याक्टरको महत्त्व झन् बढेको पाण्डेले बताउनुभयो ।

यता, कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जिल्लामा ट्याक्टरको माग उच्च रहेको बताउनुभयो । गाउँमा गोरु नहुनु र प्रविधिको उच्चतम प्रयोगले पनि माग बढेको उहाँको भनाइ छ । जिल्लामा वार्षिक पाँच हजार जति ट्याक्टरको माग हुनेगरेको र गत वर्ष मात्र ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा दुईसय ट्याक्टर वितरण गरेको बताउनुभयो । 

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र स्थानीय तहले पनि अनुदानमा ट्याक्टर वितरण गर्नेगरेका छन् । ट्याक्टर वितरण मात्रभन्दा पनि साना समस्या आए त्यसलाई मर्मतसम्बन्धी तालिम पनि प्रदान गर्दैआएको भण्डारीले बताउनुभयो ।