• २२ असार २०८१, शनिबार

अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण

सेवाप्रवाहलाई प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

blog

अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षणपछि छलफल गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

दुबई, मङ्सिर १४ गते । कोप–२८ मा सहभागी हुन युएई आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण गर्नुभएको छ ।

त्यस अवसरमा प्रधानमन्त्रीले युएईमा रहेका नेपालीको हितमा दूतावासले गरेका कामबारे जानकारी लिँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएको हो ।

त्यस्तै, आजै साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुने भएको छ । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदै छ ।

प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम छ । उहाँले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनुहुनेछ ।