• २७ पुस २०८१, शनिबार

बालविवाह रोक्न सबैको सामूहिक प्रयास आवश्यक : स्वास्थ्यमन्त्री

blog

विद्यालयको विकासमा योगदान पुर्‍याएका अभिभावकलाई पुरस्कार र प्रमाणपत्र वितरण गर्नुहुँदै स्वास्थ्यमन्त्री बस्नेत ।

सिन्धुपाल्चोक, मङ्सिर १४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बालविवाह रोक्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ धुस्कोट स्थित भिमसेन माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्यमन्त्री बस्नेतले बाल विवाहका कारण युवायुवतीको पढाइ लेखाइमा बाधा पुग्नुका साथै उनीहरुले आत्मनिर्भर भएर जीवन निर्वाह गर्न  बाधा पुगिरहेकोले बालविवाह रोक्न सबै लाग्नुपर्नेमा जोड दिनुभएको हो ।

भीमसेन माध्यमिक विद्यालयका प्रधानाध्यापक हिरा लामाले धुस्कोट क्षेत्रमा अहिले पनि बालविवाह प्रमुख समस्याको रुपमा रहेको र हालै मात्र विद्यालयमा अध्ययनरत आठ जनाले बालविवाह गरेको जानकारी गराए पछि स्वास्थ्यमन्त्री बस्नेतले बालविवाह रोक्न विद्यालयको एक्लो प्रयासले मात्र नसकिनेमा जोड दिनुभयो ।

कार्यक्रममा उपस्थित अभिभावकहरुलाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले भन्नुभयो, ‘‘बालविवाह अन्त्य गर्न विद्यालयले मात्र सक्दैन । यसका लागि प्रत्येक अभिभावक पनि सचेत हुनुपर्छ । आफ्ना छोराछोरीका गतिविधि निगरानी गर्नुपर्छ र समाजमा यसका विषयमा जनचेतना विस्तार गर्नु अझै आवश्यक छ ।’’

आफूले ४१ वर्षको उमेरमा विवाह गरेको स्मरण गर्नुहुँदै सानै उमेरमा विवाह गर्दा पढाइका साथै करिअर नै ध्वस्त भएका थुप्रै उदाहरण समाजमा भएको मन्त्री बस्नेतले बताउनुभयो ।


सिन्धुपाल्चोकलाई देशकै पहिलो साक्षर जिल्ला बनाउनमा आफ्नो ठूलो योगदान गरेको दाबी गर्नुहुँदै मन्त्री बस्नेतले ३२ वर्षसम्म आफ्नो पहलमा सिन्धुपाल्चोकका साढे १४ हजारभन्दा बढी विद्यार्थीलाई वर्षौसम्म कोचिङ पढाएर शिक्षाको स्तर उकास्ने काम गरेको बताउनुभभयो ।

कक्षा १२ सम्म निःशुल्क पढ्न पाउनु पर्छ भन्ने अभियानलाई देशव्यापी बनाउन सिन्धुपाल्चोकका त्रिपुरासुन्दरी, बाह्रबिसे र भोटेकोशी गाउँपालिकाबाट निःशुल्क पढाउने कामको सुरुवात भइसकेको जानकारी समेत बस्नेतले दिनुभयो । कुनै पनि नेपालीले पैसाको अभावमा उपचार सेवा पाउनबाट वञ्चित हुन नपर्ने उद्घोषका साथ स्वास्थ्य मन्त्रीका हैसियतले आफू लागिरहेको बताउनुहुँदै मन्त्री बस्नेतले ६ महिनामा स्वास्थ्य क्षेत्रमा धेरै सुधारका काम भएको दाबी गर्नुभयो । उहाँले गफ गर्ने तर काम नगर्ने नेतालाई मतदान गरेर जिताउनुभन्दा काम गर्ने र जनताका सुखदुःखमा साथ दिने नेतालाई जिताए पठाउन सल्लाह दिए ।

भिमसेन माध्यमिक विद्यालयको खेल मैदान निर्माणका लागि व्यक्तिगत रुपमा मन्त्री बस्नेतले ५१ हजार सहयोग गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा पूर्व गृहराज्यमन्त्री विष्णुविक्रम थापाले स्वास्थ्यमन्त्री बस्नेतले मन्त्री भएको बेला मात्र नभएर मन्त्री नभएको बेला समेत शिक्षा र स्वास्थ्यमा ठूलो योगदान गरेको स्मरण गर्दै बस्नेत जस्तो नेता पाउनु सिन्धुपाल्चोकका लागि गर्वको विषय भएको बताउनुभयो ।

बलेफी गाउँपालिकाका अध्यक्ष गङ्गा तामाङले विद्यालयको खेल मैदान निर्माणका लागि पालिकाले आउँम्दो वर्षको बजेटमा १० लाख विनियोजन गर्ने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष सरु लामाले खेल मैदान निर्माणका लागि आफूले व्यक्तिगत रुपमा दुई महिनाको पारिश्रमिक उपलब्ध गराएको बताउनुहुँदै बालविवाह अन्त्य गर्नका लागि पालिकाले अभियान नै चलाउने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यक हीरा लामाले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । विद्यालयको विकासमा योगदान पुर्‍याएका अभिभावक र उकृष्ट अङ्क ल्याएर एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई स्वास्थ्यमन्त्री बस्नेतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।