• २१ असार २०८१, शुक्रबार

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

blog

काठमाडौं, मंसिर १३ गते । इन्टरपोलद्वारा आयोजित ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ्ग पोलिस लिडर्स’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ ।

मङ्सिर १२ देखि अष्ट्रेलियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । 

नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको ‘लेटस् सेभ द प्लानेट इन्टरपोल १००’  विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो । 

भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, ‘आर्टिफिसियल इन्टलिजेन्स’ का कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम् भूमिका हुने विषय समेटिएको   छ । 

इन्टरपोल प्रेसिडेन्ट मेजर जनरल डा. अहमेद नाजिर एएल–आरएआइएसआइ बाट नेपाल प्रहरीलाई सम्मान स्वरूप प्रमाणपत्र प्राप्त भएको छ ।  

इन्टरपोल स्थापनाको १०० वर्षलाई विशेष उत्सवको रूपमा मनाउन इन्टरपोल इनोभेसन सेन्टरद्वारा ‘हाउ डु यु इन्भाइजेज इन्टरपोल कनेक्टिङ एण्ड इम्पावरिङ ग्लोबल ल इन्फोर्समेन्ट फर अ सेफर वर्ल्ड इन २०३०’ विषयमा आधारित रही उक्त भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूलाई आह्वान गरिएको थियो । 

उक्त महासभामा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको छ ।